अमेरिकी ड्रोन खसालेपछि संभावित अमेरिका–इरान युद्ध र तेलको जोहो

प्रकाशित मिति : २०७६ असार ६

काठमाडौं । व्यापार युद्धमा होमिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले फेरि तेलयुद्ध तयारीको सेरोफेरोमा घुमिरहेका छन् । आँखाले देखेका र आफूलाई लागेका सबै कुराहरु छुन पुग्ने तर टुंगो केही पनि नलगाउने प्रवृत्तिका सिकार ट्रम्प एशियासँग व्यापार युद्ध नारे पनि मध्यपूर्वमा तेलको जोहोमा फस्न थालेका छन् ।

विहीवार अमेरिकी ड्रोन इरानी आकाशभित्र प्रवेश गरेपछि इरानले उक्त मानवरहित ड्रोन खसालिदिएको छ । यसलाई इरानको ‘ठूलो गल्ती’ बताएर हमलाको अन्तिम चेतावनी दिन पुगेका ट्रम्पले यो मानवरहित जहाज किन इरानी आकाशमा उडाइएको थियो भन्ने बारेमा बोलेका छैनन् । जुनकुनै बेला पनि आक्रमण गर्न सकिने चेतावनी दिंदै आएका ट्रम्पले यसपछि के गर्ने हुन् भन्ने कुरा विश्वास गर्न सकिएको छैन । उता इरानले भने उसको सीमाइलाका र आकाशमा दुश्मनीपूर्ण गतिविविधि जोसुकैले गरे पनि त्यो सैह्य नहुने बताएको छ ।

कुरा गर्दा व्यापार युद्ध, खगोल युद्ध र प्रविधिको युद्धका कुरा गरे पनि दिनदैनिकका कुरामा अमेरिका निकै अल्झिएको छ । दिनदैनिक विश्व व्यापार, पारवहन, उद्योग तथा सामान्य घरजीवनका लागि पनि चाहिने तेल अतिआवश्यक भएर खड्किएको छ । भेनेजुएलामा एकलौटी तेल दोहनका लागि निकै चक्र चलाए पनि असफल भएपछि अत्तालिएका अमेरिकी राष्ट्रपति ट्रम्प इरानमाथि खनिन पुगका छन् ।

उनका लागि दीर्घकालीन र रणनीतिक कुराहरु पूरा गर्नतिर लाग्नेभन्दा पनि रातदिन आवश्यक हुने इन्धन जुटाउने कुरा ठूलो हुन गएको छ । केही अमेरिकी उद्योगहरु इन्धन अपुगका कारणले बन्द हुन पुगेका छन् भने अरु केही बन्द हुन थालेका छन् । आफै त रक्षात्मक अवस्थामा पुगेर संरक्षणवादी नीति लिन पुगेको अमेरिका यस्तो अवस्थामा घरेलु उद्योगधन्दा धराशायी हुँदै जाँदा इन्धननको जोहो नै ठूलो कुरा बनेर आएको छ । हाल अमेरिका–भेनेजुएला सम्बन्ध बिग्रिएपछि दबाब वा संझौताका आधारमा भेनेजुएलाबाट निकासी गर्दै आएको इन्धन हाललाई कटौती हुन पुगेको छ । यो अमेरिकाका लागि इन्धनको संकटकाल सिर्जना हुनुसरह हो ।

यसैको वरिपरि रहेर अहिले अमेरिका–इरानबीच द्वन्द्वको आगो बलिरहेको छ । यो आगो हाल इरानमाथि अमेरिकी दबाब र आक्रोशमा परिणत भएको छ । मानव रहित विमान ड्रोन इरानले खसालिदिए पछि अमेरिका निकै अत्तालिन पुगेको छ । यदि अमेरिकी प्रतिपक्षका नेता तथा सिनेटरहरुले ट्रम्पलाई उनले इरानमाथि गर्न लागेको आक्रमणको अर्डर रोक्न सचेत नगराएको भए विहीवार रातमा नै अमेरिकाले इरानमाथि आक्रमण गरिसकेको हुने थियो ।

तामसी स्वभावका ट्रम्प ड्रोन खसालिएपछि इरानी अस्त्रको निशााना र मारबाट समेत उनी आतंकित हुन पुगेका छन् । सरकार र देशले सहनै नसक्ने भन्दै इरानमाथि आक्रमण गरिहाल्ने मुडमा रहेका ट्रम्पलाई प्रतिपक्षी नेताहरुले विना ढिलाई सम्झाइबुझाइ गरेका थिए ।

अमेरिकी सामुद्रिक (नेभी) आरक्यू हक–४ए मानवरहित ड्रोन जमिनबाट ३४ किलोमिटर माथिको आकाशबाट खसालिएको थियो । यो उचाइमा उडान भरिरहँदा शायद अमेरिकाले इरानी हतियारको मार यति उचाइसम्म होला भनेर कल्पनासम्म गरेका थिएनन् होला । एक्कासी तुल्बुलाउन पुगेका ट्रम्पको चिच्याहटमा इरानले ‘ठुलो गल्ती’ गर्यो भनेर आउनुले पनि यो अमेरिकीहरुका लागि अनपेक्षित इरानी अस्त्रको मार थियो ।

ट्रम्पका अनुसार यो अनपेक्षित मात्र होइन, विश्वास नै गर्न नसकिने थियो । यो भनाइमा साचो अर्थमा ट्रम्पको आश्चर्यभाव प्रकट भएको देखिन्छ । अमेरिकीहरुका अनुसार खसालिएको ड्रोन मानवरहित भएकाले मानवीय क्षति हुन भने पाएन ।

इरानले आफूहरुले युद्ध नचाहेको तर यदि कसैले युद्ध थोपरेमा आफूहरुले नसहने र त्यसको डटेर प्रतिवाद गर्ने बताएको छ । यस अघिको दुईवटा तेल जहाजहरुमा भएको आक्रमणमा एकले अर्कालाई दोषारोपण गर्दै आएका अमेरिका–इरान अहिले युद्धको निकै नजिक पुगेका छन् ।