कालापानी क्षेत्र अतिक्रमणको विरोधमा देजमोले आज ३ बजे शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति : २०७६ कार्तिक २०

काठमाडौं । नेपालको कालापानी क्षेत्र भारत सरकारले आफ्नो नक्सामा गाभेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज ३ बजे काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने भएको छ । विरोध प्रदर्शनलाई मोर्चाका महासचिव परि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी तथा मोर्चाका झण्डा र ब्यानरसहित पार्टी तथा मोर्चाका सम्पूर्ण नेता कार्यकर्तासहित जनसमुदायसमेतलाई विरोध प्रदर्शनमा सहभागि हुन अपिल गरिएको छ । मोर्चाको ३ नं. प्रदेशको आयोजनामा हुन लागेको विरोध प्रदर्शनमा भारतीय विस्तारवादी हस्तक्षेपको तीव्र विरोधमा नारा जुलुस गरिने र ओली नेतृत्वको नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको पनि भण्डाफोर गरिने जनाइएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै आजै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले बुधबार विहान एक वक्तव्य जारी गरी यस्तो अनुरोध गरेका हुन् ।

वक्तव्यमा “भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो । यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न जरुरी छ । हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ । साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ । अन्तमा, हाम्रो पार्टी यस प्रकारको भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त नेपाली जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।” भनिएको छ ।