बालुवाटारपछि माफियाका आँखा सिंहदरवारतिर

बालुवाटारपछि माफियाका आँखा सिंहदरवारतिर

काठमाडौं । देशकै कार्यकारी प्रधानमन्त्रीको निवास रहेको बालुवाटारको सरकारी जग्गा सरकारकै मिलेमतोमा हडप्ने र नामसारी गर्ने सिलसिलामा सत्ताधारी नेकपाका पार्टी महासचिव विष्णु पौडेलसमेतको संलग्नता सप्रमाण फेला परेपछि माफियाको ग्य्राण्ड डिजाइन सतहमा आएको छ । प्रधानमन्त्री, मन्त्री तथा सरकारी नेकपाका नेताहरुको आफन्तहरु तथा नेता र नजिकका कार्यकर्ता माफियाको सञ्जालमा संलग्न रहेका छन् ।

यो माफिया सञ्जालको सबिस्तार पोल खुल्ने क्रममा बालुवाटारको प्रधानमन्त्री निवास नै व्यक्तिको नाममा रहेको रहस्योद्घाटन हुन पुगेको छ । हाललाई बालुवाटार बेचिएको कुरा निकै गुचूप राखी निरन्तर अघि बढाइएका माफियाका कर्तुतहरु देशकै राजधानी सहरमा रहेको एक मात्र खुल्ला मञ्च (टुँडीखेल) लाई ‘स्वच्छन्द बिकोई बिल्डर्स’ लाई ५२ वटा सटर बनाएर भाडामा दिने नाममा निजीकरणको प्रक्रिया सुरु गरिएपछि अझ खुलस्त हुन आएको छ । यी सटरहरु निर्माण गरी भाडाका लागि आह्वान गरिसकिएको छ ।

रत्नपार्कको छेउँमा रहेको पुरानो बसपार्क यसअघिका सरकारी माफियाहरुले बेचेर खाइसकेका छन् । गोंगबुमा बनेको बसपार्कलाई ‘नयाँ बसपार्क’ र रत्नपार्कमा रहेको बसपार्कलाई ‘पुरानो बसपार्क’ भन्ने गरिएको थियो । तर यो पुरानो बसपार्क माफियाहरुको हातमा पुगी बाँडीचुँडी भएको वर्षौ भइसकेको छ । पुरानो बसपार्क मासेर माफिया मोटाउँदै गर्दा त्यहाँको ‘बस स्ट्याड’ खुलामञ्च (टुँडीखेल)मा सारिएको थियो । र, टुँडीखेलको आधा भागमा वर्षौदेखि अस्थायी बसपार्क चलाइएको छ । अहिले त आधा मात्र बाँकी रहेको उक्त खुलामञ्च पनि माफियाको चलखेलमा सुम्पिई ५२ वटा सटर बनाई निजी भाडामा दिन आह््वान गरिएको छ ।

स्थानीय जनताका अनुसार ‘राष्टियकरण’ गरिएका भनिएका राणा तथा राजाहरुका महल तथा जग्गाहरु यी माफियाहरुले दनादन निजीकरण गर्न सरकारी कागजहरु मिलाउने प्रक्रिया अघि बढाइरहेका छन् । माफियाकरणसँगै मालपोत कार्यालयहरु सरकार तथा सरकारी नेताहरुका घरमा रातारात चल्ने र लालपूर्जा वितरण गरिने गरिइरहेको थाह हुन आएको छ । नक्सापास, कित्ताकाट, नक्सानाप तथा पैसाको चलखेल रातारात नेता तथा विशिष्ट कर्मचारीका निवासहरुमा हुने गरिरहेको स्रोतले बताएको छ ।

यतिले मात्र नपुगी माफियाहरु सिंहदरवार परिसर र यसको क्षेत्रफल कहाँ कहाँ कटाउन र घटाउन सकिन्छ भनी प्राइवेट नापनक्सामा तल्लिन रहेको खुलासा हुन आएको छ । यी माफियाहरु स्वयम् सरकारी र उच्च ओहदाका भएका र रिपोर्ट पनि तिनीहरुलाई नै गर्नुपर्ने भएकाले यिनका सिंहदरवारभत्रका जग्गा किनबेचका कुराहरु सुनेर ड्युटीमा खटेका सुरक्षाकर्मीहरु पनि बाक्कदिक्क हुने गरेका छन् ।

सिंहदरवारभित्र आजभोलि सेवाग्राही जनता होइन, माफियाहरुको भेला र जमघट बढी हुने गरेको छ । स्रोतका अनुसार भूकम्पले कमजोर बनाएको बहानामा सिंहदरवारभित्रका मन्त्रालय भवनहरु अग्लाअग्ला बनाएर कम्प्लेक्सका रुपमा तीनचारवटा मन्त्रालयहरु एउटै भवनभित्र चलाउने र सिंहदरवारको परिसर निजीकरण गर्ने सल्लाहमा सरकारी माफियाहरु रातोदिन लागि परिरहेका छन् ।

भनिन्छ, माफियाहरुले यी कामहरु अबका ४ वर्षभित्र जसरी पनि फत्ते गरिने भनी जग्गा हडप्ने, नक्सा पास गर्ने, कित्ताकाट गर्ने तथा आपसमा बाँडफाँड र भागबण्डा गर्ने काममा निकै तिब्रता दिइरहेका छन् । स्थानीय जनताले अपराध अनुसन्धान व्युरोलाई यी कुराहरु समयमा नै दिलाएर सतर्क बनाएका छन् ।

तर सरकारी माफियाका विभिन्न गिरोहहरु यस अतिरिक्त सार्वजनिक संस्थानका जग्गा, सार्वजनिकस्थल, मन्दिर, गुम्बा र चैत्य, विश्व सम्पदा र पानी घाट तथा चिहानघाटहरु हेर्दै र दर्ता गर्दै, मूर्ति चोर्दै र बिक्रि गर्दै हिंडिरहेका छन् । ठमेल क्षेत्रपाटी नजिक रहेको स्मसान घाट र सार्वजनिक जग्गामा हाल ‘छायाँदेवी कम्प्लेक्स’ निर्माण गरी स्थानीय जनताको स्मसान घाट नै यी माफिया गिरोहले खाइसकेका छन् ।

देशव्यापी रहेको सरकारी माफियाको यो जालोले विदेश पठाउने नाममा मानव तस्करी गर्ने, सदरमुकाम र एयरपोर्ट निर्माण गर्ने नाममा चारकोसे लगायतका देशभरका जंगल फँडानी गर्ने, खुल्ला र सार्वजनिक जमिन बेच्ने, नदीनाला र ताल तलैया बेच्ने, जडीबुटीको तस्करी गर्ने, रक्तचन्दनको निकासी पैठारी गर्ने, सुन ओसारपसार गर्ने आदि काम गरिरहेको छ ।

यथार्थता बुझ्न र सरकारलाई रिपोर्ट गर्न गोप्य अनुसन्धानमा लागि परिरहेको नेपालको अपराध अनुसन्धान ब्युरो (सीआइबी) सरकारी मन्त्रीहरु, सरकारी कर्मचारीहरु, सरकारी मानिसहरु, सरकारी पार्टीका उच्च ओहदाका नेताहरु तथा पहुँचवाला माफिया र डनहरुको संलग्नता देखेर आश्चर्यचकित भएको छ । उसलाई ‘नखाउँभने दिनभरिको सिकार खाउँभने बाबुको अनुहार’ भएको छ