क्रान्तिकारी माओवादीसम्बद्ध लेखक, प्राध्यापक, बुद्धिजीवी, पत्रकारहरुले गरे विस्तारवादी हस्तक्षेपको प्रतिरोधमा उत्रन अपिल

प्रकाशित मिति : २०७६ कार्तिक २३


काठमाडौं । नेपालको कालापानी क्षेत्र भारतको नक्सामा गाभी जारी गरेको नयाँ राजनीतिक नक्सा भारत सरकारले जारी गरेपछि त्यसको विरोधमा देशव्यापी अहिले आन्दोलन उठिरहेको छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भारतको विस्तारवादी हस्तक्षेपका विरुद्ध स्वाभिमानी नेपालीहरु अहिले सडकमा उत्रिएका छन् । यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध लेखक, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, जनसाँस्कृतिकर्मीहरु समेत आन्दोलित भएका छन् । उनीहरुले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै भारतीय विस्तारवादी अतिक्रमण र हस्क्षेपको प्रतिरोधमा उत्रन सम्पूर्ण लेखक, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, साहित्यकार, कलाकारलगायत सम्पूर्ण सच्चा देशभक्त जनसमुदायलाई हार्दिक अपिल गरेका छन् । साथै, उनीहरुले देशकोे राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न नसकेको भन्दै ओली सरकारको लम्पसारवादी चरित्रको पनि घोर भत्र्सना गरेका छन् । र, नक्सा सच्याई कालापानी क्षेत्र नेपालको कायम गराउन अविलम्ब कुटनीतिक पहल थाल्न पनि सरकारसित जोडदार माग गरेका छन् । उनीहरुले जारी स्वाधीनताको आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।

यसरी संयुक्त वक्तव्य जारी गर्नेहरुमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रलाल पंज्ञानी, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य रहेका छन् ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :
“भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको घटनाको हामी घोर विरोध एवम् तीव्र भत्र्सना गर्दछौं । र, भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्धमा देशैभर भइरहेका विरोधका कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गर्दछौं ।
हामीले यसलाई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गरिएको नाङ्गो अतिक्रमण र हस्तक्षेपको रुपमा लिएका छौं । भारतीय विस्तारवादले गरेको यो अतिक्रमण र हस्तक्षेपको आ–आफ्नो ठाउँबाट कडा प्रतिरोधमा उत्रन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी लेखक, साहित्यकार, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, शिक्षक, कलाकारलगायत सच्चा देशभक्त आम जनसमुदायलाई हार्दिक अपिल समेत गर्दछौं । साथै, देशको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा गर्न नसक्ने ओली सरकारको लम्पसारवादी चरित्रको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब भारतीय नक्सा सच्याई कालापानी क्षेत्र नेपालको कायम गराउन कुटनीतिक प्रक्रिया थाल्न जोडदार माग गर्दछौं । अन्यथा, ओली सरकारले ठूलो मूल्य चुकाउनु पर्ने परिस्थिति सिर्जना हुने पनि चेतावानी दिन चाहन्छौं ।”