हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले सत्ताधारीहरु कम्युनिस्ट नभएर नवप्रतिक्रियावादी भएको ठहर गर्दै यिनीहरुलाई सत्ताच्युत गर्न क्रान्तिको प्रक्रियालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । क्रान्तिका लागि युवाहरुले आफूलाई सिद्धान्त र संगठनका हिसाबलाई आफूलाई बलियो बनाउनु पर्ने आवश्यकता औल्याउँदै माक्र्सवाद–लेनिनवाद–माओवादको विचारलाई बलियो गरी पकड्न र संगठनलाई गाउँ गाउँतहसम्म विस्तार गर्न महासचिव किरणले क्रान्तिकारी युवाहरुलाई निर्देशन समेत दिनुभयो । पार्टीको जुझारु संगठन क्रान्तिकारी युवा लिग, नेपालको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महासचिव किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

क्रान्तिकारी युवाहरुको भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव किरणले भन्नुभयो, “सिद्धान्तविना क्रान्ति हुँदैन । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक हतियारलाई दह«ोसँग पकड्नुस र संशोधनवादी र अवसरवादीहरुका विरुद्ध सशक्त रुपमा संघर्ष गर्दै युवाहरुको संगठनलाई वडावडासम्म फैलाउनुस् । क्रान्तिका लागि सिद्धान्त र संगठनलाई सबैभन्दा बलियो बनाउनुपर्छ ।”

हार्दिक शुभकामना !

संशोधनवादी र अवसरवादीहरुले क्रान्ति पूरा भएको भनेर कोकोहोलो मच्चाएपनि परिस्थितिले त्यसलाई झुठो सावित गरिसकेको चर्चा गर्दै महासचिव किरणले पछिल्ला केही दिनको स्थिति हेर्दा पनि अब जनता आमूल परिवर्तनका निम्ति फेरि सडकमा उत्रने स्थिति बलियो बन्दै गएको विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “जनता फेरि सडकमा उत्रिदै छन् । आन्दोलनका संकेतहरु राम्रैसँग अगाडि बढ्दै गइरहेका छन् । शान्तिप्रक्रिया पूरा भइसकेको छैन । जनताले अधिकार नपाएसम्म क्रान्ति निरन्तर जारी रहन्छ ।”

राष्ट्रिता, जनतन्त्र र जनजीाविकाका समस्याहरु विकराल अवस्थामा रहेको चर्चा गर्दै महासचिव किरणले जनविरोधी विधेयक लादेर ओली सरकार फासिवादी अभ्यासमा लागेको र लोकतन्त्रकै धज्जी उडाइरहेको टिप्पणी समेत गर्नुभयो ।

ओली सरकारले नवउदारवादी अर्थनीति अँगालेर साम्राज्यवादको दलाली गरेर समृद्ध नेपाल, सुखी नेपालीको नारा दिनु भनेको जनतालाई बेवकुफ बनाउनु हो भन्दै महासचिव किरणले यो सरकारले देश र जनताको कुनै पनि अपेक्षा पूरा गर्न नसक्ने दावी गर्नुभयो ।

महासचिव किरणले सच्चा क्रान्तिकारीहरु एकताबद्ध हुने स्थिति बलियो बन्दै गएको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाएर नेपाली तरिकाले नै नयाँ जनवादी क्रान्ति पूरा गर्ने दिशातिर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन खासगरी क्रान्तिकारी युवाहरुले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

सम्मेलनलाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, जबस मोर्चाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतका नेताहरुले समेत शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । सम्मेलन क्रान्तिकारी युवा लिगको आगामी नीति र नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर