
काठमाडौं । बाढी र डुबानका कारण कृषि तथा पशुपंक्षी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ । गत असारको अन्तिम साता परेको अविरल वर्षाका कारण प्रदेश दुईका ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको मन्त्रालयको प्रारम्भिक अध्ययनले देखाएको छ । व्यवसायिक पशुपंक्षीतर्फ महोत्तरी जिल्लाबाहेक ५ जिलामा १ अर्ब ६२ करोड रकम बराबरको क्षति भएको मन्त्रालयले विवरण्न सार्वजनिक गरेको छ ।
बाढीले कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु बगाएको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ भने महोत्तरीको तथ्यांक आइनसकेको जनाइएको छ ।
बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिब ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
यता पर्सामा ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । त्यसैगरी रौतहटमा ३५ करोड, सप्तरीमा ३० करोड, धनुषामा २० करोड, सर्लाहीमा ८ करोड तथा सिराह र महोत्तरीमा ५÷५ करोड बराबरको क्षति भएको जनाइएको छ ।





























