थारु मुक्ति मोर्चाद्वारा संबिद्यान खारेजीको माग

बेनामे संघीयताले उत्पीडित जातिको मुक्ति नहुने

प्रकाशित मिति : २०७६ भाद्र २९

- संजय तिवारी

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय बैठक संबिद्यानको खारेजीको माग गर्ने निर्णय गर्दै बर्दघाटमा सम्पन्न भएको छ । आइतवार सम्पन्न बैठकले पश्चगामी संबिद्यानले उत्पीडित जातिको पहिचानलाई स्थापित गर्न नसकेको ठहर गर्दै खारेजीको माग गरिएको केन्द्रीय संयोजक कमल चौधरीले बताए । पहिलो संबिद्यान सभामा छलफल भएको १४ वा ११ पहिचान सहितको प्रदेश बनाउने निर्णयलाई लत्याएर दोस्रो संबिद्यानसभाबाट बनेको संबिद्यानले आदिवासी थारु समुदायको पहिचान मेटाएको उनले बताए ।
पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आइतवार क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक चौधरीले नाम मात्रको संघीयता आवश्यक नरहेको बताए । उनले पहिचान विनाको संघीयता कामै नलाग्ने ठोकुवा गरे । नेता चौधरीले नक्कली संघीयता ल्याएर जनयुद्ध र जनआन्दोलनको अपमान गरिएको भन्दै थरुहट थारुवान आन्दोलनका लागि मोर्चाले तयारी गरेको जानकारी दिए ।
उनले संबिद्यान खारेजीको माग सहित असोज ३ गते कालो दिवस मनाइने बताए ।
सबै भन्दा ठुलो जनजाति समुदाय थारु र मगर रहेको बताउदैं उहाँले धोकाधडी गर्नेहरुलाई इतिहासले नछोडने चेतावनी दिए । त्यस्तै बैठकले २०७६ चैत्र १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले संबिद्यान खारेजीका लागि संर्घषको बिकल्प नरहेको बताए ।उनले मुठ्ठीभर शासकहरुका लागि ल्याएको दावी गरे ।
पत्रकार सम्मेलन क्रान्तिकारी पत्रकार महासंघ जिल्ला अध्यक्ष संजय तिवारीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै मोर्चाको बर्दघाटमा सम्पन्न केन्द्रीय बैठकमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राजवीरले सम्बोधन गरेको क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले जानकारी दिए ।