शैक्षिक माफियाका विरुद्ध आक्रामक बन्ने अखिल क्रान्तिकारीको चेतावानी

शैक्षिक माफियाका विरुद्ध आक्रामक बन्ने अखिल क्रान्तिकारीको चेतावानी


कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले शैक्षिक माफियाका विरुद्ध आक्रामक बन्ने चेतावानी दिएको छ । बुधबार महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले यस्तो चेतावानी दिएका हुन् । उनले शैक्षिक माफिया, दलाल बिरुद्ध अखिल क्रान्तिकारी अब आक्रामक ढंगले प्रस्तुत हुने बताए । उनले भने, “चारैतिर शिक्षा र स्वास्थ्य क्षेत्रमा विकृती बढेर गएको छ । अब अखिल (क्रान्तिकारी) चुप लागेर बस्दैन ।”

सुदूरपश्चिम, त्रिभुवन विश्वविद्यालय सहितका विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको विषयमा आफन्तवाद र दलीयवाद हावी भएकाले त्यसको समेत अन्त्यका लागि क्रान्तिकारीले संघर्ष गर्ने बताए । क्रान्तिकारीले विगतदेखि नै निःशुल्क तथा वैज्ञानिक शिक्षामा जोड दिदै आएको पनि उनले बताए ।

यसैबीच, अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुनः राम बहादुर महरालाई चयन गरेको छ । प्रदेश कमिटिका सदस्यहरुमा केशव साउद, टेकेन्द्र साउद, पुष्कर जोशी, प्रकास जोशी, रोशन रेग्मी र प्रेम बोहरालाई चयन गरेको छ ।

नवनिर्वाचित संयोजक राम महराले शिक्षा, स्वास्थ्य लगायतका जनजीविकाका विषयमा क्रान्तिकारी सशक्त रुपमा अगाडि बढ्ने बताए । संयोजक महराले शिक्षा क्षेत्रमा व्यापक निजीकरण, व्यापारीकण बढेको चिन्ता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा सुप प्रदेशका सेक्रेटरी अनुकूल, केस विक्रान्त लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।