१. सामान्य परिचय

हार्दिक शुभकामना !

राजनीतिक अर्थशास्त्र एउटा व्यापक विषय हो । यो मालको उत्पादन, त्यसको व्यापार, व्यापारसँग सम्बद्ध सरकारी कानुन र राष्ट्रिय आम्दानीको वितरणको समग्र प्रक्रियासँग सम्बन्धित हुन्छ ।

एङ्गेल्सले मानिसलाई जनावरबाट फरक गराउने चिज श्रम हो भन्नु भएको छ । समाज विकासको क्रममा मानिस आफैले तयार पारेका औजार र आफ्नो श्रमसहित उत्पादन प्रक्रियामा जोडियो । उत्पादनको त्यो प्रक्रिया स्वामित्व र वितरणको एउटा सम्बन्धसहित अगाडि आयो । त्यही सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको विषय यही उत्पादन सम्बन्ध हो ।

मानव समाज श्रम प्रक्रियासँग जोडिएपछि ५ प्रकारका उत्पादन सम्बन्ध हुँदै अगाडि बढेको छ र त्यो प्रक्रियामा समाजका स्वरुप पनि बदलिएका छन् । ती हुन् ः आदिम साम्यवादी समाज, दाश–मालिक समाज, सामन्ती समाज, पुँजीवादी समाज र साम्यवादी समाज ।
विभिन्न सामाजिक प्रणालीको विकास प्रक्रिया र तीसँग सम्बन्धित उत्पादन सम्बन्ध बारे यहाँ छलफल गरिएको छैन । यो विषय यही हाते पुस्तकको पहिलो खण्डको ऐतिहासिक भौतिकवाद शीर्षक अन्तर्गत् सामज विकासको ऐतिहासिक प्रक्रिया नामको उपशीर्षकमा समेटिएको छ । यहाँ पुँजीवादी उत्पादन सम्बन्ध मार्फत्् पुँजीपतिले श्रमिक वर्गबाट कसरी अतिरक्ति मूल्य दोहन गर्दछ भन्ने बारे मात्र सङ्क्षिप्त अध्ययन गरिने छ ।

त्यो मूल विषयमा प्रवेश गर्नु भन्दा पहिले अर्थशास्त्रसँग सम्बन्धित निम्नानुसार केही पारिभाषिक पदावली माथि छलफल गरिएको छ ।

क) मूल्यको श्रम सिद्धान्त
मूल्यको श्रम सिद्धान्त भनेको मूल्यको त्यस्तो सिद्धान्त हो जसले कुनै पनि वस्तु वा सेवाको आर्थिक मूल्य त्यसलाई उत्पादन गर्न आवश्यक पर्ने सामाजिक श्रमको कूल योगफलद्वारा निर्धारित हुन्छ भन्ने मान्दछ । यसको अर्थ कुनै पनि वस्तुको मूल्य भनेको त्यस वस्तुलाई उत्पादन गर्न आवश्यक पर्ने सम्पूर्ण श्रमको मूल्य हो । यो अवधारणा सबैभन्दा पहिला बेलायती अर्थशास्त्री आदम स्मिथले अगाडि सारेका हुन् ।
प्रकृतिमा यस्ता वस्तुहरु पनि पाइन्छन्, जुन अमूल्य छन् तर तीनलाई उत्पादन गर्न कुनै प्रकारको श्रमको आवश्यकता नै पर्दैन । ती वस्तु बिनामूल्य पाइन्छन् जस्तो हावा, पानी आदि । यस्ता प्रकृति प्रदत्त वस्तुमा मूल्यको श्रम सिद्धान्त लागु हुंदैन ।
ख) माल
मानिसको दैनिक आवश्यकतालाई पूर्ति गर्न श्रमद्वारा उत्पादन गरी बजारमा विक्रिका लागि राखिएको वस्तुलाई माल भनिन्छ ।
ग) मूल्य
मालका विभिन्न मूल्यहरु हुन्छन् । ती निम्नानुसार छन् :

