झर्रोटर्रो : ह्याप्पी दर डे एण्ड तीज डे

प्रकाशित मिति : २०७६ भाद्र १६

- कैलुब्राह


आज तीजको दर खाने दिन । भोली तीज मनाउने दिन । आज जुकरवर्गे भित्तामा ह्याप्पी दर डे, ह्याप्पी तीज डे भनेर शुभकामना आदान पर्दान भइरहेका छन् । हरेक आधाआकासका मोविलहर्का मेसेज बाक्सामा ह्याप्पी दर डे, ह्याप्पी तीज डे भनेर दाजुभाई, साथीभाईदेखि आफन्त र ब्वाइफेरेण्डसम्मले मेसेज पठाएका छन् । मुलुकै दर डे र तीज डेका रङ्गीन कार्यक्रमले रङ्गीएको छ । बजार फेसन फेसनका टालाटुलीले भरिएका छन् । ब्युटीपार्लरहरू खाप्चो रङ्गाउन र कपालमा कला भरेर तरह तरहका चुल्ठा बनाउन व्यस्त छन् । बुटिक पसल, लेडिज टेलरहरू सबै आधा आकासका फेसन तयार गर्न माहामारी छ । सुन पसलमा ठेलमठेलका भिड लागेका छन् । आइटम आइटमका गहना बनाउने होडबाजी चलेको छ । कस्ले कति धेरै लगाउने भनेर म्याराथन दौड चलेको छ । देश पुरै आधाआकासमय भएको छ । आधाआकास जातिका मन्तरी र मान्नेहर्लाई दर खाने कार्यक्रममा भासन गर्न भ्याई नभ्याई भएको छ ।

समृद्ध सरखार भएकोले होला दर खाने परम्परामा पनि परिवर्तन आएको छ । र दरे कार्यक्रम पनि समृद्ध हुँदै गएका छन् । यो सरखारको नारा नै समृद्ध नेपाल बनाउने भएकाले दरे कार्यक्रममा पनि समृद्धि आएको हो । त्यसैले पैला पैला चेलीबेटीहरू आआफ्ना माइतीमा गएर एक दिन मात्रै दर खाने कार्यक्रमहरू खारेज हुँदै गएका छन् । त्यसको सट्टामा ठूल्ठूला तारे होटेलहरू, पाटीप्यालेसहरू, क्याटरिङ हाउसहरू, क्लबहरू, पर्तिस्ठान र सभाहलहरूमा बडे बडे प्रकारका दरे प्रोग्रामहरूले भरिभराउ भएका छन् । दर खाँदा खाने भोजनादिमा पनि समृद्धि आएको छ । राता, पहेँला काला, निला सोमरसहरूले दरलाई दरो बनाउँदै गएका छन् । त्यो पनि एक दिन मात्रै नभएर महिना दिनसम्म दरे प्रोग्रामले कब्जा जमाउँदै गएको छ । क्लबहरू, एनजिओ आइएनजिओहरू, सरखारीदेखि प्राइभेट कार्यालयहरू, उद्योगधन्दाहरू, राजनीतिक पाटीहरू, पाटीका पनि विभिन्न जबस नाउँका सन्तानहरूले दरका कार्यक्रम गर्दा महिना दिनसम्म दरे प्रोग्राम हुनु पनि स्वाभाविकै हो ।

विशेष गरेर गनतन्तर आएदेखि दर खाने प्रोग्राम महिना दिनसम्म हुँदै आएको छ । कसैकसैले महिनौँ दिनदेखि दर खाने चलनले विकृति बढ्यो भनेर विरोध पनि गरेका छन् । यसरी विरोध गर्नेहरू दर खान नपाएकाहरू हुन् । समृद्धिवाला सरखार भएकाबेला दर खाने चलनमा पनि समृद्धि त ल्याउनै प¥यो नि भन्दै आधाआकासेहर्ले विरोध गर्नेहरू प्रति आपत्ती जनाए । त्यसैले उनीहरूले जजस्ले दरखाने कुराको विरोध गर्छन् उनीहरूलाई खबरदारी दिन भन्दै जुलुस निकाल्ने निर्ने गरे । आफ्नै वर्गका राष्टका पति भएको वेला दरे कार्यक्रमा अझ बढी समृद्ध बनाउनु पर्ने भन्दै आधा आकस सडकमा उत्रिए । आधा आकाश भएकाले उनीहरूको शरीर पनि आधा मात्रै ढाकिएको थियो । त्यो पनि पूर्वीय मोडलको नभएर पश्चिमी मोडलको फेसनले । अमेरिका, युरोप र हङकङतिरको मोडलको कपडाले सजिसजाऊ थियो आधा आकाश । एक प्रकारले त्यो जुलुस फेसन शो पनि थियो । कपडा पनि अचेल समृद्ध भएर पारदर्शी प्रकारका आएका छन् । त्यसैले आधा आकाशले लगाएका आधा कपडा पनि मच्डदानीबाट बनाइएको थियो । हातहातमा प्ले कार्ड बोकेका आधा आकाशले जोडजोडले नारा घन्काई रहेका थिए–

