झर्रोटर्रो : सम्चारको हङ्गामा

प्रकाशित मिति : २०७६ श्रावण ११

- कैलुब्राह


केही दिन अगाडि नेपाल मण्डलमा दुईटा सम्चारले निकै होहल्ला र हङ्गामा मच्चाइदियो । उक्त सम्चारले नेपाल मण्डलको सरखारलाई अलिअलि हल्लाईदियो पनि । फेसबुके भित्ता त निकै रङ्गिए त्यो सम्चारले । सम्चारको कारन थ्यो दुईटा घटना । घटना त कति भए कति तर मुख्य दुईटा थे । अरू त सामान्ने र नियमित भैर’ने घटना नै हुन् । जरुरी सार्वजनिक चासोको त दुईटै घटना भए । तिनले सम्चारी हङ्गामा पनि मच्चाइदिए । ती दुईटा घटना मध्ये एउटा थ्यो गैर सरखारी नेकपा (उर्फ विप्लव पाटी)का माइलाको गिरफ्तारी र उनको हातमा लगाएको हत्कडी । आर्को थ्यो गुज्जर भैय्याका मण्डलबाट आएका सुलसुलेका प्रमुख सामन्तको आगमन र भेटघाट । यी दुईटा घटना नेपाल मण्डलमा हङ्गामा मच्चाउने सम्चारका कारन बने ।

लामालाई गाउँघरतिर झाँक्री पनि भन्चन् । झाँक्रीले ढ्याङ्ग्रो ठटाउँच र गीत गाउँच । झाँक्रीले गाउने गीतलाई झँक्रेली भाषामा ओखा भन्चन् । ओखा मीठो लयदार र सङ्गीतवद्ध हुन्च । विप्लव पाटीका माइला झाँक्रीले पनि गीतै गाउँथे । अरूले गाउने गीतमा लय र सङ्गीत भर्थे । उनको काम भनौँ वा पेसा त्यही गीत लेख्ने, सङ्गीत भर्ने र गाउने तथा अरूलाई गाउन लाउने थ्यो । जनयुद्ध ताका पनि उनले त्यही गर्थे । त्यो कुरो देश दुनियाँलाई था’थ्यो । अझ उखाने सरखारका पुलिस मन्तरीलाई त सब्भन्दा बढ्ता था’थ्यो । किनकि जनयुद्धताका यी अचेलका पुलिस मन्तरी तिनै भाइला झाँक्रीसित लामो समय सँगै बस्थे, सँगै खान्थे, सुत्थे, उठ्थे, हिँड्थे । माइला झाँक्रीले जहाँ जहाँ गीत गाउँथे त्यहाँ यी पुलिस मन्तरीले भाषण गर्दै हिँड्थे । यी दुबैको मन मुटु एउटै जस्तो थ्यो । एक पटक त यी पुलिस मन्तरीले आपूmलाई के जाति ‘लिन्प्याओवादी’ आरोप लगाएको भनेर मिस्टर सुप्रिमो उर्फ हालका दुइनम्बरी मुखियालाई लात्ताीले बुङ्ङ्ङ्गहिर्काएर यिनै माइला झाँक्रीका सुप्रिमो मिस्टर बाबुसाबसित घाँटी जोडेर हिनेका थे । यता बस्दा जिन्दगीभरी भोकै बस्नुपर्ने खतरा देखेपछि फेरि तिनै सुप्रिमोको पाउमा शरण पर्दै गुरु बर्मा, गुरु विस्नु गुरुदेव महेश्वर भन्दै उतै टाँस्सिन गए । टाँस्सिएकोमा उनलाई फलिफप पनि भयो । गुरुदेवले बरदान दिएर अहिले पुलिस मन्तरीको पगरी गुथाइदे’का छन् ।

पुलिस मन्तरीको पगरी गुथेका मिस्टर ‘लिन्प्याओवादी’ले अहिले तिनै माइला झाँक्रीलाई हातमा फलामे साङ्ग्ला भिराएर जेलखानामा कोचेका छन् । विचरा अहिले पनि गीत लेख्तै, सङ्गीत भर्दै र गाउँदै हिँडेका माइला झाँक्रीलाई आतङ्ककारी, हत्यारा, देशद्रोही, हत्याहिंसामा लागेको, बन्नुक र बमबारुद पट्काउँदै हिँडेको, दुनियाँलाई आतङ्कित पारेर पैसा लुटेको आदि इत्यादि केके हो केके फत्तुर लगाएर झँक्रीलाई जेलखानामा कोचेका छन् । माइलो झाँक्रीले गीत गाउने मात्रै हो भन्ने था’हुँदाहुँदै पनि नानाभाँतीका आरोप लगाएर जेलखानामा कोचेका छन् । यो कुराले उनका गीत सुन्ने र मन पराउने मनुखे जातका परानीदेखि सरखारको पर्तिपक्षमा बसेको चारतारे पाटीका मनुखेहर्ले समेत जताततै विरोध गरेका छन् । यो सम्चारले फेसबुके भित्तादेखि खबरकागजका पाना जताततै रङ्गियो । हिज तिनै पुलिस मन्तरीले सबैलाई पर्तिक्रियेवादी सरखारलाई बन्नुकले नढाली हुँदैन भनेर सबैलाई लर्न पठाए । त्यै लर्ने क्रममा माइला झाँक्रीले आँगा खुमाए, जीउभरी छर्रा छिराए । हातका औला गुमाए । आज तिनैले पुलिस मन्तरीको सरखारमा दागा ध¥यो भनेर उसलाई आतङ्ककारी भन्चन् । दुनियाँलाई लडाएर, मार्न मर्न पठाएर गरीबगुरुवाका छोराछोरी रगत पसिनामा आज मन्तरीको कुर्चीमा पुग्ने जति सबै परिवर्तनकारी रे, मर्ने, घाइते अपाङ्ग हुने, घरबार बिचलित हुनेहरू आतङ्काकारी हुने । जनयुद्ध लडेको त यसैका लागि पो रहेछ ।

