कालापानी क्षेत्र अतिक्रमणको विरोधमा विलप्व नेतृत्वको नेकपा पनि आन्दोलित

प्रकाशित मिति : २०७६ कार्तिक २०

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विरोधमा आन्दोलित बनेको छ । महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।
विप्लवले भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।
महासचिव विप्लवले उक्त साम्राज्यवादी नक्सा तत्काल खारेज गर्न चेतावनी दिंदै भनेका छन्, ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’