१) उपयोग मूल्य (Use value)
उपयोगी वस्तुको उपयोग मूल्य हुन्छ । कुनै वस्तु उपयोगी छैन भने त्यसलाई निर्माण गर्न जतिसुकै खर्च गरे पनि त्यसको कुनै उपयोग मूल्य हुदैन । उपयोग मूल्य नभएका वस्तुहरु बजारमा किनबेच हुंदैनन् । सामान्यतः जुन वस्तुको उपयोगिता बढी हुन्छ त्यसको मूल्य बढी हुन्छ ।

२) विनिमय मूल्य (Exchange value)
समाजमा कुनै एउटा वस्तु अर्को वस्तुसँग विनिमय गर्न सकिने हुन्छ । वस्तुको यस्तो विशेषता हुनु भनेको त्यसको विनिमय मूल्य हुनु हो । उदाहरणको लागि, मानौं एउटा किसानले १ केजी खसीको मासु दिएर ५ लिटर तोरीको तेल साटेको छ । यहाँ १ केजी खसीको मासुको विनिमय मूल्य ५ लिटर तेल अथवा ५ लिटर तेलको विनिमय मूल्य १ केजी खसीको मासु बराबर छ । यसबाट १ केजी खसीको मासु र ५ लिटर तोरीको तेल उत्पादन गर्न लाग्ने श्रम बराबर छ भन्ने बुझ्नु पर्दछ ।

३) बजार मूल्य Market value)
मालहरु बजारमा किनबेच हुन्छन् । सम्बन्धित मालको माग र आपूर्तिका आधारमा वजारमा त्यसको मूल्य घटबढ हुने गर्दछ । खास समयमा बजारमा कुनै वस्तुले प्राप्त गर्ने मूल्य नै त्यस वस्तुको बजार मूल्य हो । सामान्यतः बजारमा मालको आपुर्ति कम भए त्यस मालको बजार मूल्य बढी हुन्छ र मालको आपूर्ति बढी भए बजार मूल्य पनि कम हुन्छ । त्यसरी नै, बजारमा मालको माग कम भए त्यसको मूल्य कम हुन्छ र माग बढी भए मूल्य पनि बढी नै हुन्छ । सामान्यतः वस्तुको बजार मूल्यलाई त्यस वस्तुको मोल (Price) भन्ने गरिन्छ ।

घ) सम्पत्ति
कुनै व्यक्ति, समुदाय वा कम्पनीको स्वामित्वमा रहेकोे सम्पूर्ण स्रोत साधन तथा सामाग्रीको मूल्य उसको सम्पत्ति मापनको आधार हुन्छ । सम्पूर्ण सामाग्रीको बजार मूल्यको योगफलबाट सबै ऋण घटाए पछि बाँकी रहेको रकम उसको सम्पत्ति हो । सारमा, सम्पत्ति भनेको साधन तथा स्रोतहरुको संचय पनि हो । जुन मानिस वा संस्थाले धेरै स्रोत र साधन जम्मा गरेको हुन्छ, उसको सम्पत्ति धेरै हुन्छ, । उसलाई धनी अर्थात् सम्पत्तिवान् भनिन्छ ।

ङ) मुद्रा
मालको उत्पादन र विनिमयको प्रक्रियामा मुद्रा (पैसा)को उत्पत्ति भएको हो । छोटोमा भन्नु पर्दा मुद्रा भनेको एक, मुल्यको ईकाई हो दुई, विनिमयको माध्यम हो तीन, भुक्तानीको मापदण्ड हो चार, मूल्यको भण्डारण हो र पाँच, सार्वभौमिक मुद्रा हो । यी मध्ये, पैसाको मुख्य काम भनेको मूल्यको इकाइ र विनिमयको माध्यम हो ।

