एकै कोखका दुई कमाण्डर

प्रकाशित मिति : २०७६ जेष्ठ ११

- अञ्जानकुमार तिमिल्सिना

 

“यदि तिमी संसार बदल्न चाहन्छौ भने तिमीले यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्नैपर्छ,चाहे तिम्रो भागमा मृत्यु किन नपरोस्” क. माओ

भूमिका :
महान क्रान्तिकारी कम्युनिष्ट नेतातथा योद्धा आकाशबाट झर्ने नभई यही सामाजिक परिवेश तथा वर्ग संघर्षको भट्टीबाट जन्मन्छन् । नेपाली धर्तीमा चलेको महान् जनयुद्धको पृष्ठभूमिबाट महान् नेता तथा होनहार योद्धाको जन्म भएको छ । तिनै होनहार योद्धामध्ये एउटै आमाको कोखबाट जन्मेका हामी तीन दाजुभाइमध्ये माइलो भाइ रामकृष्ण तिमल्सिना (क. विवश) र कान्छो भाइ शिवहरि तिमल्सिना (क. उज्ज्वल), जो सर्वहारा वर्गको चेतना, भावना अनि मनोबल बनेका, ती महान् योद्धा आज हाम्रोसामु छैनन् । महान् सहिद हाम्रो आर्दश बन्न पुगेका छन् । ती दुईको योगदान र भूमिकालाई छोटो विवरण मार्फत् जानकारी गराउन चाहन्छु ।

पारिवारिक पृष्ठभूमि :

संसारलाई सुन्दर मानव समाजमा बदल्ने आँट बोकेर अगाडि बढिरहने योद्धा मरेर पनि युगयुगसम्म बाँचिरहन्छन् । तिनै योद्धा मध्येका हुन् माइलो भाइ रामकृष्ण तिमल्सिना (क. विवश) र कान्छो भाइ शिवहरि तिमल्सिना (क. उज्ज्वल) । नुवाकोट जिल्ला सुन्दरादेवी गा.वि.स. वडा नं. ४ तामेमा बुवा वीरबहादुर तिमल्सिना र आमा विष्णुमाया तिमल्सिनाको कोखबाट मिति २०३१ श्रावण २७ गते माइलो भाइ रामकृष्ण तिमल्सिना (क. विवश) र २०३५असार २७ गते कान्छो भाइ शिवहरि तिमल्सिनाको जन्म भएको थियो । यी दुई नै चितवनको वर्ग संघर्षको इतिहासमा ज्वजल्यमान नक्षत्रका रुपमा उदाउन पुग्नु भयो ।

निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मिएका यी दाजुभाइ आर्थिक संकटका कारण २०३९ साल फाल्गुण महिनामा सपरिवार चितवन जिल्ला साविक मंगलपुर गा.वि.स. वडा नं. २ (हाल भ.म.न.पा. १५, मंगलपुर) दशरथ नगरमा बसाइसराइ गर्नुभयो । क. विवश र क. उज्ज्वलको परिवारमा बुवा, आमा, १ दाजु र २ भाउजु एक दिदी १ बहिनी, श्रीमती छोराछोरी गरी १५ जनाको परिवारमा दिदी र बहिनीको विवाह भइसकेको छ । २०४९ असार २८ गतेसिता रिमालसँगविवाहबन्धनमाबाँधिनु भएका क. विवशका २ छोरी दृष्टि तिमल्सिना र पल्लबी तिमल्सिना छन् भने शिवहरि तिमल्सिना क. उज्ज्वल २०६० साल वैशाख २० गते खिमा रिजालसँग वैवाहिक बन्धनमा बाँधिनुभएको थियो ।
हाम्रो परिवार कम्युनिष्ट क्रान्तिकारी विचारमा अडिग थियो, जसले न्याय र अन्याय छुट्याउन सक्दथ्यो । जो नेपालमा चलिरहेका परिवर्तनकारी आन्दोलनमा तत्कालीन शासकले चलाएको अन्याय, अत्याचार, शोषण, दमनविरुद्ध आवाज उठाउने हरेक आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष, खुल्ला वा भूमिगत रूपमा आन्दोलमा सहयोग समर्थन र सहभागिता हुने गर्दथ्यो । घरको कमजोर आर्थिक अवस्थाका कारण जिवनयापनका लागि कृषि पेशा अंगाल्नु पर्ने मजदुरी गर्नुपर्ने बाध्यता त छँदै थियो त्यसका बाबजुद पनि परिवारमा सबैले अध्ययन अध्यापन गर्ने समाज रूपान्तरणसँगै आफूलाई पनि रूपान्तरण गरि लैजाने यो परिवारको आदर्श थियो ।