‘सरकारी कार्यालयमा दर खाने बजेट हुनै पर्छ – हुनै पर्छ ।
दरमा ककटेलको व्यवस्था हुनै पर्छ – हुनै पर्छ ।
डान्सबारको व्यवस्था पनि हुनै पर्छ – हुनै पर्छ ।
दर अवधिमा रत्यौली खेल्न पाउनै पर्छ – पाउनै पर्छ ।
क्यासिनोमा जान पाउनै पर्छ – पाउनै पर्छ ।
टोलटोलमा भट्टीको व्यवस्था हुनै पर्छ – हुनै पर्छ ।
एक महिने दरखाने विदा पाउनै पर्छ – पाउनै पर्छ ।
झिलिमिली गहना लाउनै पर्छ – लाउनै पर्छ ।
दर मन्त्रालयको व्यवस्था हुनै पर्छ – हुनै पर्छ ।
दर मन्त्रीको व्यवस्था पनि हुनै पर्छ – हुनै पर्छ ।
दरखाने दिन कस्को ? आधा आकाशको – आधा आकाशको ।’

टुँडिखेलबाट निस्किएको जुलुस असन, भोटाहिटी, न्युरोड, पुतलीसडक, बागबजार, दरबारमार्ग, ठमेल, लैनचौर, बाल्वाटार हुँदै महाराजगञ्जको सिङ्गो आकाशका आधापति निवासमा गएर विश्राम लियो । त्यहाँ सिङ्गो आकाशका आधापतिले दरभोजको व्यवस्था गरेको हुनाले जुलुसमा सहभागी सबै आधा आकाश दरभोजमा सहभागी भए । उक्त दरभोजको समाचार सङ्कलन गर्ने पत्रकारहरू पनि आधा आकाश लिङ्गीहरूलाई मात्र प्रवेशाज्ञा दिइएको थियो ।

दरभोजमा राता, पँहेला, काला, निला र हरिया बोतलको व्यवस्था पनि थियो । बानी नपरेका र अलि प्रौढ आधा आकाशका लागि मार्फाली मिक्चरहर्को व्यवस्था थियो । जस्ले जति सक्छ त्यति धोक्ने प्रतिष्पर्धा चल्यो । आजको दिन आधा आकाशलाई मापसेमा छुटका लागि सरकारको पुलिस मन्त्रालयबाट ट्राफिक हेडक्वार्टरमा निर्देशन गइसकेको थियो । आधापति निवासमा डिनर भोजको दर दरिलै भयो । दर खाँदाखाँदै आधापतिसँग आधा आकाशका माउते नेताहरूले संविधानमा लेख्नु पर्ने भन्दै आफ्ना माग प्रस्तुत गरे । माग यसप्रकार थिए ।

दर मन्त्रालयको व्यवस्था हुनुपर्ने,
एक महिनासम्म दरखाने विदा पाउनु पर्ने,
हरेक सरकारी कार्यालयहरूमा दरबजेट छुट्टाइनु पर्ने,
दरको अवधिभर रत्यौली खेल्ने व्यवस्था हुनु पर्ने,
श्रीमान् विदेश गएकाहरूका हरेक आधा आकाशलाई सहरमा बसोवासको व्यवस्था गरिनु पर्ने, तिनका बालबच्चाहरूलाई राज्यले बालआश्रम खोलेर रेखदेख गरिदिनु पर्ने र उनीहरूलाई लाली, पाउडर, क्रिमलगायत सृङ्गारका सामान र गहनाहरूमा विशेष छुटको व्यवस्था गरिनु पर्ने,
रेमिट्यान्समा सुन पनि ल्याउन पाउनु पर्ने,

दरखाने दल खोल्न पाउनु पर्ने र उनीहरूलाई चुनावमा पूर्ण समानुपातिक अधिकार दिइनु पर्ने आदि मागहरू संविधानमा स्पष्ट लेखिनु पर्ने रहेका छन् । यदि संसदबाट विधेयक मार्फत् आफ्ना मागको सुनुवाई नभएमा संविधानको संरक्षक खुद आधा आकाश भएकाले सम्माननीय आधापतिले नै यी मागहरूलाई संविधानको कितावमा टाँसेर भएपनि कानून बनाई लागू गर्न निर्देशन दिनुपर्ने प्रस्ताव पेश गरियो । आधापतिबाट आफू पनि आधा आकाशकै पात्र भएकाले आधा आकाशको पीरमर्का र मर्म बुझेको भन्दै यी मागहरू तत्क्षण पूरा हुने हुकुम बक्स भयो । त्यसपछि सबैले आधापति महोदयसँग सेल्फी हान्ने प्रोग्राम चल्यो । सबैले ह्याप्पी दर डे एण्ड ह्याप्पी तीज डे भन्दै सोमरसका बोतल खोले हुर्रे हुर्रे गर्दै सेल्फी हाने ।
१५ भदौ २०७६