काठमाडौं । मलेसिया र नेपाल दुई देशबीचमा गरिएको श्रम सम्झौताले १२ महिना पार गरिसक्दा पनि मलेसिया भिसा खुलेको छैन । मलेसियाका लागि कुरेर बसिरहेका युवाहरु त्यहाँ जाने माया मारेर बरु खाडी देशहरुतर्फ हान्निएका छन् ।
भिसा शुल्कमा मनपरी, स्वास्थ्यमा सिण्डिकेट, दलालहरुको ठगी आदि कारणहरु देखाएर भएको मलेसिया श्रम गन्तव्यको बन्द ढोका एक वर्ष अघि नै सरकारी स्तरबाटै खोलिएको थियो । मलेसिया र नेपालका बीचमा ‘जीटुजी’ श्रम संझौता भएपछि एकहप्ताभित्रै खुल्ने भनी बहुप्रचारित श्रम गन्तव्यको बाटो हालसम्म पनि बन्द रहेको छ ।
भिसा करलगायतका सबै आर्थिक कुराहरु रोेजगारदाताले दिने, विरामी हुँदा र समस्या पर्दा पनि सहयोग गर्ने, फिर्ता पठाउँदा पनि रोजगारदाताले नै आर्थिक बेहार्ने गरी गरिएको सम्झौता बेवारिसे अवस्थामा पुगेको छ । दुवै देशका जिम्मेवार पक्षहरु कति बसेर यसका बारेमा छलफल गरेका छन्, त्यो सार्वजनिक त भएको छैन तर नखुल्नुको कारण र कारक एक पक्षले अर्को पक्ष भएको बताइरहेका छन् ।
पछिल्लो पटक नेपाल आफैले यसका बारेमा तयारी गर्न नसकेको भन्ने आरोपका बारेमा श्रम मन्त्रालय पनि चूपचाप रहेको छ ।