नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’द्वारा गिरफ्तार अनसनरत विद्यार्थी तथा पार्टी नेता कार्यकर्ताहरुको अबिलम्ब रिहाइको माग

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’द्वारा गिरफ्तार अनसनरत विद्यार्थी तथा पार्टी नेता कार्यकर्ताहरुको अबिलम्ब रिहाइको माग

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले त्रिविको शिक्षा सेवा आयोगको गेटमा एक महिनादेखि रिले अनसन बसिरहेका विद्यार्थी नेता, कार्यकर्ता तथा अनसनमा ऐक्यवद्धता जनाउन गएका पार्टी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोमा उनीहरुको अबिलम्ब रिहाइको माग गरेका छन् । सोमबार साँझ त्रिवि सेवा गेटको अनसनस्थलमा पुगी कालीमाटी प्रहरी वृत्तले अमानवीय हस्क्षेप गरी कुटपिट र लछारपछार गर्दै १६ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको हो ।

यो अमानवीय तथा सशस्त्र रौद्र हस्तक्षेपको घोर भर्त्सना गर्दै महासचिव किरणद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘२०७६ जेठ ६ गतेदेखि त्रिवि सेवा आयोगको गेटमा त्रिवि सेवा आयोगको खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरुमाथि कार्वाही र अवैधानिक रुपमा प्रकाशित नतिजाको खारेजी जस्ता तीन सूत्रीय माग राखी रिले अनसनमा बस्दै आएका अनेरा स्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाललगायतका एक दर्जन भन्दा बढी अनसनकारी र अनसनप्रति ऐक्यवद्धता जाहेर गर्न गएका हाम्रो पार्टी केन्द्रीय समितिका सदस्य क. सुरेश श्रेष्ठ, क. शारदा महतसहितका कमरेडहरुलाई प्रहरीद्वारा गिरफ्तार गरिएको छ ।’

मागहरु, त्यसको सम्बोधन दबाबका लागि जारी रखिएको रिले अनसन तथा संघर्षका बारेमा खुलस्त गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘विषयको गम्भीरतामाथि ध्यान दिई विद्यार्थीहरुद्वारा प्रस्तुत माग सम्बोधन गर्नुको सट्टा उल्टै यसरी गिरफ्तार गरेकोमा हाम्रो पार्टी यस प्रकारको जनविरोधी तानाशाही गतिविधिको तीब्र विरोध तथा भर्त्सना गर्दछ । साथै, हाम्रो पार्टी विद्यार्थीहरुद्वारा राखिएका मागहरुलाई सम्बोधन गर्न र गिरफ्तार गरिएका पार्टी तथा विद्यार्थी नेताहरुको अबिलम्ब रिहाईका लागि जोडदार माग गर्दछ ।’

गिरफ्तार गरिएका सबैलाई अहिले कालीमाटी प्रहरी चौकीमा राखिएको छ । भेट्न गएका कसैलाई पनि भेट गर्न दिइएको छैन र भेट गर्न दिनका लागि अनुरोध गर्दा पनि निकै वेवास्ता गर्नुका साथै सामान्य मानवीय व्यवहारसम्म पनि प्रकट नगरिएको नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम् तथा प्रदेश नम्बर ३ का पार्टी सेक्रेटरी क. दिनेश शर्माले बताएका छन् ।

अनसन स्थलमा प्रहरीको एक्कासी पिटाइमा परेका विद्यार्थी नेता राम नेपाली तथा कुमार गडतौलालाई प्रहरीले अस्पताल लगेको बताइएको छ । राम नेपालीको छात्तीमा र कुमार गड्तौलाको पिठ्युँमा निकै चोट पर्न गएको सहकर्मीहरुले बताएका छन् ।

हाल कालीमाटी चौकीमा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल,  महासचिव पेशल दाहाल, केन्द्रीय समिति सदस्य शोभा सेन्चुरी, विद्यार्थी नेताहरु राम नेपाली, कुमार गडतौला,  सूर्य कार्की, जितेन्द्र लम्साल, महेश श्रेष्ठ, हेमराज शर्मा, देवी धामी, नरबहादुर कुमाल, सन्देश लिम्बु, दीपेन क्षेत्री, सागरकुमार शाही, मदन साउद र नेकपा क्रान्तिकारी माओवादीका सीसीएम् सुरेश श्रेष्ठलाई कसैलाई पनि भेटघाट र जानकारी समेत दिन इन्कार गरी राखिएको छ ।