हालसम्म पनि हाम्रो परिवार प्रतिकृयावादीका षड्यन्त्रविरुद्ध निरन्तर रूपमा तमाम् परिवर्तनकारी आन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हरेक तहमा रही आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । म स्वयम् तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी जनयुद्ध र जनमुक्ति सेनामा समावेश हँुदै थुप्रै मोर्चामा सहभागी भई जनमुक्ति सेनाको महत्वपूर्ण फर्मेशन जनसैनिक प्रतिष्ठान तथा केन्द्रीय प्रशिक्षण विभागको प्रमुख साथै ब्रिगेड कमाण्डरको भूमिका निर्वाह गरिसकेको छु । हाम्रो परिवारले युद्धकालमा होस् या शान्तिकालमा‚ आफ्नो भूमिकालाई अग्र मोर्चामा उभ्याएको छ । क्रान्तिकारी युद्ध र आन्दोलनमा एउटा आदर्श परिवारको रूपमा साबित गरेको छ ।

वाल्यअवस्था र शिक्षादिक्षा :

भाइ सानै उमेरदेखि धैर्य, गम्भीर र सिर्जनशील थिए । गरीब किसान परिवारमा जन्मेको कारण उनीहरूको स्वाभाव हेर्दा सादा जीवन उच्च विचार जीवनशैलीमा व्यक्त हुन्थ्यो । परिवारमा अत्यन्तै मिलनसार आदेश पालकदाजु भाइ एक अर्कामा र समाजका लागि सहयोगी थिए । उनीहरुको हेरचाह आमा, बुवा र घर परिवारबाट भएको थियो । सानै उमेरदेखि स्कुलजान नसक्ने र ठूलो शिक्षा हासिल गर्न नसक्नु घरायसी बाध्यता थियो । त्यसका बावजुद पनि छोरोलाई पढाउने आमाबुबाको तीब्र इच्छाका कारण र स्वयम्मा पैदा भएको रुचीले क. विवशको शिक्षाको प्रारम्भ सुन्दरदेवी राष्ट्रिय प्राथमिक विद्यालय नुवाकोटबाट २०३७ सालमा भयो ।

परिवारको बसाई सराईको कारण केही समय ग्याप गरि चितवनमा राष्ट्रिय प्राथमिक विद्यालय मंगलपुरमा भर्ना भई कक्षा ५ सम्मको अध्ययन सकी कक्षा ६ मा विश्वप्रकाश मा.वि. कल्याणपुरमा भर्ना भएर औपचारिक शिक्षाकक्षा ६ सम्म मात्र रह्यो । परिवारको माइलो सन्तान हुनुको नाताले परिवारलाई हेर्नुपर्ने र घरको कमजोर अवस्थाले गर्दा शिक्षामा निरन्तरता दिन नसके पनि व्यवहारका धनी थिए । हरेक प्रतिभाका धनी क. विवश सानै उमेरदेखि विद्रोही स्वभाव र सिर्जनशील थिए ।

आर्थिक अभावर विपन्नताको कारणले उनी २०४९ सालमा तत्कालीन शाही नेपाली सेनामा भर्ना भए । आपूmमा भएको विद्रोही स्वभाव र त्यहाँभित्र हुने नोकरशाही शैली‚ व्यक्तिवादी दम्भविरुद्ध लड्दै आफ्नो कठिन यात्रा अगााडि बढाइरहे । आपूmमाथि लगाइने हरेक आरोप र आक्षेपको सामनागर्दै अगाडि बढ्ने क्रममा अवरोध आइपरेपछि उनको आक्रोशले अभिजात अफिसरमाथि हात हालाहालको अवस्था सिर्जना भयो र त्यसपछि लगाईएको झुठ्ठा मुद्दा लत्याउँदै विद्रोह गरी सर्वहारा वर्गीय राजनीति सुरु गरे ।