२. अर्थतन्त्र
अर्थतन्त्र भनेको सङ्गठन तथा संस्थानहरुको एउटा यस्तो प्रणाली हो जसले समाजका सदस्यहरुको बीचमा श्रोत–साधनको उत्पादन र उत्पादित वस्तुको वितरणलाई व्यवस्थित गर्दछ । अर्को शव्दमा, यो उत्पादक, वितरक र वस्तु तथा सेवाका उपभोक्ताको स्थानीय, क्षेत्रीय वा राष्ट्रिय समुदायका बीचमा निर्मित हुने एउटा बृहद सञ्जाल हो । अर्थतन्त्र सामान्यत दुई प्रकारको हुन्छ ।

क) पुँजीवादी अर्थतन्त्र
पुँजीवादी अर्थतन्त्र त्यस्तो अर्थतन्त्र हो जुन उत्पादनका साधनहरुमा निजी स्वामित्व रहन्छ र मालको उत्पादन नाफालाई केन्द्रमा राखेर गरिन्छ । यसमा मुद्रा (Money) र माल (Commodity) को चक्र M-C-M’ हुन्छ । नाफा नहुने देखियो भने कुनै पनि लगानीकर्ताले त्यस्तो वस्तुको उत्पादनमा आर्थिक लगानी नै गर्दैन । यसरी, पुँजीवादी प्रणालीमा मालको उत्पादन सामाजिक आवश्यकताका कारणले होइन नाफा कमाउने उद्देश्यले गरिन्छ । स्वभावतः यसले उत्पादनमा अराजकता ल्याउँछ । अर्कोतिर, पुँजीपतिहरुले उत्पादनका साधनलाई र श्रमिकहरुले सामूहिक तरिकाले गरेको उत्पादनलाई आफ्नो कब्जामा लिन्छन् । फलतः श्रमिकहरु शोषित हुन्छन् । उत्पादनमा हुने अराजकताले अति उत्पादनको स्थिति पैदा हुन जान्छ र यसले पुँजीवादी अर्थतन्त्रमा बारम्बार आर्थिक सङ्कट सिर्जना गरिरहन्छ ।

ख) समाजवादी अर्थतन्त्र
समाजवादी अर्थतन्त्रमा मुद्रा र मालको चक्र C-M-C हुन्छ । यसको अर्थ जनताका भौतिक आवश्यकता पुरा गर्ने उद्देश्यले समाजमा मालको उत्पादन गरिन्छ, जसमा मुद्राले मध्यस्थकर्ताको भूमिका खेल्दछ । समाजवादी अर्थतन्त्र तात्कालिन आवश्यकताको आधारमा निर्माण गरिने योजनाबद्ध अर्थतन्त्र हो । त्यसकारण समाजवादी अर्थतन्त्रमा अति उत्पादन र आर्थिक सङ्कटको कुनै गुन्जायस नै हुँदैन ।

३. पुँजीवादी शोषण
पुँजी सम्पत्तिको त्यो हिस्सा हो जसले कसैको आर्थिक क्षमता बृद्धि गर्ने कामलाई बढावा दिन्छ । अर्को शव्दमा पुँजी सम्पत्तिको त्यो हिस्सा हो जसलाई कुनै व्यक्तिले माल उत्पादन गर्न प्रयोग गर्दा त्यसबाट उसले नाफा आर्जन गर्छ । यसरी हेर्दा, कुनै उद्योगपतिको स्वामित्वमा रहेको कारखाना भवन उसको पुँजी हो तर उ बस्ने घर पुँजी होइन, सम्पत्ति हो । माक्र्सका अनुसार पुँजी दुई प्रकारका हुन्छन् । ती हुन् :  स्थिर पुंँजी र अस्थिर पुँजी ।

पुँजीपतिले उद्योगमा आर्थिक लगानी गरेर मालको उत्पादन गर्दछ । माल विक्री गरे पछि पँुजीपतिले कुल फाईदाको सानो हिस्सा मात्र मजदुरहरुलाई ज्यालाका रुपमा दिने गर्दछ । यहीनेर मजदूरको शोषण हुन्छ । यो नै पुँजीवादी आर्थिक प्रणालीको सार हो ।

