कम्युनिष्ट र क्रान्तिकारी

प्रकाशित मिति : २०७६ आश्विन १९

- कृष्णदास श्रेष्ठ

सामान्यतः कम्युनिस्ट त्यस्तो व्यक्तिलाई भनिन्छ जो शोषण र उत्पीडनमा आधारित सामाजिक व्यवस्थाको उन्मूलन गरी शोषणरहित, वर्ग्विहीन तथा समृद्ध समाजको निर्माण गर्ने सङ्घर्षमा संलग्न रहेको हुन्छ । उनी माक्र्सवार्द, कम्युनिज्म र क्रान्तिको पक्षमा रहन्छन् र कम्युनिस्ट समाज निर्माण गर्ने सर्वहारा वर्गको ऐतिहासिक उद्देश्य सिद्ध गर्ने आन्दोलन र कार्यमा सहभागी रहन्छन् । कम्युनिस्ट कार्यकर्ता भनेको सर्वहारा वर्गको राजनीतिक पार्टीको सदस्यको हैसियतबाट राजनीतिक क्षेत्रमा क्रियाशील कार्यकर्ता हुन् । यहाँ कुन कुरा ध्यानयोग्य छ भने जोकोहीले आफू कम्युनिस्ट हुँ भन्दैमा उनी कम्युनिस्ट हुन् भन्ने प्रमाणित हुँदैन । कम्युनिस्ट हुन कम्युनिस्ट पार्टीको सदस्य हुनुपर्छ । त्यो सदस्यता उनी कम्युनिस्ट हुन् भन्ने कुराको एउटा पहिचान हो । जो व्यक्ति कम्युनिस्ट सङ्गठनको सदस्य रहेको हुँदैन, उसलाई कम्युनिस्ट भन्न मिल्दैन ।

तर, कुनै व्यक्तिले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्दैमा, उनी सच्चा कम्युनिस्ट बनेका छन् भन्ने सावित हुँदैन । उनले प्राप्त गर्ने सदस्यता उसको कम्युनिस्ट बन्ने चाहनाको एउटा अभिव्यक्तिमात्र हो । सो सदस्य सच्चा कम्युनिस्ट कार्यकर्तामा उनको विकास भएको भन्ने प्रमाण होइन, त्यो त त्यसतर्फ उसको विकासको एउटा प्रारम्भिक पाइलामात्र हो । सच्चा र योग्य कम्युनिस्ट कार्यकर्तामा आफूलाई विकसित गर्नका लागि उनले, पार्टी सदस्य बनिसकेपछि, आफूलाई क्रान्तिकारी व्यवहार र वैचारिक रुपान्तरणको प्रक्रियाबाट गुजार्नुपर्छ । जीवन र व्यवहार महान् शिक्षक हुन् र त्यसमा सक्रियता र लगनका साथ लागेर उनले जीवन्त अनुभव र कार्यक्षमता तथा कुशलता हासिल गर्नेछ ।

व्यावहारिक क्रियाकलापमा सक्रिय सहभागिताका साथै उनी आफ्नो दिमागमा, आफ्नो चिन्तनमा रहेका गैरसर्वहारा धारणा तथा विचारहरू हटाएर आफूलाई वैचारिक दृष्टिले सर्वहाराकृत गर्नका लागि क्रान्तिकारी वैचारिक रुपान्तरणको प्रक्रियाबाट गुज्रनुपर्छ । क्रान्तिकारी व्यवहारमा लाग्नुका साथसाथै उनले आफ्नो माक्र्सवादी समझदारीलाई बढाउने कार्यमा उचित ध्यान र चेष्टा लगाउनु आवश्यक छ । यो माक्र्सवादी सिद्धान्तबारे ज्ञान हासिल गर्ने प्रक्रिया हो । महान् अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट योद्धा जार्जी दिमित्रोवद्वारा सूत्रबद्ध गरिएको “जुध्नु र सिक्नु” भन्ने सूत्रको वास्तविक सार यही हो । यो कम्युनिस्ट सिद्धान्त, आदर्श र भावनाबाट आफूलाई सुसज्जित पार्ने प्रक्रिया हो अर्थात् सच्चा कम्युनिस्टमा विकासको प्रक्रिया हो ।

कम्युनिस्ट पार्टीको सदस्य बन्नुको आफ्नो एउटा छुट्टै पहिचान छ । वास्तवमा कम्युनिस्ट बन्नु भनेको आफूलाई त्यस्ता जोधाहाहरूको पङ्क्तिमा सामेल गर्नु हो, जो क्रान्तिप्रति, जनमुक्तिको महान् लक्ष्यप्रति गहिरो आस्था र अडिग प्रतिबद्धता राख्छन् र जो त्यसप्रति समर्पित रहन्छन् । कम्युनिस्ट पार्टीको सदस्य बन्नु भनेको एउटा ठूलो र गहन जिम्मेवारीको भार आफ्नो काँधमा उठाउनु हो, किनभने सो सदस्यताले सम्बन्धित सदस्यलाई श्रमिक जनताको मुक्ति सङ्घर्षको अघिल्लो मोर्चामा उभ्याइदिन्छ । त्यसले उसलाई उसको काँधमाथि परेको जिम्मेवारीलाई राम्ररी पूरा गर्न चाहिने गुणहरूको आफूमा विकास गर्नुपर्ने कर्तव्य थपिदिएको हुन्छ ।