आर्को सम्चारको कारन हो, गुज्जर भैय्याको मण्डलबाट सुलसुलेका मुखिया सामन्तको भर्मन । नेपाल मण्डलको सरखार विशेष पर्भुको आशिर्वादले बनेको र चलेको हो । त्यसैले आफ्ना भक्तहर्ले कस्तो सरखार चलाएका छन् भनेर रेखदेख गर्न तथा आवश्यक अर्ति उपदेश दिन सरखारका महापर्भुले बेलाबखतमा आफ्ना दूत पठाउँचन् । कहिले त आफैँले साक्षात दर्शन दिएर पनि आफ्ना भक्तहर्लाई आर्शिवाद र अर्ति उपदेश पनि दिन्चन् । यसै सिलसिलामा यसपटक महापर्भुले आफ्ना विशेष दूत बनाएर सुलसुलेका मुखियालाई पठाए । सुलसुलेका मुखिया सामन्त थे । सामन्तले आफ्ना नोकरा चाकर, हलीगोठाला तथा कमैया कमलरीलाई आदेश दिने कुरा पनि कुनै नौलो भएन ।

सामन्त आफ्ना नोकर चाकरका घरमा एक्कासी दर्शन दिन आए । आउने बेला र जानेबेला खुल्ला रूपमा आए तर भेटघाट गर्नीबेला भने गोप्य रूपमा भेटे । उनले नेपाल मण्डलका सरखारका मुखिया, उपमुखियालाई भेटे । हिज मुखिया भएर मुखिया भत्ता डकारी राखेकाहर्लाई पनि भेटे । आर्काको मुलुकबाट आएका दूत त्यो पनि सुलसुलेका मुखियाले जथाभावी भेट गरेको सम्चारले वतावरण निकै ततायो । किन भेटेको भनेर खलबली मच्चियो । त्यसपछि सरखारका कट्वाले मन्तरीले भेटेको हैन भनेर बक्तव्यबाजी गर्न प¥यो । उनले सामन्तसित भेटेकै हैन भने । कुरो ठिकै हो, हाम्रा पर्धानमन्तरीले, पुराना पर्धानमन्तरीहर्ले भेटेकै हैन । सामन्त आफैले पो भेट्दै हिनेका हुन् । आफ्ना नोकर चाकरलाई भेट्नु उनको अधिकारकै कुरो हो । नोकर चाकरले भेट्न भनेर सामन्तलाई खोज्दै हिँनेकै हैन । बरू नोकरचाकरका डेरा र घर घर चाहार्दै भेटेका हुन् ।

कट्वाले मन्तरीले भेट्नै नहुने पनि त हैन भनेर अलिकता भेटेको जनाऊ पनि त दिएकै हुन् । बुभ्mनेलाई ईशारा काफी । बरू हाम्रा पत्रकार हुन् पत्रुकार हुन् तिनले पो कुरो नबुझेका हुन् । तिनलाई जे कुराको पनि ह्वाङ्गै पारे नाङ्गै हुने गरी भन्नु पर्ने । सङ्केत भाषा पो पढाउनु पर्ने भो ती पत्रकारहर्लाई । कट्वाले मन्तरीले पनि त कोही भेट्न बानी परेकाले भेटे होला, भेट्नै नहुने कुरो पनि त हैन तर मलाई था’छैन भनेर कुरो दर्शाएकै हुन् । हाम्रा पर्धानमन्तरहर्ले एकपटक द्वारिकाज होटेलमा लाइन लाएर भेट्न गएका कुरो पनि इतिहासमा लेखिएकै छ । बानी नपरेका भए त्यसरी लाइन लाएर पालो कुरेर पर्भुका दूतलाई भेट्न जाने थेनन् । त्यसैले कट्वाले मन्तरीले था’नपाउने गरी सामन्तले भेटेकोको कुरोलाई हाम्रा पर्धान मन्तरीहर्ले, सेना पुलिसका हाकिमहर्ले, नोकरचाकरहर्ले आफैँ भेटेको जस्तो गरी सम्चार लेख्नु, फेसबुकका भित्ता रङ्गाउनु सोरैआना गलत कुरो हो । उताकाले भेटेको कुरोलाई यताकाले भेटेको भन्नु त उल्टो सम्चार हो । यस्तो उल्टो सम्चारले सबैलाई भ्रम पार्च । त्यैभएर त कट्वाले मन्तरीले केकेजाति बेधेक ल्याएर कानून बनाएर यस्ता पत्रुकार र फेसबुकेहर्लाई ठिक पार्न खोजेका हुन् नि गाँठे ।
११ साउन २०७६