उता क. उज्ज्वल परिवारको कान्छो सुपुत्र भएकाले उनलाई अध्ययन अध्यापनभन्दा घरायसी काम गर्न परेन । सबैको न्यानो माया पाएका उज्ज्वल अभिभावकको आदेशभन्दा कहिल्यै बाहिर गएनन् । सानै उमेरदेखि पढाइमा तीब्र रुची राख्ने घरपरिवारलाई हरतरहले सघाउने, पढेर केही गर्ने इच्छा राखेका क. उज्ज्वलको शिक्षाको प्रारम्भ २०४२ सालमा गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयबाट भयो । हुने विरुवाको चिल्लो पात भने झैँ उनी कक्षा १ देखि नै प्रथम, द्वितीयहुँदै कक्षा ५ सम्म त्यसै राष्ट्रिय प्राथमिक विद्यालय मंगलपुरमा अध्ययन गरे र २०४७ सालमा उनी विश्वप्रकाश माध्यामिक विद्यालय कल्याणपुरमा कक्षा ६ मा भर्ना भइ निरन्तर आफ्नो अध्ययनलाई अगााडी बढाउँदै २०५३ सालमा प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरे ।

त्यसै विश्वप्रकाश उच्च माध्यामिक विद्यालयमा +२ मा भर्ना भई उच्च शिक्षामा उनलाई चितवन टप गरेकाले क्याम्पसले छात्रवृत्ति र अवार्ड प्रदान गर्यो । २०५६ सालमा इन्टर पास गरी स्नातक तहको लागि सप्तगण्डकी क्याम्पसमा भर्ना भए । स्नातक दोश्रो वर्ष अध्ययन गर्दागर्दै आफ्नो पढाइलाई रोकी ने.क.पा. (माओवादी)द्वारा संचालित महान् जनयुद्धमा समावेश भई भूमिगत जीवनको सुरुवात गरे । उनी अध्ययन र शिक्षामा असाध्यै मेहनत गर्दथे । समयलाई कत्ति पनि खेर नफाल्ने मनोरन्जनभन्दा पनि अध्ययनमा व्यस्त हुने उनको कार्यशैली थियो । उनको पढाइको लागि बुवाआमाले मेलापात, खेती किसान र दुई दाजुले तत्कालीन शाही नेपाली सेनामा जागीर गरेर अध्ययनको आर्थिक संकट हल गरेका थियौं ।

राजनीतिक तथा सांगठनिक पृष्ठभूमि :

क. रामकृष्ण तिमल्सिना (विवश) ०४९ सालमा तत्कालीन शाही नेपाली सेनामा भर्ति भए । नेपाली सेनामा रहँदाथुप्रै पटक असंगठित विद्रोह गर्दा २०५५ सालमा सैनिक हिरासतमा राखी जर्नेल ठाकुर सुब्बाको नेतृत्वमा सैनिक अदालतबाट बर्खास्त गर्ने निर्णय ग¥यो । त्यसका विरुद्ध त्यहाँबाट विद्रोह गरी तत्कालीन नेकपा (माओवादी) मा २०५६ सालमा पूर्णकालीन भई स्क्वायड सदस्यका रूपमा काम सुरु गर्न थाले । त्यसै बखत पार्टी सदस्यप्राप्त गरि केन्द्रीय फोर्स, २०५७ मा धादिङ ३ नं. प्लाटुन सदस्य, २०५७ मा सेक्सन सह कमाण्डर, शाखा सदस्य, २०५८ मा सेक्सन कमाण्डर, २०५९ मा बासु स्मृति चौथो बटालियन सी कम्पनी अन्तगर्त प्लाटुन कमाण्डरर क. उज्ज्वल २०५५ सालमा पार्टी सदस्य, २०५६ सालमा भूमिगत, २०५६ एरिया कमिटी सदस्य, २०५७ एरिया सेक्रेटरी तथा स्क्वायड कमाण्डर, २०५८ अर्बान प्लाटुन कमाण्डर, २०५९ चितवन जिल्ला प्लाटुन कमाण्डर तथा पार्टी जिल्ला सदस्य, २०५९ वासु स्मृति चौथो वटालियन सी कम्पनी प्लाटुन पार्टी सचिवालय सदस्य, २०६० कम्पनी सह कमाण्डर, नवलपरासी रुपन्देही एसटीएफ् कम्पनी सह–कमाण्डरको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने ती दाजुभाइले त्यो जिम्मेवारीले सुम्पेको महान् अभिभारा पूरा गर्ने क्षमता राख्दथे ।

उनीहरू हरेक कठिन कार्यमा पनि कहिल्यै पछि परेनन् । कुशल संगठक भएका कारण अपरिचित भूगोलमा कार्यक्षेत्र भएपनि छिट्टै जनताका आँखाका नानी बनिहाल्ने, श्रम तथा छलफलमा रुची राख्ने, नेतृत्वदेखि कार्यकर्ता वा आमजनताले उच्च आदर तथा विश्वास गदर्थे । बोल्दा हाँसेर बोल्ने, कहिल्यै नरिसाउने तर वर्ग बैरीसित भने बाघ गर्जे झैं गर्जिदै जाइलाग्ने उनीहरूको स्वभाव थियो ।

