आयोजकद्वारा विधेयक फिर्ताको समर्थन गर्दै गर्दा सहभगीद्वारा विधेयक खारेजीको माग

गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा नेवा प्रतिरोधसभा

प्रकाशित मिति : २०७६ असार ५

काठमाडौं । सरकारद्वारा पेश गरिएको विधेयकको विरोधमा बुधवार माइतीघर मण्डलामा राखिएको विरोध प्रदर्शन तथा प्रतिरोध सभा कार्यक्रम जनप्रदर्शन सभाको रुपमा सम्पन्न भयो । सभाको एक दिन पहिले भूमिसुधार मन्त्रीले ‘विधेयक सही भएको तर अवान्छित र गलत तत्वले विधेयकप्रति भ्रम फैलाएको’ भन्दै सरोकोरवालासँग पनि छलफल गर्ने गरी हाललाई माथिल्लो सदनमा पेश गरिएको गुठी विधेयक फिर्ता गरेको कुरा एक पत्रकार सम्मेलन आयोजना गरेर घोषणा गरेकी थिइन् । त्यसपछि छायामा परेको प्रतिरोध कार्यक्रमका आयोजकले विरोध संघर्षको सभालाई केवल खबरदारी सभामा रुपान्तरण गरेका थिए ।

प्रतिरोध सभाको अघिल्लो दिन मंगलवारमात्र नेवा राष्ट्रिय मुक्ति मोर्चा, नेपालले गुठी विधेयकको खारेजीको माग गर्दै बुङमतीदेखि खोकनासम्म भव्य मशाल जुलुुस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको थियो । सरकारद्वारा गुठी विधेयक फिर्ता गरेको भनिए पनि भूमिसुधार मन्त्रीको वक्तव्यले उक्त विधेयक फिर्ता होइन, स्थगन मात्र भएको स्पष्ट संकेत गर्दछ । यसको विरोधमा मोर्चाले ‘विधेयक फिर्ता होइन, खारेज गर’, ‘सडक विस्तार बन्द गर’, ‘फाष्ट ट्रयाक चाहिंदैन, ‘बाह्य रिङरोड र स्मार्टसिटी चाहिदैन’, ‘नेवा राज्य घोषणा गर’, ‘भूमिसुधार, गृह र संचार मन्त्री राजीनामा दे’ भन्ने गगनभेदी नारा लगाएको थियो ।

तर बुधवारको कार्यक्रमको आयोजकले सारमा स्थगन गरिएको विधेयक फिर्तालाई समर्थन गरेर कार्यक्रमलाई केवल खबरदारी सभामा मात्र परिणत गर्ने काम गरे । यसले आन्दोलनलाई एक कदम पछि हटाउने काम गरेको छ । बुधवारको खबरदारी सभा मात्र भनिए तापनि नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालले लगाएको नारा खबरदारी सभामा पनि व्यापक रुपमा लगाइएको थियो । विधेयककोे खारेजी, भूमिसुधार मन्त्री, गृहमन्त्री, संचारमन्त्री र पधानमन्त्रीको राजीनामाको माग गर्दै हजारौँ हजार जनताको विरोध प्रदर्शनसहित माइतीघर मण्डला भरिएको थियो । जनआन्दोलनको झझल्को दिने यो विरोध सभाको आफैमा ऐतिहासिक महत्व रहेको छ ।

अहिले पनि प्रश्न उठिरहेको छ– के गुठी विधेयक खारेज ने होला त ? यदि यो विधेयक खारेज नभएको अवस्थामा के आन्दोलनले फेरि निरन्तरता पाउन सक्ला ? यो आमनेवा समुदायको अगाडि देखा परेको र उठाइएको प्रश्न हो । यो प्रश्न आफैमा अति गंभीर प्रश्न पनि रेको छ । वास्तवमा आन्दोलन जसरी उर्लिएको अवस्था थियो, यसले गुठी विधेयकलाई खारेज गर्ने अवस्थामा पुर्याएको थियो । खबरदारी सभाको ठाउँमा खारेजीको माग गर्दै विरोध प्रदर्शन र विरोसभा गरी निरन्तरता दिन सकेको भए गुठी विधेयक स्थगन मात्र होइन, खारेजी नै हुन्थ्यो ।

अर्काे कुरा, गुठी विधेयकको खारेजी सँगसँगै नेवा राज्यको राजनीतिक माग पनि र यसमा समावेश गरिनु जरुरी छ । तर आयोजक पक्षले त्यसो गर्न चाहेन र आन्दोलन मार्फत् विधेयक खारेजीसम्म पुर्याउन मेहनत पनि गरेन । आयोजकमा यसप्रति ढुक्कता र आत्मविश्वास दवै देखिएन ।

अर्काे पक्ष, आयोजकले संगठित शक्तिलाई पूरै उपेक्षा गरेर आन्दोलनलाई एनजीओ, आईएनजीओको आन्दोलनको रुपमा अगाडि बढाउने गलत मनसाय प्रष्ट देखियो । यसले गर्दा आन्दोलनलाई निर्णायक लक्ष्यसम्म पुर्याउन सकिएन । यसबाट आन्दोलनकारी र सबै पीडित पक्षहरु सतर्क हुनै पर्दछ ।