हुआवेइमाथि प्रतिबन्ध लगाए अमेरिकालाई थप क्षति : चीन

‘चिनियाँभन्दा गुणस्तरयुक्त र सस्तो सामान अमेरिकाले कतै पनि पाउँदैन’

प्रकाशित मिति : २०७६ जेष्ठ ३

काठमाडौं । चिनियाँ सञ्चार व्यापार नेटवर्क हुआवेइमाथि प्रतिबन्ध लगाउँदा अमेरिकी व्यापारमा तिब्र गिरावट आउने भनी चिनियाँहरुले चेतावनी दिएका छन् । अमेरिकी बजारमा पाइने चीनको जस्तो गुणस्तरयुक्त र सस्तो सामान तथा पाटपूर्जा अमेरिकाले कुनै पनि देशबाट नपाउने बरु एकातिर अमेरिकी व्यापार घाटा बढ्दै जाने र अर्कोतिर बढी महंगोमा अमेरिकाले युरोपेली देशहरुबाट सामान आयात गर्नुपर्ने बाध्यात्मक स्थितिको सिर्जना हुनजाने कुराको बोध पनि गराएको छ।

अमेरिकाले चिनियाँ सञ्चार व्यापार नेटवर्क हुआवेइमाथि शुक्रवारदेखि लागु हुने गरी प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो सुरक्षासंयन्त्रसँग हुआवेइ सञ्चार व्यापार सञ्जाल निकै प्रभावी र प्रभुत्वशाली हुँदै गएको स्वीकार गर्दै सुरक्षा खतराबाट बच्न उक्त व्यापार सञ्जालमाथि प्रतबन्ध लगाएको राष्ट्रपति ट्रम्प आफैले स्वीकार गरेका छन् ।

अमेरिकी व्यापार नेटवर्कलाई अमेरिकी ‘व्युरो अफ इन्डस्ट्री एण्ड सेक्युरिटी’ (बीआईएस्) सँग प्रत्यक्ष जोडिएको र त्यसैसँग हुआवेइको विश्वव्यापी टेली कम्युनिकेसन व्यापार सञ्जाल प्रत्यक्ष जोडिएकाले अमेरिकाले आफ्ना आन्तरिक सुरक्षामा खतरा पैदा हुन सक्ने चिन्ता पनि जाहेर गरेको छ । यसै कुरालाई अघि सारेर ट्रम्पले संयुक्त राज्य अमेरिकामा ‘आईटी संकटकाल’ घोषणा गरेका छन् ।

उता चीनले भने यी सबै ट्रम्पका जाली कुराहरु मात्र भएका र हुआवेइमाथि प्रतिबन्ध लगाउन यो सबै साजिस रचिएको बताएको छ । तर हुआवेइ व्यापार सञ्जालमाथि अमेरिकी प्रतिबन्धले उसलाई बढी सुरक्षित, बलियो र ढुक्क हुने अवस्थामा पुर्याउने छैन । थप कुरा त के पनि छ भने हुआवेइमाथिको प्रतिबन्धले अमेरिकालाई ५–जी सूचना व्यापारबाट पछाडी पार्ने छ र अमेरिकाको थप आर्थिक अवनति सुरु हुने छ ।

चिनियाँ व्यापार प्रविधि कम्पनीहरुले भनेका छन्– ‘हामी अमेरिकी सरकारसँग कुराकानी गर्न र केही प्रभावकारी मापदण्डहरु अपनाउन तयार छौं ताकि यसले अमेरिकी उत्पादन सुरक्षालाई ग्यारेन्टी गर्न सकोस् ।’ यसबाट के देखिन्छ भने अमेरिकाले सधैंभरि चीनले आफ्नो प्रविधि ‘चोरेको, नक्कल गरेको र प्रयोगमा ल्याए’को भनी लगाइरहेको आरोप गलत हो र चीन अमेरिकी टेक्नोलोजीभन्दा केही हदसम्म अघि पनि बढिसकेको पनि छ ।

हुआवेइ व्यापार प्रविधि अमेरिकाको भन्दा उन्नत भएको र यसले पछिल्लो चरणमा विकसित ५–जी प्रविधिको कुशलतापूर्वक प्रयोगमा ल्याएको र अमेरिकाले यो प्रविधि कज्याउने हैसियत नराखेको पनि खुल्न आएको छ । चीनले त अमेरिका अब ५–जी प्रविधिको प्रयोगबाट निकै पछाडी पर्ने चेतावनी पनि दिइसकेको छ ।

अमेरिकामा अहिले चिनियाँ सामानहरुको हाहाकार हुन गएको छ । मुख्य सहरका वरपरका ग्रामीण बस्ती र भूभागहरु, साना पसलेहरु, निम्न मध्यम तथा मध्यम परिवारहरु र राष्ट्रियस्तरका व्यापारीहरु ट्रम्पको यो कदम विरुद्ध आक्रोश पोखिरहेका छन् । चिनियाँ सामान र पाठपूर्जामा निर्माण हुन थालेका भौतिक पूर्वाधारहरु ठप्प हुन गएका छन् भने पहिले निरन्तर चलिरहेको विसाल जनताको जीवन शैलीमा एक्कासी आँधीतुफान आएको छ । उनीहरुको कमाइ र बजेटले अबका दिनमा आधा जति पनि सेवा र सुविधा उनीहरुले भोग गर्न नपाउने देखिएको छ ।

मुट्ठीभर धनी र पुँजीपति बाहेक अरु सबैको जीवन नराम्रो गरी प्रभावित हुँदै जान थालेको छ । ट्रम्पको संकटकाल कार्यान्वयनको सुरु दिनमा देखिएको यो प्रभाव थप नकारात्मक रुपमा बढ्दै जाने देखिएको छ ।

गत डिसेम्बर महिनामा अमेरिकाको अनुरोधमा क्यानडामा हुआवेई चिफ मेङ वाङझुलाई गिरफ्तार गरिएको थियो । अमेरिकी अनसरोधमा यसो गरिए पनि उनलाई अमेरिका सुपुदर्गी नगरी छाडिएको थियो ।