पक्राउ परे कृष्णबहादुर महरा, सिंहदरबारको प्रहरी वृतमा राखेर अनुुसन्धान गरिने

प्रकाशित मिति : २०७६ आश्विन १९

काठमाडौं । बलात्कार प्रयासको किटानी जाहेरीमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । पक्राउ गर्न अदालतले अनुमति दिएपछि प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।
प्रहरीले महराको माग अनुसार उनलाई रातो रंगकोे निजी कारमा राखेर लगिएको छ । उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा लगिएको हो ।

प्रहरीका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने छ । यसअघि आइतबारै विहान मात्र जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार पीडित रोशनी शाहीको किटानी जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
महरामाथि १२ असोजको साँझ संसदकी महिला कर्मचारी राशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र मदिरा पिएका उनले बलात्कार प्रयास गरेको उनले दाबी गरेकी थिइन् ।
आफूले त्यसको प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेपछि फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो ।

त्यसको भोलिपल्ट यो घटना सार्वजनिक भएको थियो । महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए ।

तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो । सोही रिपोर्टिङका आधारमा १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको अर्को भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । उनी आफू डिप्रेसनको विरामी रहेको भन्दै उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् ।

१५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् । जबकी एक दिनअघि प्रहरीले उनको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत प्रमाण बरामद गरेको थियो । १६ साउनमा पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको सार्वजनिक भयो ।

त्यसपछि फेरि घटनाले यू टर्न लियो । पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जोहरी दिइन् । प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा बाक्लिएको थियो ।

महरालाई पक्राउ गरी तत्काल अनुसन्धान थाल्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले समेत वक्तव्य निकालेर दबाब दिएका थिए ।