‘नमूना जिल्ला’ बनाउने अभियानमा जुट्यो क्रान्तिकारी माओवादी काठमाडौं (हेर्नुस् फोटोफिचर)

चार दिने आधारभूत स्कूलिङको समापन, ‘काठमाडौं मार्च अभियान’को उद्घाटन

प्रकाशित मिति : २०७६ श्रावण २९

काठमाडौं । नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जाको रणनीति लिएर नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्लाले काठमाडौं जिल्लालाई क्रान्तिको ‘नमूना जिल्ला’ बनाउने उद्घोष गरेको छ र बुधबार ‘काठमाडौं मार्च अभियान’को उद्घाटन गरेको छ । अभियानको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले गरे । काठमाडौं जिल्लाका नगर पार्टी इन्चार्जहरुलाई पार्टीको झण्डा हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेका पार्टी महासचिव किरणले संघर्ष–संगठन–संघर्षको द्वन्द्वात्मकतालाई ख्याल गर्दै अभियान सञ्चालन गर्न निर्देशन दिए ।

चारदिनदेखि जारी आधारभूत पार्टी स्कूलिङको समापन र अभियानको उद्घाटन एकसाथ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी लेनिनले भनेझै विपरीतहरुको एकत्वको सिद्धान्तमा आधारित हुने हुँदा नेता कार्यकर्ताहरुले एकता–संघर्ष–रुपान्तरण, मुख्यतः रुपान्तरणमा जोड दिनुपर्ने बताए ।

पार्टी संगठनको मुख्य आधार भनेको ‘सेल कमिटि’ भएको भन्दै अभियानको क्रममा पार्टी सेलहरु निर्माणमा जोड दिनु पर्ने भन्दै अभियानको भव्य सफलताको शुभकामना समेत दिए ।

जिल्लाका ३४ जना अगुवा नेता कार्यकर्ताहरुले पार्टी स्कूलिङमार्फत् प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई जनताको बीचमा पुगी प्रयोग गर्ने र पाँच हप्तासम्म जनताको घर घरमा पुगेर संगठन विस्तार तथा सुदृढीकरणको कामलाई प्रभावकारी रुपमा सम्पादन गर्ने जिल्ला पार्टीका नेताहरुले बताएका छन् ।

पार्टी पीवीएम तथा काठमाडौं जिल्ला इन्चार्जले भने, “यो अभियान संघर्ष संगठन संघर्षको उद्देश्यमा आधारित रहि संचालन गरिने छ ।” आन्तरिक संगठनलाई व्यवस्थित गर्दै जनसम्बन्ध सुदृढ गर्ने, जनपरिचालनलाई प्रभावकारी बनाउँदै जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्ष उठानमा मुख्य जोड दिई जिल्लाको शक्ति संकेन्द्रण गरिने लक्ष्य अभियानको रहेको उनले बताए । कार्यकर्ताहरुको वैचारिक, राजनैतिक र संगठनात्मक क्षमता अभिवृद्धिको विषयलाई पनि ध्यान दिई अभियान सञ्चालन गर्न लागिएको पीवीएम श्रेष्ठले बताए ।

पार्टी केस तथा जिल्ला सचिव सरुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन देजमो काठमाडौंका अध्यक्ष तथा पार्टी स्कूलिङ विभागका संयोजक खगेन्द्र छन्त्याल गरेका थिए । कार्यक्रममा चारदिनसम्म आधारभूत पार्टी स्कू्रलिङमा सहभागी ३४ जना प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमुख अतिथिको रुपमा उपस्थित पार्टी महासविच किरणको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीमध्ये उत्कृष्ट पाँच जनालाई पुस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षकको तर्फबाट पार्टी केन्द्रीय स्कूल विभागका सचिव तथा पार्टी केस हस्तबहादुर केसीले र प्रशिक्षार्थीहरुको तर्फबाट ढोगप्रसाद अधिकारी, सुरेश तामाङ, इन्दिरा घिमिरे, धनमाया निरौला‘अनु’, कर्णबहादुर विसी र शेखरनाथ आचार्यले अनुभूति मन्तव्य राखेका थिए । पार्टी स्कूलिङ सापेक्षिक रुपमा भव्य र सान्दार रुपमा सफल भएको र यसको वास्तविक सफलता जनताको बीचमा गएर प्रदर्शन गरिने क्षमताका आधारमा मापन हुने र स्कूलिङले सैद्धान्तिक ज्ञान आर्जनको लागि ठूलो भोक जगाएको उनीहरुको अनुभूतिको सार रहेको थियो ।

कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा स्कूलिङका प्रशिक्षक इन्द्रमोहन सिंग्देल, पीवीएमहरु पवनमान श्रेष्ठ, नगेन्द्र राई, केस तथा प्रशिक्षकद्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी, हुकुमबहादुर सिंह, सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।