१) स्थिर पुँजी
स्थिर पुँजी भनेको उत्पादनसँग जोडिएका सबै वस्तुहरुको मूल्यको कुल योगफल हो । जस्तो, कारखानाका भवनहरुको मूल्य, मेसिन तथा त्यसका सहायक उपकरणहरुको मूल्य र कच्चा पदार्थको मूल्य आदि ।

२) अस्थिर पुँजी

अस्थिर पुँजी भनेको वस्तु उत्पादन गर्न आवश्यक पर्ने लगानीको मात्रा हो । अर्थात् यो श्रमशक्ति किन्न मजदुरलाई दिईने ज्याला हो । यो मालको नयाँ मूल्य निर्माण गर्न प्रयोग हुने पुँजी भएको हुनाले यसलाई माक्र्सले अस्थिर पुँजी भन्नु भएको हो ।

३) अतिरिक्त मूल्य

पुँजीवादी बजारमा, वस्तुको नयाँ मुल्य पुँजीपतिले त्यो माल उत्पादन गर्दा प्रयोग गरेका सबै उत्पादनका साधनहरुको मूल्य र श्रमिकलाई तिरेको ज्यालाको एकमुष्ट योगफल भन्दा बढी हुन्छ । जतिले बढी हुन्छ त्यसलाई उसले नाफा भन्छ । त्यो नाफा मजदुरको श्रमबाट नै पैदा हुन्छ तर पुँजीपतिले त्यो श्रमको ज्याला मजदुरलाई नदिएर आफैले खल्तीमा हाल्छ । यसरी मजदूरले दुई थरी श्रम गर्छ ः एक आफ्नो ज्यालाका लागि र दुई पुंजीपतिको नाफाका लागि । पुँजीपतिको नाफाका लागि मजदूरले गर्ने अतिरिक्त श्रमको मूल्यलाई अर्थशास्त्रको भाषामा अतिरिक्त मूल्य भन्दछन् । अतिरिक्त मूल्य भनेको पुँजीवादको सार हो, यो विना पुँजीवाद नै रहदैन ।

४) अतिरिक्त मूल्यको दर

कुल अतिरिक्त मूल्य र अस्थिर पुँजीको अनुपातबाट अतिरिक्त मूल्यको दर निकालिन्छ । यदि अतिरिक्त मूल्यलाई s र अस्थिर पुँजीलाई v ले संकेत गर्ने हो भने अतिरिक्त मूल्यको दर s’ = s/v  हुन्छ । पुँजीवादी उत्पादन प्रणालीमा पुँजीपतिको फाइदाका लागि मजदूरले गर्ने अतिरिक्त श्रम र आफ्नो ज्यालाका लागि आवश्यक पर्ने श्रमको अनुपातबाट पनि अतिरिक्त मूल्यको दर निकाल्ने गरिन्छ । यसलाई प्रतिशतमा नाप्ने चलन छ । यसमा के कुरा बुझ्न जरुरी छ भने अतिरिक्त मूल्य निर्माणको पक्रियामा स्थिर पुँजीको कुनै भूमिका नै रहँदैन ।

५) नाफाको दर

माल बिक्री गर्दा भएको कुल नाफा र त्यो माल उत्पादन गर्न लगानी गरिएको कुल पुँजीको अनुपातबाट नाफाको दर निकालिन्छ । स्थिर पुँजीलाई c ले संकेत गर्ने हो भने, कुल पुँजी T = c + v ख हुन्छ । यसरी नाफाको दर p’ = s / T अर्थात् p’ = s / (c+v)  । यसलाई पनि प्रतिशतमा नै व्यक्त गर्ने चलन छ ।

उदाहरण :

मानौं एउटा साइकल कारखानाको मालिकले उत्पादनका साधनका निमित्त जम्मा रु ८०,००० लगानी गरेको छ । उसले मजदुरहरुलाई प्रतिदिन ८ घण्टा काम गराउँछ र उत्पादन गरेका सबै साइकलहरु रु १,२०,००० मा बेच्छ । यदि उसले मजदुरहरुलाई ज्याला स्वरुप रु २०,००० दिएको छ भने यो कारोबारमा अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?

