नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतमा लेनिन जयन्ती भव्य रुपमा सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतमा लेनिन जयन्ती भव्य रुपमा सम्पन्न

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतले १४९ औं लेनिन जयन्ती तथा नपाल कम्युनिष्ट पार्टी स्थापना दिवस सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

नेता लेनिनको फोटोमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा उपस्थित अतिथिहरुले आआफ्नो मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथि तथा स्थायी समिति सदस्य रामसिंह श्रीसले नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षिय इतिहासमा आएका उतारचढाब तथा एकता र फुटका श्रृंखलाहरुको सिलसिलेवार व्याख्या गर्दै नेपाल कम्युनिष्ट पार्टीले यो लामो संघर्षको इतिहासमा उल्लेखनीय वर्गसंघर्षका कामहरु पनि गरेको बताएका छन् ।

श्रीसले हाल ७० वर्ष व्यतित हुँदै गर्दा अबका कम्युनिष्ट आन्दोलन विकसित नयाँ परिस्थितिमा यसका विशिष्टतासहित अघि बढ्ने कुरामा जोड दिएका छन् । नेपाली भूमिमा मार्क्सवाद–लेलिनवाद–माओवाद वा विचारधारालाई कसरी वैज्ञज्ञानिक ढंगले लागू गरेर नेपालमा क्रान्ति सम्पन्न गर्न सकिन्छ, त्यही खोज, अनुसन्धान र प्रयोगमा आफूहरु रहेको कुरामा जोड दिएका छन् ।

त्यसै गरी अर्का अतिथि तथा प्रदेश नम्बर ६ का सचिव चक्रपाणी शर्माले लेनिनको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै लेनिनले मार्क्सवादलाई केवल रुसी भूमिमा मात्र प्रयोग नगरी एक सार्वभौम विचारको समेत विकास गरेको कुरामा जोड दिएका थिए ।

उनले थपे– लेनिनवाद र यसको विद्रोहात्मक कार्यदिशा विश्वमा यसरी स्वीकार गरियो कि लगभग आधा विश्वमा कम्युनिष्ट सत्ता स्थापना हुन गयो । लेनिनको यो ऐतिहासिक कार्यले मार्क्सवाद केवल शास्त्रीय मात्र नभएर यो विज्ञान पनि हो भन्ने कुरा आफैमा सिद्ध हुन गयो ।

कार्यक्रम सुर्खेतका सचिव कमरेड श्याम कार्कीको अध्यक्षतामा भएको थियो ।