देजमो ३ नं. प्रदेशले बुझायो नारा जुलुससहित मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ बैशाख १६

हेटौडा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले भव्य नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालय हेटौडामा ज्ञापन पत्र बुझाएको छ । मोर्चाका ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको नेतृत्वमा नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालयमा पुगेको टोलीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रीत गरी तयार पारिएको २५ बुँदे ज्ञापन पत्र बुझाएको हो । टोलीले मोर्चाले यसअघि प्रधानमन्त्रीलाई बुझाएको ९४ नं. बुँदे ज्ञापन पत्रको कार्यान्वयनका निम्ति पनि प्रदेशमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री डोरमणी पौडेल चीन भ्रमणमा रहेकोले टोलीले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका गृह तथा कानुन मन्त्री शालिकराम जमरट्टेललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउने कार्यक्रमको सञ्चालन तथा मोर्चाको ज्ञापनपत्र शिव श्रेष्ठले प्रस्तुत गरेका थिए भने ज्ञापन पत्रमा समेटिएका मागहरुका विषयमा बोल्दै मागहरु अविलम्ब पूरा नगरिए संघर्षमा उत्रन बाध्य हुने चेतावानी दिएका थिए ।  जवाफमा मन्त्री जमरकट्टेलले सरकारले कर्मचारीतन्त्रले साथ नदिएका कारण केही पनि गर्न नसकेको र मोर्चाले बुझाएका प्रायः सबै मागहरु जायज र आवश्यक हुँदा हुँदै पनि ती मागहरु पूरा गर्न गराउन सकिने बातावरण नरहेको बताए ।

हेटौडाको बुद्ध चोकबाट सरकारका विरुद्ध चर्का नाराबाजीसहित निस्किएको ¥याली मुख्यमन्त्रीको कार्यकक्षसम्म पुगेको थियो । भित्र टोलीले ज्ञापन पत्र बुझाउँदै गर्दा बाहिर भने सरकारका विरुद्ध चर्का नाराबाजी जारी थिए । कार्यक्रममा मोर्चाका केन्द्रीय नेताहरु अम्बिका मुडभरी, फुर्वा तामाङ, इन्दिरा अधिकारी, अशोक शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।