ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) ले लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ललितपुरको कुपण्डोलमा एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
कार्यक्रमको सञ्चालन र अध्यक्षता ग्रहण पछि अतिथिहरुको क्रमशः आशन ग्रहणलगत्तै महान् वीर शहीदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । यस लगत्तै उपस्थित अतिथि तथा सहभागीहरुबाट बहुआयामिक व्यक्तित्वका धनी तथा नेता लेनिनको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको औपचारिक घोषणा पश्चात् अतिथिहरुले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाली कम्युनिष्ट आन्दोलन र लेनिनका विचारहरुमाथि प्रकाश पार्दै लेनिनको अगुवाइमा भएको अक्टुबर क्रान्ति विश्वभरका सार्वहारा तथा उत्पीडित जनताको विजयको दिन भएको स्मरण गरेका थिए ।
लेनिनले मार्क्सवादलाई माथि उठाउन र मार्क्सवाद–लेनिनवादको मञ्जिलमा पुर्याउन सार्वभौम योगदान गरेको उल्लेख गर्दै अहिले पनि लेनिनका कृतिहरु बढी अध्ययन गरिनु पर्ने र आफूहरुलाई सचेत र स्पातिलो बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट र ध्रुवीकरणको बीचबाट नै अघि बढ्दै आउने गरेकाले जनयुद्धको सेटब्याकपछि भएको अकल्पनीय टुटफुट अब क्रान्तिकारी ध्रुवीकरणतिर सोझिइरहेको कुरामा जोड दिएका थिए । महसचिव किरणले टुटफुट र जीवनमरण जीवनका प्रक्रियाहरु भए पनि एकता, संघर्ष र रुपान्तरणका ठाउँमा अहिले एकता, संघर्ष र फुट नै बढि हुन गइरहेको देखिन्छ ।
कमरेड माओले इतिहासको संश्लेषण गरे झैं अब एकता, संघर्ष र फुटपछि हुने गरिहेको नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीहरुमा रहेका क्रान्तिकारीहरु एकता, संघर्ष र फुटपछि हुने नयाँ ध्रुवीकरणलाई अघि बढाउनु जोड दिनु जरुरी रहेको कुरामाथि प्रकाश पारेका थिए ।
अर्का अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष तथा पार्टी स्थायी समिति सदस्य सीपी गजुरेलले लेनिन र विश्व कम्युनिष्ट आन्दोलनमाथि प्रकाश पार्दै रुसी क्रान्ति विचारका हिसाबले विश्व क्रान्ति थियो भन्ने कुरामा जोड दिएका थिए । रुसमा महान अक्टोबर क्रान्ति समपन्न भएलगत्तै लेनिन दोस्रो अन्तर्राष्ट्रिय गठनमा कम्मर कसेर लागेको कुरा स्मरण गराउँदै अन्तर्राष्ट्रियले रुसी अक्टोबर क्रान्ति र यसको ऐतिहासिक विजयलाई संसारभर फैलाएको कुरामा जोड दिएका थिए ।
लेनिन गोली लागेर सख्त घाइते भएको बेलामा पनि अन्तर्राष्ट्रिय संगठन गठन र समाजवादको प्रचारमा अविराम लागिरहनु भयो भन्दै गजुरेलले क्रान्तिकारीहरुमा थकाइ नआउने कुरामा जोड दिए । माओको पालामा लेनिनवादले थप नयाँ उचाइ पाएको भन्दै गजुरेलले माओपछि पनि विश्वमा भियतनामदेखि पेरु र नेपालसम्मका माओवादी आनदोलनहरु भएको कुरामा प्रकाश पारेका थिए ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अबसरमा मन्तव्य राख्ने क्रममा अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव शारदा महतले लेनिनको पथप्रदर्शन र लेनिनवादी वैचारिक आलोकमा नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरण गर्दै नेपाल कम्युनिष्ट पार्टीले पटकपटक आनदोलनहरु अघि बढाएको कुरामा प्रकाश पारेकी थिइन् ।
पछिल्लो पटक भएको नेपाली माओवादी जनयुद्ध तात्कालीन पार्टीको मूल नेतृत्वले धोखा दिएर गद्दारी गरेपछि पूर्णतामा जान नसकी धक्का खान पुगेको कुरा कोट्याउँदै महतले अबका दिनका ती सबै कुराहरुबाट पाठ सिकेर आन्दोलन अघि बढाउने कुरामा जोड दिइन् । यसका अनुसार त्यसका लागि पार्टी सशक्त बन्दै र बनाउँदै यसको मातहतमा सेना तथा संयुक्त मोर्चाका साथै जनवर्गीय संगठनहरु तथा मञ्चहरु देशव्यापी विस्तार गरिनु पर्ने कुरामा जोड दिएकी थिइन् ।
कार्यक्रमका अध्यक्ष पवनमान श्रेष्ठले समाजमा वर्ग रहेसम्म वर्गसंघर्ष चलिरहने बताउँदै विश्वमा अहिले पनि धेरै देशहरुमा वर्ग संघर्ष चलिरहेको कुरामा जोड दिए । यस्तो अवस्थामा क्रान्तिकारीहरु ध्ुवीकृत भई फेरि क्रान्ति उठानमा लाग्नु पर्ने बताए । कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) पीबीएम् राम आचार्यले गरेका थिए ।