
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन जेठ १६ र १७ गते बुटवलमा सम्पन्न हुँदैछ । सम्मेलनको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि क्रान्तिकारी पत्रकार महासंघले जिल्ला र प्रदेशबाट ३÷३ जना प्रतिनिधि र २÷२ पर्यवेक्षक छनौट गरेको छ । सम्मेलनकै तयारी स्वरुप महासंघले ६ वटा प्रदेशको भेला र जिल्लाहरुको भेला सम्पन्न गरेको छ । प्रदेशहरुमा भने महासंघले पेशागत र जनअधिकारका मुद्दाहरुलाई लिएर मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
सम्मेलनले महासंघको क्रान्तिकारी नीति र जुझारु नेतृत्वको टिम निर्माण गर्ने बताइएको छ । महासंघले ‘साम्राज्यवादी भूमण्डलीकरणका विरुद्ध जनपक्षीय सञ्चारका निम्ति हाम्रो आन्दोलन !, पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र जनगणतन्त्रका पक्षमा दोस्रो राष्ट्रिय सम्मेलन !!’ भन्ने मूल नारा तय गरेको छ ।

यसैबीच, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनजाति महासंघको राष्ट्रिय सम्मेलन १८ र १९ गते जेठमा पोखरामा हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी सकिएको महासंघले जनाएको छ । क्रान्तिकारी माओवादीका महासचिव किरणद्वारा उद्घाटन गरिने कार्यक्रममा आदिवासी जनजातिका नेताहरुको पोखरामा जमघट भएको छ ।





