पुरानो समाजको ठाउँमा नयाँ र कम्युनिस्ट समाजको निर्माण गर्नु भनेको महान् क्रान्तिकारी काम हो र यो सर्वहारा वर्गको राजनीतिक प्रतिनिधिको हैसियत राख्ने कम्युनिस्टहरूको काँधमाथिको जिम्मेवारी हो । यही उद्देश्यमा लागेका कारणले गर्दा कम्युनिस्टहरूलाई क्रान्तिकारी मानिएको हो । तर, हामी कम्युनिस्टहरूमात्र क्रान्तिकारी, अरु क्रान्तिकारी होइनन् भनेर कसैले सोच्छ भने त्यो बिलकुल गलत हुन्छ । क्रान्तिकारी भनेको त्यस्तो व्यक्तिको पहिचान हो, जो तत्कालीन समाजको क्रान्तिकारी रुपान्तरणको पक्षमा क्रियाशील रहन्छ ।

दास युगमा दास व्यवस्थाको विरुद्ध र मध्यकालीन युगमा सामन्ती व्यवस्थाको विरुद्ध ठूल्ठूला क्रान्तिहरू भएका छन् र तिनको इतिहासमा महान् क्रान्तिकारीहरूका त्याग र बलिदानका गौरव गाथाहरू थुप्रै छन् । अहिले पनि साम्राज्यवाद, प्रभुत्ववाद तथा प्रतिक्रियावादका विरुद्ध आत्मबलिदानी भावनाका साथ लडिरहेका थुप्रै क्रान्तिकारी छन्, जो कम्युनिस्ट होइनन्, तर क्रान्तिकारी उद्देश्यका साथ सक्रिय छन् । यहाँ एकाध तथ्य ध्यानयोग्य छन् । पहिलो, जो कम्युनिस्ट बन्न चाहन्छ, उनी क्रान्तिकारी हुनैपर्छ, किनभने क्रान्तिकारी नभएको व्यक्ति कदापि कम्युनिस्ट हुँदैन, तर सबै क्रान्तिकारीहरू कम्युनिस्ट हुँदैनन् । अ

र्को कुरा, आधुनिक युगमा श्रमिक जनताको मुक्तिका लागि कम्युनिस्टहरूले जुन प्रकारले र जुन उचाइमा त्याग र बलिदान, साहस, जुझारु मनोबल तथा भावना, शत्रुसामु नलत्रने दृढता आदिको प्रदर्शन गरेका छन् (अहिले पनि गरिरहेका छन) । ती निश्चय पनि अद्वितीय खालका छन् र त्यसको तुलनामा कममात्र अन्य क्रान्तिकारीहरू आउन सकेका छन् ।

उपरोक्त तथ्यका अतिरिक्त कम्युनिस्टहरू अन्य क्रान्तिकारीबाट केही खास कुरामा भिन्न छन् ।

कम्युनिस्टहरू र अन्य क्रान्तिकारीबीच एउटा खास भिन्नता के छ भने कम्युनिस्टहरू कम्युनिस्ट समाजको निर्माण गर्ने ऐतिहासिक सन्देश बोकेका सर्वहारा वर्गका प्रतिनिधि हुन् । यो नयाँ, कम्युनिस्ट विश्वको निर्माण गर्ने कुरा हो अन्य वर्गको प्रतिनिधित्व गर्ने क्रान्तिकारीहरूको उद्देश्य त्यस्तो रहेको छैन । उदाहरणार्थ, किसान वर्गलाई लिउँ सामन्तवादको विरुद्ध लडिरहेको किसान क्रान्तिकारीहरूको सम्पूर्ण उद्देश्य सामन्ती व्यवस्थाको उन्मूलन गर्नुसम्ममा सीमित रहन्छ । अहिले विभिन्न मुलुकहरूमा राष्ट्रिय स्वाधीनता र सामाजिक प्रगतिका लागि लडिरहेकाहरूमा कम्युनिस्टहरूलगायत अन्य क्रान्तिकारीहरू पनि छन्, तर ती क्रान्तिकारीहरूद्वारा अपनाइएको उद्देश्यमा वर्ग्विहीन समाजको निर्माण गर्ने कुरा छैन ।

तिनका बीच यो भिन्नता कुन कुरामा अभिव्यक्त हुन्छ भने कम्युनिस्टहरू आफ्नो अन्तिम लक्ष्यका लागि निरन्तर क्रान्तिमा लाग्ने गर्छन् भने अन्य क्रान्तिकारीहरूको क्रान्तिकारिता तात्कालीन उद्देश्यको प्राप्तिसम्ममा मात्र सीमित रहन्छ । कम्युनिस्ट र अन्य क्रान्तिकारीका बीच अर्को भिन्नता कुन तथ्यमा रहेको छ भने कम्युनिस्टहरू आधुनिक युगको सबभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विश्व—दृष्टिकोण अर्थात् माक्र्सवादी विश्व दुष्टिकोणबाट निर्दे्शित रहेका हुन्छन् भने अन्य क्रान्तिकारीहरू गैरसर्वहारा दृष्टिकोणबाट निर्दे्शित रहन्छन् ।

यसरी कम्युनिस्टहरू एक उच्च आदर्श लिएर नयाँ विश्व निर्माण गर्ने महान् उद्देश्यका साथ क्रान्तिकारी—व्यावहारिक क्षेत्रमा क्रियाशील रहने जोधाहा हुन् । तिनीहरूको आदर्श भनेको माक्र्सवादको आदर्श हो, कम्युनिज्मको आदर्श हो । यो कुनै मामुली, काल्पनिक वा अप्राप्य आदर्श होइन । यो मानवजातिको ऐतिहासिक विकासको अहिलेको मागको पूर्तिस्वरुप हासिल गरिने आदर्श हो अर्थात् अर्काे शब्दमा, यो मानव जातिको अब आउने भविष्यको यथार्थता हो ।