गुठी विधेयकलाई खारेज गराउन शक्तिशाली आन्दोलनको सृष्टि गरिदै

गुठी विधेयकलाई खारेज गराउन शक्तिशाली आन्दोलनको सृष्टि गरिदै

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको पूर्ण बैठकले गुठीलाई प्राधिकरणको स्वामित्वमा लाने षड्यन्त्रविरुद्ध शक्तिशाली आन्दोलनको सिर्जना गर्नुपर्ने निर्णय गरेको छ । मोर्चाको चौँथो राष्ट्रिय भेलापछिको पहिलो केन्द्रीय समितिको पूर्ण बैठक आइतवार साँझ उक्त निर्णय गरेको हो । वैठकमा लिइएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

विज्ञप्तिको सुरुमा जातीय, वर्गीय र राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सहादत प्राप्त गर्नु हुने महान् सहिदप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै संघर्ष सम्बन्धमा केही ठोस निर्णयहरु सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका निर्णयहरुमा ‘बैठकले गुठी विधेयक गन्जागोलपूर्ण रहेको र सारमा नेवाः संस्कृति तथा सम्पदा मासेर नेवाः पहिचान समाप्त पार्ने उद्देश्यसहित नीजि गुठीहरुलाई सार्वजनिक गुठी बनाई गुठीमाथि गुठियारहरुको सम्पूर्ण हक समाप्त पारेर गुठीलाई पूर्ण रुपमा गुठी प्राधिकरणको स्वामित्वमा लाने षड्यन्त्र निहित रहेको’ भन्दै यस्तो खाले ‘गुठी विधेयक खारेज गरिनु पर्दछ भन्ने नेवाः मोर्चाको बैठकको निष्कर्ष रहेको’ बताइएको छ ।

नेवाः गुठीमाथि प्रकाश पार्दै विज्ञप्तिमा भनिएको छ– ‘गुठी विधेयकविरुद्ध नेवाः जातिलगायत संस्कृति र सम्पदाका पक्षधरहरुको आन्दोलनको सक्रिय समर्थन र सहयोग सहित नेवाः मोर्चा अगामी ४ गते माइतीघर मण्डलामा हुने विरोध प्रर्दशनमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको सक्रिय सहभागितासहित व्यापक जनतालाई कार्यक्रममा सहभागी गराई आन्दोलनलाई सशक्त बनाउने बैठकले निर्णय गरेको छ ।’

गुठी विधेयकलाई खारेज गराउन अझ शक्तिशाली आन्दोलनको सृष्टि गर्ने गरी नेवाः मोर्चाले आन्दोलनरत सबैको सहभागितामा संयुक्त मोर्चा बनाई केन्द्रकृत रुपमा आम हडताल र बन्द जस्ता कडा आन्दोलनका कार्यक्रम दिन पहल गर्ने निर्णय गरेको छ । गुठी विधेयकलाई लिएर काठमाडौंमा उच्चस्तरको अन्तरक्रिया कार्यक्रम तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको छ ।

यस बाहेक नेवाः मोर्चाले भाषा, रोजगारी, आदिभूमिमाथिको अतिक्रमण, नेवाः राज्यका मुद्दा लिएर पनि संघर्ष संचालन गर्ने निर्णय गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी पुष १८, १९ र २० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि मोर्चाले लिएको छ ।