महरालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई अनुमति

प्रकाशित मिति : २०७६ आश्विन १९

काठमाडौं । यौन दुराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार पीडित रोशनी शाहीको किटानी जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्ने प्रक्रिया रहेको प्रहरी स्रोतको दाबी छ ।
महरामाथि १२ असोजको साँझ संसदकी महिला कर्मचारी राशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र मदिरा पिएका उनले बलात्कार प्रयास गरेको उनले दाबी गरेकी थिइन् ।
आफूले त्यसको प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेपछि फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना सार्वजनिक भएको थियो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो । सोही रिपोर्टिङका आधारमा १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।
पार्टीको निर्देशन लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको अर्को भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । उनी आफू डिप्रेसनको विरामी रहेको भन्दै उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् ।
१५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् । जबकी एक दिनअघि प्रहरीले उनको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत प्रमाण बरामद गरेको थियो ।
१६ साउनमा पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको सार्वजनिक भयो ।
त्यसपछि फेरि घटनाले यू टर्न लियो । पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जोहरी दिइन् । प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा बाक्लिएको थियो ।
महरालाई पक्राउ गरी तत्काल अनुसन्धान थाल्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
संघ संस्थाहरुले समेत वक्तव्य निकालेर दबाब दिएका छन् । नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण अहिले सत्तारुढ पार्टी र सरकार समेत बद्नाम बन्न पुगेको छ ।