बैतडीका विभिन्न स्थानमा असिनाले गहुँबाली नष्ट 

प्रकाशित मिति : २०७६ बैशाख १०

- धनन्जय अवस्थी

बैतडी बैशाख ९ बैतडीका विभिन्न स्थानमा असिनाले गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा ठूलो मात्रामा क्षति पुर्याएको छ । आइतवार बेलुका परेको असिनाले पञ्चेस्वर दशरथचन्द नगरपालिका, पाटन नगरपालिकाका विभिन्न स्थानमा असिनाले क्षति पुर्याएको देजमो बैतडी का संयोजक हजारी चन्दले बताए ।

पाक्नै लागेको गहुँमा क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् । गहुँमा क्षति पुर्याएपछि भोकमरी चिन्ता बढेको पञ्चेस्वर गाउपालिका–५ गिरेगाडाका हजारी चन्दले बताए । तरकारी तथा फलफूलका बेर्नाहरु नष्ट भएका छन् ।

यस्तै, पाटन नगरपालिकाका विभिन्न स्थानमा परेको असीनाले गहुँ, फलफूल र तरकारी बालीमा क्षति पुर्याएको स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए । हिउँदे वर्षाले यस वर्ष गहुँ सप्रेको भए पनि असिनाले क्षति पुर्याएको छ ।

यसअघि वैशाख ६ मा परेको असिनाले बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा गहुँ बाली नष्ट गरेको थियो ।