यस उदाहरणमा मजदुरहरुले प्रतिदिन ८ घण्टा काम गरेर आफ्नो ज्यालास्वरुप रु २०,००० कमाउँछन् र पुँजीपतिलाई नाफाको रुपमा रु २०,००० कमाइदिन्छन् । यसको अर्थ हुन्छ, मजदुरहरुले आफ्नो लागि ४ घण्टा र पुँजीपतिका लागि ४ घण्टा काम गरेका छन् ।
यहाँ, स्थिर मूल्य c = रु ८०,०००; 
अस्थिर मूल्य v = रु २०,००० र
अतिरिक्त मूल्य s = रु २०,०००
फेरि कुल पुँजी, T = c + v  
=  रु २०,०००  रु ८०,०००
. =रु १,००,०००
त्यसकारण, अतिरिक्त मुल्यको दर 
s’ = s / v    = रु २०,००० र रु २०,०००
. १०० % 
त्यस्तै, नाफाको दर p’ = s / T 
= रु २०,०००  र  रु १,००,०००
= २० %
पुँजीपति वर्गले विभिन्न तरिकाले आफ्नो अतिरिक्त मूल्यको दर र नाफाको दर बढाएर आर्थिक शोषणलाई तीव्र पार्ने कोसिस गरिराखेको हुन्छ । यहाँ पुँजीपतिले नाफा बढाउने दुईवटा विधि मात्र छलफल गरिएको छ ।
एक : अन्य कुराहरु यथावत राखी श्रमघन्टा बढाएर ।

उदाहरण : 
माथिको प्रश्नमा अन्य सबै कुरा यथावत राखी मजदुरलाई १२ घन्टा श्रम गरायो भने पुँजीपतिले आर्जन गर्ने अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?
यहाँ, श्रमिकहरुले आफ्नो ज्याला रु २०,००० कमाउँनका लागि ४ घन्टा काम गर्दछन् । उनीहरुले गर्ने वाँकी ८ घन्टाको अतिरिक्त श्रमको मूल्य पुँजीपतिको खल्तीमा जान्छ । अर्थात्, मजदुरहरुले पुँजीपतिलाई रु ४०,००० कमाई दिन्छन् ।
यहाँ, स्थिर पुँजी c = रु ८०,०००स
अस्थिर पुँजी v = रु २०,०००स
अतिरिक्त मूल्य s = रु ४०,०००
कुल पुँजी T = c + v
=  रु ८०,०००  रु २०,०००
= रु १,००,०००
अतिरिक्त मूल्यको दर s’ = s / v =
 रु ४०,००० र रु २०,०००
. २००%  र
नाफाको दर p’ = s / T
 = रु ४०,००० र रु १,००,०००
=४० %
नोटः (पुँजीपतिले ज्याला नबढाई श्रमघण्टा मात्र बढाउँदा श्रमिकहरुले आफ्नो श्रमको शोषण भएको सहजै थाहा पाउँछन् । त्यहाँ सजिलै विद्रोह भड्किन सक्छ । त्यसकारण, सामान्यतः पुँजीपतिले यो विधि प्रयोग गर्दैन ।)
दुई: समय र ज्याला यथावत राखी छिटो कामगर्ने मेसिनहरु प्रयोग गरेर ।

