धनगढी । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ले थारु समुदायको पहिचान गम्भीर संकटमा परेको बताएका छन् । सुदूरपश्चिम प्रदेश र मधेशवादी पक्षधरबीचको चेपुवामा पर्दा थारुहरुको पहिचान नै गम्भीर संकटमा परेको उनको ठहर छ । ‘यतातिर सुदूरपश्चिम प्रदेश भएको छ’ उनले भने । ‘अर्कोतिर मधेश एक हुनुपर्छ भन्ने माग पनि छ । यसले थारुको माग र पहिचान नै दुईतिहाइबाट चेपुवामा परेको छ ।’ टीकापुरको थारुहरुको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्दै महासचिव किरणले थारु समुदाय दुईतिरबाट चेपुवामा परेको महशुस भएको बताएका थिए ।

उनले अब उत्पीडित वर्गको पहिचान जोगाउनका लागि संयुक्त वर्गीय आन्दोलनको आवश्यकता परेको औंल्याए । ‘उत्पीडित जाति दलित, वर्ग, समुदायलगायत अब एक हुनुपर्छ,’ महासचिव किरणले भने, ‘संयुक्त आन्दोलनले मात्रै आफ्नो अधिकार प्राप्त गर्न सहज हुन्छ ।’
कैलाली, कञ्चनपुर, बान्के, वर्दिया लगायत जिल्लालाई जोडेर थारुवान स्वायत्त प्रदेश नै बनाउनुपर्ने विचार व्यक्त गर्दै महासचिव किरणले थारुलाई स्वायत्त प्रदेश दिए मात्रै थारुको अधिकार पाउने र पहिचान जोगिने बताए ।

हार्दिक शुभकामना !

क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै महासचिव किरणले वर्गीय आन्दोलनसँग नजोडिएको जातीय आन्दोलनले गन्तव्य हासिल गर्न नसक्ने भन्दै जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानु पर्ने बताए ।

फरक प्रशंगमा महासचिव किरणले विप्लवको राजनीति बाटो गलत भएको बताए । ‘वेला वेलामा प्रेस वक्तव्यहरु आइरहन्छन्’ आइतबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘सेना, प्रहरीसँग आफ्नो कुनै दुश्मनी छैन भन्ने तर, राज्यको सम्पतिमा आगो लगाउँदै गएर अधिकार प्राप्त हुन्छ ? प्रश्न गरे, “व्यवस्थाका विरुद्ध लडेको भन्ने अनि सेना, पुलिससँग लड्ने नीति छैन भन्ने ? यो कस्तो लडाइँ हो ?’ विप्लवमाथि सरकारले लगाएको प्रतिबन्धको भने महासचिव वैद्यले कडा विरोध गरे ।

महासचिव किरणले अहिलेको सरकार नाम मात्रैको कम्युनिष्ट सरकार भएको भन्दै आलोचना गरे । ‘जुन रुपमा जनताको भवना र राष्ट्रियताको निम्ति काम गर्नुपर्ने हो त्यसरी सरकारले काम गर्न सकेको छैन’ उनले भने, ‘मात्र पुरानै संविधानलाई संरक्षण गरिरहेको छ ।’ उनीहरु कम्युनिष्ट नभएर पूरानै संसदवादी दल र सोही व्यवस्था सुदृढ गर्नतिर लागेका छन् । सोही अवसरमा उनले निर्वाचन जनताको हितमा नहुने निश्कर्ष निकाल्दै पार्टीको पोलिटव्यूरो बैठकले उपनिर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर