त्रिभुवन विश्वविद्यालय सेवाको लिखित परीक्षाका कागजपत्र अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति : २०७६ जेष्ठ २

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवाले विश्वविद्यालयका आन्तरिक कर्मचारी भर्नाका लागि त्रिविसेवाका अध्यक्षलगायतले आफ्ना परिवार, नातेदार र राजनीतिक भागबण्डाका आधारमा सेवाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेपछि भएको विद्यार्थी आन्दोलन र तालाबन्दीका कारण अख्तियारले सत्यतथ्य छानबिनका लागि सम्बन्धित सबै कागजपत्रहरु त्रिविसेवा कार्यालयबाट जफ्त गरेको छ ।

अख्तियारले परीक्षा नतिजासँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएपछि त्रिविका सेवा समितिमा रहेका अध्यक्षदेखि सदस्यहरु सबै सिंहदरवार र बालुवाटार धाउन थालेका बताइएको छ । नातावाद, कृपावाद र राजनीतिक भागबण्डा तिनै नेता तथा मन्त्रीहरुको सुझाव र निर्देशनमा गरेपछि आइपर्दा सुरक्षा पनि तिनैले गर्छन् भन्दै आफ्ना घरपरिवारले  खानसमेत पनि नदिई उनीहरुलाई उतै नेताहरुकहाँ बास बस्न पठाउन थालेको स्रोतले जनाएको छ ।

सत्ताधारी तथा प्रतिपक्षका नियुक्तिवालहरुको हालीमुहाली रहेको उक्त सेवा समितिका केही मानिस भने लोकमानलाई रातारात लखेटेपछि अख्तियार सरकारले जे भन्यो त्यही गर्ने अवस्थामा रहेको र एकमना सरकारले नियुक्ति दिएकाहरुको सरकार विरुद्ध लड्ने बुता पनि नहुने भएको भन्दै आफन्त र परिवारलाई ढुक्क हुन फोन गरिरहेको बताइएको छ ।

उता अख्तियार स्रोतले भने प्रकाशित गरिएको नतिजा र जफ्त गरी लिइएका कागजपत्र एकेक गरी केलाएर हेर्ने काम भइरहेकाले बाहिर केही बोल्न नहुने बताएको छ ।

प्रकाशित त्रिवि सेवा नतिजामा नातावाद, कृपावाद र राजनीतिक भागबण्डा भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले सोमवारदेखि त्रिवि सेवा अध्यक्ष तथा सम्बन्धित सबै कार्यालयमा तालाबन्दी गरेको छ ।