इच्छुक साँस्कृतिक प्रतिष्ठानको आठौं प्राज्ञ सभा सम्पन्न, अध्यक्षमा हिरामणि दुःखी

प्रकाशित मिति : २०७६ आश्विन १४


काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानको आठौं प्राज्ञसभाले प्रतिष्ठानको अध्यक्षमा हिरामणि दुःखीलाई चयन गरेको छ । प्रतिष्ठानकै भवनमा आइतबार सम्पन्न प्राज्ञसभाले दुःखीलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव तथा सौन्दर्य चिन्तक मोहन वैद्य‘चैतन्य’को प्रमुख आतिथ्यतामा सम्पन्न सभाले प्रतिष्ठानको सचिवमा मित्रलाल पंज्ञानीलाई चयन गरेको छ भने सभाले सदस्यहरुमा प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा.जगदीशचन्द्र भण्डारी, इस्माली, चन्द्रा थानी, रोशन जनकपुरी, गौरी दाहाल, र पञ्चकुमारी परियार चयन गरेको छ ।

सभाले प्रतिष्ठानको सल्लाहकारमा सिपी गजुरेल र तक्मा केसीलाई चयन गरेको छ । सभा निर्वतमान अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले आगामी ८४ लाखको बार्षिक बजेट समेत पारित गरेको छ ।

सभाले भवन निर्माण प्रक्रिया पूरा भएकोले अब पूर्णरुपमा प्राज्ञिक काममा जुट्ने समेत निर्णय गरेको छ । जनयुद्धका साँस्कृतिक सहिदहरुको रचना संकलन तथा प्रकाशन गर्ने र परिवर्तनको आन्दोलनमा जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरुको तथ्यांक संकलन गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।

सभाले एउटा अन्तर्राष्ट्रियस्तरका गोष्ठी गर्ने र दाङ, पोखरा, चितवन, सुर्खेत, जुम्ला, धरान र जनकपुरमा गोष्ठी गर्ने समेत सभाले निर्णय गरेको अध्यक्ष दुःखीले बताए ।

नव निर्वाचित टिमलाई प्रमुख अतिथि चैतन्यले सफल कार्यकालको शुभकामना दिएका थिए । र, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको र भवन निर्माण सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका खेलेकोमा निवर्तमान अध्यक्ष ज्ञवाली लगायतको टिमलाई धन्यवाद समेत दिएका थिए ।