मोहन वैद्य‘किरण’को ‘संशोधनवाद र पश्चगमन’ बजारमा : पूर्व एमाले तथा माकेको सैद्धान्तिक तथा राजनीतिक चिरफार गरिएको एक मात्र पुस्तक

प्रकाशित मिति : २०७६ श्रावण ११

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’को चर्चित तथा गहन पुस्तक ‘हिमाली दर्शन’पछि अर्को पुस्तक ‘संशोधनवाद र पश्चगमन’ बजारमा आएको छ । पूर्व एमाले तथा माकेको सैद्धान्तिक तथा राजनीतिक चिरफारमा आधारित यो पुस्तकलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो ।

‘नेपालमा माक्र्सवाद र संशोधनवादका बीच संघर्षबारे संक्षिप्त अवलोकन’ शीर्षकमा प्रस्तावना लेखिएको पुस्तकमा ‘माकेको एमालेमा विलय  : एक पश्चगामी छलाङ’, ‘माले समूहद्वारा सिद्धान्त र क्रान्तिप्रति गम्भीर विश्वासघात’, एमाले गुटको प्रतिक्रियावादमा पतन : एक सामान्य शल्यक्रिया’, ‘एमाओवादी नेतृत्वको पश्चगमाी यात्रा’ र दक्षिणपन्थी नवसंशोधनवादका विरुद्ध विचारधारात्मक संघर्षको महत्व’ गरी ६ वटा शीर्षकमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, नवसंशोधनवाद तथा दक्षिणपन्थी अवसरवादको सघन रुपमा चिरफार गरिएको छ ।

१६० पृष्ठ लामो पुस्तकको मूल्य रु.२०० सय राखिएको छ । यो पुस्तकमा पूर्व नेकपा माले हुँदै बनेको एमाले तथा पूर्व एनेकपा माओवादी हुँदै बनेको माके र उनीहरुका बीच गरिएको एकीकरणसित जोडिएका विचारधारात्मक तथा राजनीतिक विषयको सैद्धान्तिक आलोचना र विरोध गरिएको छ ।

लेखक मोहन वैद्य‘किरण’ले पुस्तकको लेखकीयमा उल्लेख गरेजस्तै ‘यस पुस्तकबाट नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका कतिपय प्रमुख मोडहरु र वर्तमान अवस्थाका बारेमा समेत माक्र्सवाद र संशोधनवादका बीच चल्दै आएको भीषण विचारधारात्मक तथा राजनीतिक संघयौको जानकारी प्राप्त गर्न अवश्य नै मद्दत’ पुग्नेछ ।

पुस्तकको प्रस्तावनाको निष्कर्षमा लेखिएको छ, “आज नेपाली कम्युनिस्ट आन्दोलन इतिहासको एउटा नयाँ तथा विशिष्ट मोडमा उभिएको छ । यो बेला हामीले एकातिर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा माक्र्सवाद र संशोधनवादका बीचमा चल्दै आएको विचारधारात्मक तथा राजनीतिक संघर्षलाई राम्रोसित आत्मसात् गरी त्यसबाट आवश्यक शिक्षा लिन जरुरी छ भने अर्कोतिर वर्तमान सन्दर्भमा नेपाली क्रान्तिलाई अगाडि बढाउनका लागि विचारधारात्मक, राजनीतिक तथा सांगठानिक क्षेत्रका काममा नयाँ परिस्थिति र आवश्यकता अनुसार नयाँ ढंगले अझै दृढ संकल्प, साहस तथा प्रतिबद्धताका साथ निरन्तर खटिरहनु आवश्यक छ । नेपाली क्रान्तिको इतिहासले आज सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसित पुनःऊर्जाशील तथा एकताबद्ध भएर अगाडि बढ्न जोडदार माग गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास माक्र्सवाद र संशोधनवादका बीचको भीषण दुई लाइन संघर्षको इतिहास हो । यस संघर्षमा कहिले माक्र्सवाद र कहिले संशोधनवाद बलियो हुने गरेका छन् । आज रुप तथा संख्यामा बलियो देखिने दक्षिणपन्थी संशोधनवाद मात्र संशोधनवाद नभएर वस्तुतः नवप्रतिक्रियावाद नै हो । यद्यपि त्यसले माक्र्सवादी पोशाक र आभूषणमा सजिएर दुनियाँलाई झिलिमिलि देखाई दिग्भ्रमित मार्ने कोशिस गरिरहेको छ, परन्तु त्यो अस्थायी कुरा हो । संशोधनवादले जनताका नजरमा नवप्रतिक्रियावादका रुपमा छर्लङ्गै देखिनु वा नाङ्गिनु अनिवार्य छ । यसै क्रममा भीषण चुनाती र अनेकौं जटिलताहरुको सामना गर्र्दै माक्र्सवाद महान् सम्भावनाका बीचबाट देश र श्रमिक जनसमुदायको मुक्तिका लागि क्रान्तिको मैदानमा पुनः सशक्त प्रस्तुत हुनु पनि अनिवार्य नै छ । विश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको द्वन्द्ववादले हामीलाई यही कुरा बताउँछ ।”

नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा हावी हुन पुगेको नवसंशोधनवाद तथा दक्षिणपन्थी अवसरवादको दबदबाका बीच आफ्नो अस्तित्व रक्षा, प्रयोग र विकासको प्रक्रियाबाट अगाडि बढिरहेको क्रान्तिकारी धाराका लागि मोहन वैद्य‘किरण’द्वारा लिखित यो पुस्तक सशक्त तथा धारिलो वैचारिक तथा सैद्धान्तिक हतियार हो । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा संशोधनवादले कसरी टाउको उठाउन पुग्यो र त्यससँगको भीषण संघर्षका बीच माक्र्सवादले आफ्नो श्रेष्ठता कसरी प्रदर्शन गर्दै गयो भन्ने कुरा सूक्ष्म रुपमा विश्लेषण गरिएको यो पुस्तक विभिन्न कम्युनिस्ट पार्टीका राजनीतिक नेता कार्यकर्ताहरुको साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई बुझ्न चाहने सबै पाठकहरुका लागि अत्यन्तै उपयोगी रहेको छ ।