उदाहरण : 
(माथिको उदाहरणमा ज्याला र श्रम घन्टा यथावत राखेर पुँजीपतिले पहिले भन्दा दुईगुना छिटो काम गर्ने मेसिन प्रयोग ग¥यो भने अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?)
यसो गर्दा, नयाँ मेसिनको सहयोगमा मजदुरहरुले आफ्नो ज्याला जम्मा २ घण्टामा कमाउँछन् । बाँकी ६ घन्टाको श्रमले गरेको उत्पादन पुँजीपतिको खातामा जान्छ अर्थात्  पुँजीपतिले रु  ६०,००० कमाउँछ ।
यहाँ, स्थिर पुँजी c =  रु ८०,०००,
अस्थिर पुँजी v =  रु २०,००० र
अतिरिक्त मूल्य s = रु ६०,०००
कुल पुँजी T = c + v
    = (रु ८०,०००  रु २०,००००)
= रु १,००,०००
अतिरिक्त मूल्यको दर s’ = रु ६०,००० र रु २०,०००
= ३००%, 
त्यस्तै, नाफाको दर p’ = s / T= रु ६०,००० र  रु १,००,०००
= ६० % 
यो दोस्रो विधि पुँजीपतिका लागि बढी उपयुक्त हुन्छ । मजदुरलाई थाहै नदिई पुँजीपतिले यस विधिबाट पहिलेको भन्दा दोब्बर अतिरिक्त मूल्य कुम्ल्याउँछ । यसै कारण पुँजीपति वर्गले प्रविधिको विकासमा निकै जोड दिने गर्दछ ।

४. निष्कर्ष
पुँजीवादी उत्पादन प्रक्रियामा, श्रमिकको श्रमको एउटा हिस्सा पुँजीपतिले बिना ज्याला आफ्नो खल्तीमा पार्छ र यसैबाट मजदुरको शोषण हुन्छ । यही अतिरिक्त श्रमको मूल्य नै अतिरिक्त मूल्य हो र पंँुजीवादी अर्थतन्त्रको सार यही हो । अतिरिक्त मूल्य नभएको पुँजीवाद हुनै सक्दैन । माक्र्सले पुँजीवादी अर्थशास्त्रमा गरेको यो अनुसन्धान मानव इतिहासकै एउटा अद्वितीय उपलव्धि हो । आजसम्म कुनै पनि अर्थशास्त्रीले यसको तथ्यसंगत खण्डन गर्न सकेको छैन । अतिरिक्त मूल्यबाट प्राप्त आम्दानी पुँजीपतिको कुल पुँजीमा थपिंदै जाने, पुँजीपति झन–झन धनी बन्दै जाने र परिणामतः पुँजी तथा श्रमका बीचको अन्तरविरोध चर्किंदै जाने हुनाले त्यसको समाधानका लागि समाजवादी क्रान्ति अनिवार्य हुन्छ । माक्र्सले निकालेको एउटा निष्कर्ष यो हो ।

अर्कोतिर, नाफाका लागि पुँजीपतिहरु माल उत्पादन गर्न यत्रतत्र भौंतारिने गर्दछन् । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ र त्यसले देशमा आर्थिक सङ्कट पैदा गरिरहन्छ । यसरी पुँजीवादी उत्पादन सम्बन्धका कारण पैदा हुने आर्थिक सङ्कटको समाधान उत्पादन सम्बन्धलाई बदलेर मात्र गर्न सकिन्छ । त्यो भनेको समाजवादी उत्पादन सम्बन्ध कायम गर्नु हो । यसका लागि समाजवादी क्रान्ति अनिवार्य छ । माक्र्सले निकालेको अर्को निष्कर्ष यो हो ।

यसरी पुँजीवादले आफ्नो बिनासको कारण आफैसँग लिएर आएको छ । त्यो कारण अतिरिक्त मूल्य र उत्पादनमा हुने अराजकता हो । पुँजीवादको विकल्प साम्यवाद हो । यसलाई माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा सानदार ढङ्गले पुष्टि गर्नु भएको छ ।
(सिंग्देलद्वारा लिखित ‘माक्र्सवादको हाते पुस्तक’बाट)

प्रतिक्रिया

सम्बन्धित खवर