
जय दाहाल, हेटौडा । देशमा भएको केही मात्रात्मक परिवर्तनसहित गणतन्त्रको स्थापनापछि पनि संक्रमणकालीन न्याय निरुपण हुन नसकेकाले युवाहरुको थप सशक्त भूमिकाको आवश्यकता रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन् । विहीवार मकवानपुरको न्युजक्लबमा भएको एक पत्रकार भेटघाट कार्यक्रममा महासचिव किरणले उक्त कुरा बताएका हुन् ।
पत्रकार भेटघाटको क्रममा किरणले गणतन्त्र स्थापनामा हजारौं योद्धाहरुको बलिदान र योगदानले ठूलो काम गरेता पनि सत्तामा पुगेकाहरुले ती सबैलाई उचित कदर र व्यवस्थापन गर्न नसकेको बताउँदै मुख्यतः महान् जनयुद्धका क्रममा ठूलो उत्साहका साथ संघर्षको अग्रपंक्तिमा उर्लिएको युवाहरुलाई वर्तमान सत्ताधारीहरुले निकै अर्घेलो गरेको कुरामा जोड दिएका छन् ।
अहिलेका सत्ताधारीहरुले आफूहरु दुईतिहाई प्राप्त गरेकाले कसैले डगाउन र हल्लाउन नसक्ने दम्भ र अभिमान प्रटगर्दै जाँदा अहिले आम जनताबाट अलग्गिदै र परित्यक्त हुँदै गएको बताउँदै महासचिव किरणले सरकारको यस्ता जनविरोधी र देशघाती कामहरुको जनता सडकमा उत्रिएरै प्रतिरोध गरिरहेको कुरा स्मरण गराएका छन् ।
उनले हालका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतका फासीवादतर्फको यात्राउन्मुख जनविारोधी काम र विधेयकहरुको जनताले सडकबाटै धज्जी उडाइदिएको बताएका छन् ।जनताले चाहेको जस्तो संघीयता पनि देशमा नआएको स्मरण गराउँदै किरणले जनता लडेको भौगोलिक संघीयताका लागि नभई जातीय पहिचानसहितको संघीयताका लागि हो भन्ने कुरामा जोड दिएका थिए ।
सरकार केन्द्रीय नै रहेको र सबै कुरा केन्द्रीकृत गरेर नै चलाइरहेको बताउँदै उनले मूलतः प्रधानमन्त्री केपीका सबै कामहरु संघीयता विरोधी रहेको कुरामा प्रकाश पारेका थिए । देशमा हाल गणतन्त्र र लोकतन्त्रका निकै कुरा गरिए पनि पार्टीमाथि प्रतिवन्ध लगाइएको छ, दिनदाहाडै नागरिकहरुको हत्या गरिएको छ भन्दै महासचिव किरणले देशका सीमाना मिचिइरहेका छन्, सीमा मिचिएको नक्सा ओली सरकारले सरकारी र आधिकारिक नक्साका रुपमा प्रयोग गरिरहेको छ, जनविरोधी संहिताहरु सरकारले कार्यान्वयन गरिरहेको छ र देश र जनताका अहितमा कानुन निर्माणका लागि विवादित विधेयकहरु संसदमा पेस गरिएको कुरामा जोड दिए ।यतिबेला फेरि नयाँ पाइला चालनुपर्ने बेला आएको महासचिव किरणको जोड थियो ।






























