ओलीको श्वेत आतंकले देशलाई जबर्जस्त रक्तपाततिर धकेल्दै

वीर हस्पिटलको बेडमा चौधरीलाई १४ किलोको नेल र हत्कडी

प्रकाशित मिति : २०७६ असार ७

काठमाडौं । दम्भ, अहंकार र स्वेच्छाचारितामा रमाइरहेको ओली सरकारको फासीवादउन्मुख चरित्र फेरि अर्को नग्न रुपमा देखा परेको छ । सर्लाहीको लालबन्दीमा बाटामा हिंडिरहेका नेकपा विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको विभत्स हत्या गरी मुठभेडको वकालत गरिरहेको ओली सरकार थारु आन्दोलनका क्रममा टीकापुरको घटनालाई लिएर काराबासको सजाय भोगिरहेका रेशम चौधरीलाई हस्पिटलको बेडमा १४ किलोको नेल र हतकडी लगाएर ओली राज्यआतंकको थप नमूना प्रदर्शन गरिरहेको छ ।

थारुहरुको स्वायत्तताको माग गर्दै आन्दोलन चलिरहेका बखत घटेको टीकापुर घटनामा दोषी करार गरिएका सांसद चौधरी हाल वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु पहिरिएर बेडमा भर्ना गरिएका छन् । ओलीको ब्राह्मणवादी नश्लवादी सरकारले चौधरीमाथि गरेको यो दुव्र्यवहार जातीभेदी र रंगभेदी रहेको छ ।

विदेशीहरुको कठपुतलीका रुपमा सरकारमा रहेको ओली सरकारको यस्तोखाले अमानवीय हर्कतले नेपाललाई जातीय हिंसातिर भड्काइरहेको देखिन्छ । विदेशीको इशारामा हुने गरेका कुमार पौडेलदेखि रेशम चौधरीसम्मका यी सबै अमानवीय तथा बर्बरतापूर्ण हर्कतहरुलले देशलाई रक्तपाततिर धकेलिरहेको सहजै महशुष हुन्छ ।

हाल कञ्चनपुर जिल्लामा टीकापुरमा घटेको तात्कालिन तिक्ततापूर्ण घटनालाई बिर्सिएर जातीय सद्भाव तथा सहकार्यका लागि स्थानीय जनताले सहभोज, सहकार्य, सांस्कृतिक आदानप्रदान, घरदैलो भेटघाट अदि मनछुने र जनताका बीचमा रहेका अन्तरविरोधहरु हल गर्ने उपायहरु अपनाइरहेका छन् । स्थानीयका अनुसार पहिलेको भन्दा जातीय विद्वेष र भावनामा परेका गहिरा घाउहरु केही निको हुँदै गइरहेका छन् ।

तर हिंसा र श्वेत आतंक नै राज्य सञ्चालनको प्रक्रिया भन्ने बुझेको ओली सरकारले जनताका बीचमा क्रमशः बन्दै गरेको सद्भावपूर्ण मेलमिमलाप र सहकार्य टुटाउन र देशलाई विदेशीहरुको क्रिडास्थल बनाउन सिंगो राज्यसंयन्त्र नै प्रयोग दुरुगरिरहेको छ । यस्ता मानव अधिकारसम्बन्धी जघन्य अपराधका बारेमा सम्बन्धित पक्षहरु चचूप लागेर बस्नु पनि अर्को अर्थ लाग्नसक्ने जनताको टिप्पणी आउन थालेको छ ।