नेपाल दलित मुक्ति मोर्चा, मकवानपुर जिल्ला भेला आयोजक समिति गठन

संयोजकमा हरि घतानी

प्रकाशित मिति : २०७६ असार २

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चा, मकवानपुरको प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि घतानीको संयोजकत्वमा ७ सदस्यीय मकवानपुर जिल्ला भेला आयोजक समिति गठन गरेको छ । गठित भेला आयोजक समितिका सदस्यहरुमा क्रमशः राजन विक, राजु नेपाली, सुरेन्द्र विक, केशव सुनार, धर्म सुनार, र सविन दुधराजलाई चयन गरेको छ ।
विषेश अतिथि नेपाल दलित मुक्ति मोर्चाका प्रदेश नः ३ का संयोजक टेकबहादुर वि.क. ले शुभकामना मन्तव्य राख्ने क्रममा दलित तथा उत्पीडित समुदायमाथि हालसम्म पनि विभेद कम नभएको र सरकारले घोषणा गरेको छुवाछुत मुक्त राष्ट्र फगत गफमा मात्र सीमित भएको बताएका थिए । सरकार दलित तथा उत्पीडित समुदायलाई अधिकार दिन नचाहेको कुरालाई स्मरण गराउँदै वर्तमान संविधानले उत्पीडित तथा दलित समुदायलाई अधिकार दिन नसक्ने हुँदा नयाँ जनवादी क्रान्तिपछि मात्र त्यो संभव भएको बताए । त्यति बेला निर्मित जनसंविधानले मात्र सयौं वर्षदेखि लादिएको छुवाछूत भेदभाव तथा सामाजिक विभेद जस्ता निकृष्ट प्रथाहरु अन्त्य गर्ने र त्यसपछि मात्र शोषित पीडित जनसमुदाले मुक्तिको सास फेर्न पाउने कुरामा जोड दिएका थिए ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका मकवानपुर जिल्ला सचिव क. पारस लगायत नेताहरुको उपस्थिति रहेको थियो ।