गुठी बचाउका लागि उठ्यो भक्तपुर

आइतबार साँझ ऐतिहासिक मसाल जुलुश निस्कियो

प्रकाशित मिति : २०७६ असार २

काठमाडौं । ओली सरकारद्वारा ल्याइएको गुठी विधेयकविरुद्ध आइतबार साँझ भक्तपुरमा ऐतिहासिक मशाल जुलुस निस्किएको छ । काठमाडौं र ललितपुरमा गुठी विधेयकका विरुद्धमा जनसागर उर्लिएर सडकहरुमा पोखिइरहेको बखत भक्तपुर पनि सुतेको बाघ झैं जुरुक्क उठेको छ ।

गुठी विधेयक विरुद्ध उत्रिएको विसाल प्रदर्शनसहितको मशाल जुलुशमा प्रदर्शनकारीहरुले निकै आकर्षक र चर्का नाराहरुसहित भक्तपुरको मध्यपुर तौमडी देखि दत्तात्रयसम्म मसाल जुलुस गरेका थिए । नाराबाजीसहित मशाल जुलुसले बजार परिक्रमा गर्दा नगर नै गुञ्जायमान भएको थियो ।

जुलुसमा गुठी विधेयकको खारेजी, सम्पदासंरक्षण, संस्कृतिमाथिको अतिक्रमण बन्द गरिनु पर्ने, सम्पदा मास्न कसैलाई पनि अधिकार नभएको, नेवाः राष्ट्रिय मुक्ति मोर्चा जिन्दावाद, नेवाः एकता जिन्दावाद आदि नाराहरु लगाइएका थिए ।

मशाल जुलुश सुरु हुनु पूर्व तौमडीमा कोण सभा गरी मशाल बाली विरोध र्याली सुरु गरिएको थियो । बजार परिक्रमा गरी मशाल जुलुश दत्तात्रयमा पुगेपछि जुलुशमा सहभागी सबैलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी सबैलाई नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव श्रीकृष्ण सुलु, वरिष्ठ अधिवक्ता शंकर लिम्वु र नेवा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष पवनमान श्रेष्ठद्वारा सम्बोधन गरिएको थियो । मशाल जुलुसमा सम्पदा अभियान्ता, गुठियार नाइके तथा सर्वसाधरणहरुको विसाल उपस्थिति रहेको थियो ।