फौजी कार्वाहीमा भूमिका :

जनताको मुक्तिको लागि लड्ने एउटा क्रान्तिकारी योद्धाको लागि युद्धकला हो । हामी आफ्नो सीपक्षमता युद्ध मैदानमै देखाउनु पर्छ भन्ने सिद्धान्तअनुसार उसका हर दिन, हर क्षण कुनै न कुनै रूपमा भइरहने हरेक कार्य दुश्मनविरुद्ध र दुश्मनसँग हुने गर्दछन् । यसलाई प्रेरणा र सहयोग आवश्यक पर्दा प्रेरणस्रोत भनेका श्रमजिवी जनता हुने गर्दछन् । दुश्मनविरुद्ध लड्ने योद्धाका दैनिक घटनाक्रम उल्लेख गर्न असम्भवहुन सक्छ, तर पनि त्यो योद्धाले लडेका स्मरण योग्य केही कार्वाही समावेश गरिएको छ ।

क. विवशको थुप्रै एम्बुस र कमाण्डोमा महत्वपूर्ण भूमिका रहेको थियो । खास गरी नुवाकोटको तादीपुल प्रहरी चौकी आक्रमण, धादिङको दार्खा प्रहरी चौकी रेड, गोर्खाको बार्पाक इलाकाप्रहरी चौकी रेड, अर्घाखाँची सदरमुकाम सन्धीखर्क रेड आदि स्मरणयोग्य सहभागी कार्वाही हुन् ।

भूमिगत हुनु भन्दापहिले नै उनले थुप्रै फौजी कार्वाहीमा विद्यार्थीको तर्फबाट भाग लिइसकेका थिए । भुमिगत भइसकेपछि थुप्रै एम्बुस तथा रेडमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनको कार्यक्षेत्र अर्बान प्लाटुन तथा एस्टी एफ्मा नै बढी भूमिका रहन गयो । गोर्खाको ताकुकोट रेड देखि थुप्रै एम्बुस, कमाण्डो अट्याकआदिमा सहभागी भएका थिए भने यीमध्ये टाँडीको सौराहामा शाही नेपाली सेनाका कोभर्ट गु्रपलाई कमाण्डो गरी चितवन जिल्लाको पहिलो अत्याधुनिक हतियार कब्जा गर्न सफल भए ।

घटना प्रकृति र कालो रात :

क. विवश २०५९ भाद्र २४ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा महत्वपूर्ण भूमिकानिर्वाह गरि फर्के लगत्तै पार्टीको निर्देशन मुताविक पश्चिमको डी कम्पनी पूर्व कार्यक्षेत्र जाने योजनामा रुट गाइडको भुमिका निर्वाह गर्दा २०५९ असोज १७ गते बिहान ४ बजे स्याङजा जिल्लाको पकवादी गा.वि.स. मा डी कम्पनी र सशस्त्र प्रहरीसँगको भिडन्तमा गोली लागि घटना स्थलमा नै शहादत प्राप्त भयो ।

गोपनियता नै पार्टी योजनाको सफलता हो भन्दै दुश्मनको सामु कहिल्यै प्राणको भिख नमाग्ने शिक्षामा निपूर्ण कमरेड गुम्दाको त्यो कालो रातको पीडा सिंगो फर्मेशन, समग्र सर्वहारा वर्ग अनि जन्मदिने वुवा, आमा, श्रीमती, छोरीलगायत घरपरिवारले ब्यहोर्नु पर्यो । एकातिर अर्घाखाँचीको मोर्चामा दाजुको घाइते अवस्था, अर्कातर्फ यो सहादतको खबरले परिवारमा झनै पीडा थप्यो ।

पार्टीको योजना भनेपछि मरिमेट्ने खानपिन समेत भुल्ने, समयलाई निरन्तरता दिइराख्ने क. उज्ज्वल पार्टीको विशेष योजनामा २०६० साल चैत्र ७ गते म्याग्दीको वेनी सदरमुकाम कब्जा गर्ने योजना बनेपछि त्यस योजनालाई गण्डक क्षेत्र विशेष गरी नवलपरासी र रुपन्देहीबाट फौजी सपोर्ट दिने र केही सट तथा एरिया एम्बुस गर्ने योजना कार्यान्वयनमा थिए । त्यो योजनालाई पूरा गर्ने क्रममा निरन्तर आईएनटी तथा रेक्कीको काम गरिरहेका थिए । समय नजिक नजिक आइसकेको थियो । उनी एम्बुसको तयारीको लागि भूगोल रेकीमा आफ्नै कमाण्डमा रुपन्देही जिल्लामा खटिएका थिए ।

