शिक्षामन्त्री गिरीराजमणि पोखरेलको राजीनामा माग गर्दै संघर्षलाई अघि बढाउदै अखिल क्रान्तिकारी

शिक्षामन्त्री गिरीराजमणि पोखरेलको राजीनामा माग गर्दै संघर्षलाई अघि बढाउदै अखिल क्रान्तिकारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अबको उसको संघर्ष भनेको शिक्षामन्त्री गिरीराजमणि पोखरेलको राजीनामाको मागलाई लिएर हुने बताएको छ । त्रिवि शिक्षा सेवा आयोगमा भएको विकृति, विसंगति र नातावाद÷कृपावादका विरुद्ध एक महिने रिले अनसन बसेर प्रहरी हस्तक्षेप गरी बल प्रयोग मार्फत् त्यहाँबाट उठाइएपछि बुधवार कमलादीस्थित होटल कमलमा गरिएको एक प्रेस भेटघाटमा उक्त कुरा बताइएको हो ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस सम्मेलनमा उपस्थित पत्रकारहरुका माझ अखिल (क्रान्तिकारी) सडकको बाघ भएर प्रस्तुत हुने भन्दै अबका दिनमा पड्कन परे पनि आफूहरु डाइनामाइट बनेर नै पड्कने कुरामा जोड दिएका थिए । त्रिविको आँगनमा त्रिवि सेवा आयोगको खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरुको बर्खास्तगी र असंवैधानिक रुपमा प्रकाशित नतिजा खारेजीको माग राखेर महिना दिनसम्म रिले अनसन बस्दा पनि उल्टै भ्रष्टहरुको संरक्षणमा अनसनरत क्रान्तिकारी विद्यार्थीमाथि निकै भत्र्सनायोग्य र अमानवीय दमनमा प्रहरीहरुलाई उतारेर ओली सरकारले फासीवादी हर्कत देखाएको गजुरेलको जोड थियो ।

अबका दिनमा संघर्षलाई अझ उच्चस्तरमा विकास गर्ने र भ्रष्टाचारीहरुको दोहोलो काढ्ने कुरा बताउँदै यसका लागि सबैले साथ दिन आह्वान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव पेशल दाहालद्वारा गरिएको थियो ।