माइतिघर मण्डलामा नेवारहरुको विसाल प्रतिरोध प्रदर्शन

‘गुठी विधेयक फिर्ता होइन, खारेज गर’

प्रकाशित मिति : २०७६ असार ४

काठमाडौं । ‘गुठी विधेयक फिर्ता होइन, खारेज गर’ भन्ने नारासहित माइतीघर मण्डलामा बुधवार काठमाडौं, भक्तपुर, ललितपुर र देशका अन्य जिल्लाहरुबाट नेवार एक विसाल जनप्रदर्शन भयो । गुठी विधेयकका विरुद्धमा प्रतिरोध संघर्षको रुपमा नेवा समुदायद्वारा अघि बढाइएको यो विसाल जनप्रदर्शनमा देशभरका नेवा समुदायको प्रतिनिधिहरुको पनि उपस्थिति रह्यो ।

ओली सरकारले राष्ट्रियसभामा दर्ता गरेको र व्यापक जनदबाबपछि मंगलवार मात्रै फिर्ता लिएको गुठी विधेयकको खारेजीको माग गर्दै नेवार समुदायले माइतिघरमा पछिल्लो चरणको सबैभन्दा ठूलो जनप्रदर्शन गरे ।

केही साता अघि माइतिघर मण्डलामा नै नेवारको थोरै मानिसहरुले गुठी विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्दा प्रहरीले पानीको फोहोरा र लाठी बर्साएर दमन गर्न पुगेको थियो । यसैका कारण बुधवार नेवा समुदायले शक्ति प्रदर्शन र प्रतिरोध संघर्षका रुपमा ठूलो जनप्रदर्शन गरेका थिए ।

उक्त विसाल जनप्रदर्शमा काठमाडौं र काठमाडौंको थानकोट, टोखा, साँखु, दक्षिणकाली, ललितपुरका पाटन, खोकना, बुङमति, बज्रबराही, कीर्तिपूर, भक्तपुरदेखि काभ्रे, तनहुँ तथा नुवाकोटसम्मका नेवार समुदाय माइतीघर आइपुगेका थिए ।

जुलुशमा सहभागीहरुमा सांस्कृतिक झाँकी र परम्परा झल्कने खालका बाजागाजा, नृत्य तथा प्रदर्शनी समेत ल्याएका थिए । प्रदर्शनमा नेवा राज्यको माग गरिनुका साथै संस्कृति तथा सम्पदा संरक्षणको नारा लगाइएको थियो ।

उकत विसाल जनप्रदर्शनमा नेवार संयुक्त संघर्ष समितिका नेताहरुले सम्बोधन गरेका थिए ।