रेकी गरेर फर्कने क्रममा हाईवेबाट केहीभित्र उनीलगायत ४ जना साथीले जनताको घरमा खाना खाए । सुत्नको लागि केही टाढा जान पर्ने थियो । २०६० साल फाल्गुन १६गते करीब रातको ९ बजे सेल्टरमा गएर एकछिन बसेका मात्र के थिए, सालझण्डी व्यारेकबाट आएका शाही सेनाका जल्लादले कायरतापूर्ण ढंगबाट घर घेराहाली चारै जनालाई गिरफ्तार गर्यो । सी.आई.डी.लाई सबै कुरा थाहभइसकेका कारण फुत्कने सम्भावना रहेन ।

पोल खोलाउने उद्देश्यले रातभरि कठोर यातना दियो तर क. उज्ज्वललगायत चारै जना क्रान्तिका लागि, नेपाली जनताका हकहित र मुक्तिका लागि हाँसीहाँसी बलिदान दिने सपथ खाएका योद्धाले पार्टी र योजनाको गोपनियताभङ्ग गरेनन् । उनीहरूले थुप्रै अत्याधुनिक हतियार ड्रम गरेका थिए । ठूलो फौजी योजनाको बारेमा जानकार थिए, क. उज्ज्वल । तर जति सुकै क्रुर र अमानवीय कठोर यातना दिए पनि चट्टान झैँ बलियो क्रान्तिकारी विचारले लैस योद्धबाट दुश्मनले कुनै पोल खुलाउन नसकेपछि २०६० फाल्गुन १७ गते बिहान ४ बजे संगीनले घोची घोची पासबिक यातना दिंदै क. उज्ज्वललगायत चार जना होनाहार नेपाली आमाका सपुतहरूको हत्या गर्यो ।

उनीले गौरवपूूर्ण शहादत प्राप्त गरे । यी महान् सहिदको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी र समानुपातिक सहितको नेपालको संविधान २०७२ प्राप्त गरेका छौं । यी परिवर्तनलाई लागु गर्न र सहिदको सपना पूरा गर्नका लागि महान् शहीदलाई सम्मान र स्थापित गर्नु नै गणतन्त्रको पहिलो लक्ष्य हुनु पर्दछ । एउटै आमाका कोखबाट जन्मेका महान् सहिद शिवहरि तिमल्सिना र रामकृष्ण तिमल्सिनाको स्मृतिमा सहिद शिव–राम स्मृति प्रतिष्ठान निर्माण भएको छ । यस प्रतिष्ठानले सहिद परिवार द्वन्द्व पीडित परिवार, घाइते अपाङ्ग, योद्धाको सहयोगीको भूमिका खेल्ने लक्ष्य राखेको छ ।

अन्त्यमा, सर्वहारा वर्गको मुक्तिको लागि लड्दै सयौँ चुनौतीलाई पछ्याउँदै हजारौं सम्भावना देख्ने यी वीरहरू गुम्दा सर्वहारा वर्गीय आन्दोलनमा जति क्षति बेहोर्नु पर्यो, त्यति नै पहिले लागेको घाऊ सेलाउन नपाउँदै फेरि अर्को पीडा बेहोर्नु पर्दा काख रित्याउनु परेको आमा, सिंदुर पुछ्नु परेको श्रीमती र टुहुरा हुनु परेका बालबालिका सन्तान गुमाउनु परेको परिवार आफन्त गुमाउनु परेका आफन्तजन भावविह्वलहुनु त स्वभाविकै हो, तर शोकलाई शक्तिमाबदल्दै पीडालाई आक्रोशमा बदल्दै बाँकी रहेका सपना पूरा गर्नु बाँचेकाको काँधमा परेको कर्तव्य बोध गर्दै निरन्तर रूपमा सहिदहरूले देखाएको बाटोबाट अघि बढ्नु हाम्रो जीवन यात्रा बनेको छ ।

यही बाटो पछ्याउने हामी सबैले प्रण गरौं । सहिद द्वय क. विवश र क. उज्ज्वल लालसलाम !