
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारको बर्बरतापूर्ण फासीवादी दमनका विरुद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित एक विज्ञप्ति मार्फत् उक्त संघर्षको घोषणा गरिएको हो । घोषित संघर्षका कार्यक्रम अनुसार असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ ‘केपी ओली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।
पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’





























