दलालहरुका कारण फेरि संक्रमणमा देशको राजनीति

प्रकाशित मिति : २०७६ जेष्ठ २१

 

देश फेरि पनि संक्रमणमा फसेको छ । पहिले रुपान्तरण र परिवर्तनका लागि भएको दश वर्षको जनयुद्धका कारण देश संक्रमणमा थियो । त्यो बेला क्रान्तिकारी धारले विजयको परिणाम आफ्नो हातमा लिने कि तात्कालीन संसदवादी धारले भन्ने कुरामा निकै पेचिलो र दुस्मनीपूर्ण रस्साकस्सी चलेको थियो । यो कुनै खेलवाड थिएन, बरु जीवनमरणको संघर्ष थियो । यो मूलत वर्गसंघर्ष थियो । तात्कालीन अवस्थामा सिर्जित अन्तरविरोधलाई क्रान्तिकारीहरुले क्रान्तिकारी अन्तरविरोधमा रुपान्तरण गरेर आफूहरुको पोल्टामा विजयको उपलब्धि पार्न भरमग्दुर प्रयत्न गरिरहेका थिए ।

रुपान्तरणको यो प्रक्रिया जनपक्षीय र क्रान्तिकारी पनि थियो । तर ठीक त्यसैबेला संसदवादीहरुले तात्कालीन अवस्थामा सिर्जित अन्तरविरोधलाई संसदीय र पुरानै ढर्रामा फर्काएर हल गर्न चाहन्थे । यो भनेको यथास्थितिवादी र जनविरोधी पहल थियो । यही लडाइँका कारण देश संक्रमणको प्रक्रियाबाट गुज्रिइरहेको थियो । तर त्यो रुपान्तरणकारी संक्रमणको यात्रा प्रतिगमनतिर सोझियो । केही थोरै उपलब्धी र प्रतिफलसहित देश गणतन्त्रको अर्को प्रक्रियामा प्रवेश गर्यो ।

तर गणतन्त्रको आगमनसँगै बाह्य शक्तिहरुको निकै प्रभाव र हस्क्षेपका कारणले दलाल पुँजीवाद स्थापना भयो । यसले जनवादी राज्यसत्ता स्थापना गरिनु पर्ने ठाउँ लियो । चरित्रका हिसाबले यो विदेशीको हस्तक्षेप र दलालीमा आधारित भएकाले देशको राष्ट्रिय स्वाभिमानमाथि यसले ठूलो धक्का पुर्याएको छ । भूराजनीतिक तथा रणनीतिक महत्वका हिसाबले विदेशी रणनीति र कुटनीतिको खेल मैदानमा परिणत हुन पुगेपछि अब फेरि नेपालमा अर्को संक्रमणकाल सुरु भएको छ ।

यो संक्रमणकाल विदेशी शक्तिले नेपालको भूराजनीतिक अवस्थितिका कारण सिर्जिएको अन्तरविरोधलाई आफ्नो स्वार्थमा प्रयोग गर्न गरिएको पहलकदमीका कारण सिर्जना हुन पुगेको हो । यो भिन्नखाले संक्रमणको हल भनेको देशभक्त तथा जनगणतन्त्रवादीहरुले लिने पहल नै हो । यो पहल आफैमा वर्तमान राज्यव्यवस्थाको विकल्पमा हुन जान्छ । यो विकल्पको स्वरुप पनि निवर्गीय हुन सक्दैन ।

पहिलो संक्रमणकालको हिस्सा र पहलकदमी क्रान्तिकारी तथा संसदवादीहरुका बीचमा निकै रस्साकस्सीको अवस्थामा थियो भने पछिल्लो संक्रमणकालको पहल कदमी विदेशी शक्तिहरुको हातमा लगभग पूरै जसो छ । देशभक्त र क्रान्तिकारीहरुको आवाज केही मसिनो र झिनो मात्र छ । तर यो आवाज जनस्तरमा क्रमशः फैलिंदो र बढ्दो छ । यसलाई जनस्तरमा पुर्याएर झाँगिने बनाइयो भने मात्र दलाल व्यवस्थाले निम्त्याएको संक्रमणको अन्त्य गर्न सकिने छ ।

यो संक्रमणको अन्त्य पनि ठूलो बलिदानपूर्ण संघर्षबाट मात्र संभव छ । किनकि, विदेशी शक्तिहरु नेपालबाट आफ्नो स्वार्थसिद्धिविना हात उठाएर फर्कने अवस्थामा छैनन् । अर्को कुरा विदेशीको आशीर्वादमा बनेका नेपाली अनुहारका सरकारहरु दमनमा नउत्रिएर र फ्याकी नमागेर देशलाई स्वाभिमान बन्न दिने छैनन् ।

दलाल तथा बिचौलियाहरु स्वाभिमानी आन्दोलनका विरुद्ध जेहाद छेडेर लड्ने छन् । यस्तो अवस्थामा यी सबैलाई सोहर्ने र ठेगान लगाउने गरी राष्ट्रिय मुक्ति आन्दोलनको उठान गर्नु जरुरी छ । अर्को संक्रमणको अन्त्य केवल क्रान्तिकारीहरुले मात्र गर्न सक्दछन् ।