अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रय भेला उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७६ जेष्ठ ३२

 

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रथम राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुक्रवार भब्य रुपमा सम्पन्न भएको छ । संघर्षको तयारीका लागि संगठन बिस्तार तथा सुदृढीकरणको अभियान देशव्यापी रुपमा सम्पन्न भएसँगै मोर्चा तथा जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला तथा सम्मेलन सम्पन्न गर्ने क्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय भेला सम्पन्न भएको हो ।

कार्यक्रम उद्घाटन पछिको मन्तव्यको क्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले मात्राका हिसाबले कम भए पनि नेपालको आमूल परिवर्तनका संघर्षमा मजदुरहरुले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा स्मरण गराउँदै हर समयमा मजदुरहरु दक्षिणपन्थी तथा अवसरवादीहरुका विरुद्ध लड्दै आएको कुरामाथि प्रकाश पारेका थिए । देश र जनविरोधीहरुका विरुद्ध लड्दा वैचारिक रुपमा र भौकि रुपमा पनि दक्षिणपन्थी संशोधनवादीहरुका विरुद्ध लड्दै आउनु परेको हो ।

नेपालको आमूल राजनीतिक तथा सामाजिक परिवर्तनका क्रममा पछिल्लो पटक भएको जनयुद्धको बेला देश र जनतालाई धोखा दिने नवसंशोधनवादीहरु पार्टीभित्र जन्मिएपछि जनयुद्धले पनि उपलब्धी हासिल गर्न नसकेको कुरा बोध गराउँदै महासचिव किरणले अहिले तिनै धोखेबाज तथा दक्षिणपन्थीहरुको एकताका आधारमा बनेको ओली सरकारले समाजवाद निर्माणको झुठो हल्ला जनताका बीचमा फिंजाइरहेको बताए ।

उनले भने– ती दक्षिणपन्थी संशोधनवादीहरुले भन्ने गरेको समाजवाद मार्क्सवादी वैज्ञानिक ससमाजवाद होइन, त्यो संशोधनवादी प्रतिक्रियावादी समाजवादको कुरा हुन सक्छ, जसको समयमै भण्डाफोर जरुरी छ । हामी र हाम्रो पार्टीले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद हो, त्यो मजदुर–किसानको एकतामा सम्पन्न हुने जनवादी क्रान्तिपछि मात्र स्थापना हुन्छ ।

मजदुर आफैमा सर्वहारा र अन्तर्राष्ट्रिय श्रमजीवी वर्ग भएकाले यसका लागि गुमाउने हातको सिक्रि बाहेक केही पनि हुँदैन, तर प्राप्त गर्नका लागि उसका अगाडि सिंगो संसार रहेको छ । नेपाली क्रान्तिको समयमा र विश्वक्रान्तिको समयमा पनि देखा पर्ने क्रान्तिकारी र दक्षिणपन्थी अवसरवादी धाराहरुका बीचमा मजदुररु क्रान्तिकारी धारका पक्षमा रहने गरेको इतिहास रहेको कुरामाथि प्रकाश पार्दै महासचिव किरणले यसका साथै मध्यपन्थी तथा र उग्रवामपन्थी धाराबाट पनि सचेत रहँदै आएको कुरामा जोड दिए ।

उद्घाटन कार्यक्रममा पूर्व मजदुर अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम दिनेश शर्मा ‘सागर’ले अहिलेको मजदुरहरुको वैचारिक निर्देशन भनेको मार्क्सवाद–लेनिनवाद–माओवाद नै हो भन्दै मजदुर आन्दोलनको इतिहासले पनि क्रान्तिकारी अग्रदस्ताका रुपमा मजदुरलाई अघि सारेको कुरामा जोड दिए । शर्माले पेरिस कम्युन र रुसको अक्टोबर क्रान्तिलाई पढेपछि मजदुरहरुको भूमिका र योगदानको महसुस हुने प्रसंगलाई जोड्दै अबको क्रान्तिमा मजदुरको जिम्मा अग्रणीका रुपमा संघर्षका मोर्चाहरुमा हुने छ ।

उद्घाटन कार्यक्रमलाई अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष टंकराम अधिकारी, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, जिल्ला सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष वसन्त बोगटी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव शारदा महत, वुद्धिजीवी संगठनका अध्यक्ष हुकुमबहादुर सिंह, प्राध्यापक संघका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सचिवालय सदस्य दीपक शाही, अखिल नेपाल किसान महासंघका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष पवनमान श्रेष्ठले शुभकामना मन्तव्यसहित सम्बोधन गरेका थिए ।

त्यसैगरी, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघका नारायण सापकोटा, नेपाल स्वतन्त्र प्रगतिशील ट्रेड युनियन महासंघका केदार गिरी र नेपाल ट्रेड युनियन फेडरेशनका मधु बिसीले उद्घाटन कार्यक्रममा आफ्नो विचारसहित शुभकामना मन्तव्य दिएका थिए ।

कार्यालय सदस्य कृष्ण कट्टेलद्वारा सञ्चालित उक्त उद्घाटन कार्यक्रम महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यालय सदस्य मोहनसिंह तामाङले राखेका थिए ।