क्षतिपूर्तिसहित असमान त्रिपक्षीय सन्धिहरुको खारेजी चाहन्छ ब्रिटिश गोर्खा

प्रकाशित मिति : २०७६ बैशाख १०

- डम्बर याक्सो

गोर्खा भर्तीबारे कही भनिदिनोस् न ।

सुरुमा गार्खा ब्रिटिश भर्ती हाम्रो लागि सामान्य जस्तै लागेको थियो । तर हाम्रा पितापूर्खालाई अपहरणको शैलीमा लगिँदो रहेछ । गाउँघरबाट भगाएर, चोरेर लगिँदो रहेछ । झुक्याएर पनि लगिएको रहेको छ । त्यतिबेला ब्रिटिश इण्डियामा थियो, कम्पनी सरकारका रुपमा ।
यसको पृष्ठभूमिमा नेपालीहरुको शुरवीर र लडाकुपन नै कारक थियो । इण्डियामा आउँदा ब्रिटिशहरुले नेपालमाथि पनि आक्रमण गरे । हाम्रा पूर्खाहरु नालापानी, किल्ला काँगडा र तिष्टाका किल्लाहरुमा निकै बहादुरीका साथ लडे । उनीहरुलाई लाग्यो, नेपालीहरुलाई आक्रमण गरेर जित्न नसकिंदो रहेनछ । बरु उनीहरुलाई हाम्रो सेनामा भर्ती गराएर लडाउनु पर्छ भन्ने सोच बनेको देखिन्छ ।

इतिहासमाथि थोरै प्रकाश पारिदिनोस् त ।

लडाइँका बेलामा पनि धेरै गोर्खालीहरुलाई युद्धबन्दी बनाएर लाहोरमा राखेको रहेछ । अहिले लाहोर पाकिस्तानमा पर्छ । तर सिंगो इण्डिया हुँदा अंग्रेजका पालामा यो इण्डियामा थियो । त्यसरी लिएका युद्ध बन्दीहरुलाई काम गराउने र लडाइँमा लेजाने गर्दा रहेछन् । त्यतिबेला कानुन पनि थिएन, जेनेभा कन्भेन्सन पनि बनेको थिएन ।

जसरी पनि र जे काममा पनि ती युद्धबन्दीहरुलाई लगाइन्थ्यो । तर लगाइएको कामका निकै राम्रो काम गरेका र इमान्दारिता देखाएका हुँदा र नेपालमाथि विजय पनि हासिल गरिनसकेका हुँदा ती युद्ध बन्दीहरुलाई उनीहरुले फौजमा लिएर आर्मीमा परिणत गरे ।

आर्मीमा परिणत गरिसकेपछि उनीहरुले के नाम वा परिचय दिने भनेर सोचेको पनि देखिन्छ । उनीहरुले द्रव्य शाहको गोर्खा सेना थियो । त्यही गार्खा सेनाको मद्दतले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए । त्यो गोर्खा सेनाको नाम नेपालमा पनि टुटिसकेको थियो । तर ब्रिटिशहरुले बनाएका नेपाली सेनालाई गोर्खा भनेर नामाकरण गरे । यही गोर्खा सेनाका नाममा नेपाली पल्टन चलाए ।

गोर्खा भर्तीमा कुन जाति बढी लिने गर्दथ्यो ?

ब्रिटिशले यही गोर्खाली पल्टनको बहादुरीपूर्ण लडाइँ र विजयले संसार कब्जा गर्यो । पहिलो र दोस्रो विश्व युद्धमा नेपाली वा गोर्खाली फौजहरुको निकै प्रयोग पछि पनि यिनीहरुले गोर्खाली सेनाको भर्ती लिन छाडेनन् । समय पनि परिवर्तन भइसकेको थियो ।

उपनिवेशविरुद्धमा आन्दोलनहरु संसारभर चलिरहेका थिए । ब्रिटिशले भारत छाड्नुपर्ने भयो । त्यतिबेला उनीहरुले त्रिपक्षीय सन्धि वा सहमति बनाएर गोर्खा भर्ती जारी राखिरहे ।

हामी अहिले पनि त्यही त्रिपक्षीय सन्धि अनुसार गार्खा भर्तीमा गइरहेका छौं । यसमा पनि जातिय हिसाबले विशेष गरी राई, लिम्बु, मगर र गुरुङहरुको भर्ती धेरैजसो थियो । मेरा बाबा पनि यही निरन्तरतामा लाहुरै हुनु भएको थियो । पछि म पनि ब्रिटिश गोर्खा आर्मीमा भर्ती भएर गएँ । मेरो पनि ब्रिटिश आर्मीमा भर्ती हुने आशय रहेकाले भर्ती भए । मैले त्यो चलनलाई स्वीकार गरी ब्रिटिश भर्तीमा गएँ ।

ब्रिटिशले उपयोग गरेको कसरी थाह पाउनु भयो ?

म पेन्सनमा घर आए, सन् १९९८ मा । त्यस बेला नेपालमा गेसोको संगठन थियो । मेरो जिम्मेवारी ललितपुर जिल्लाको थियो । म केन्द्रीय सदस्य पनि हुँ, त्यतिबेला । साथीभाइरहरुसँग मिलेर केही क्याम्पेन पनि गरे । त्यसपछि धेरै कुराहरु बुझ्दै गए । दाजुभाइहरुसँगको हेलमेल र पाएको अवसरको कारणले धेरै कुराहरु बुझियो पनि ।

हाम्रा बाउबाजेहरुलाई लडाइँमा निकै प्रयोग गरे र लडाइँ सिद्धिएपछि खाली खुट्टा घर फर्काए । मेरो बाउको जम्मा १६ रुपैयाँ पेन्सन थियो । त्यो नगन्य थियो । यो कुरालाई बुझेर जब गेसोको आन्दोलन सुरु भयो, त्यहाँदेखि मैले सुन्ने र बुझ्ने मौका पाएँ ।

पत्रपत्रिकामा चासो पनि बढ्यो । अहिले त फेस बुकको पनि निकै चल्ती छ । अहिले कुरा बुझ्दै जाँदा थाह भयो कि ब्रिटिशले नेपालीहरुलाई निकै साह्रो शोषण गरेको रहेछ । केही थोरै उदाहरण मात्र लिंदा पनि थाह लाग्छ कि युद्धकालमा बर्मामा एक बटालियन जति ब्रिटिश गोर्खा बसेको थियो । त्यसमाथि जापानले आक्रमण गर्यो । वरिपरि घेरा मारेर बीचमा हवाई आक्रमण गर्यो ।

त्यतिबेला तहसनहस भएर भाग्दा परतिर रहेको मन्डाले नामको खोला रहेछ, त्यही खोलामा गोर्खाहरु गए, तर त्यो खोला तर्ने पुल नै दुस्मनले ध्वस्त पारिदिएको रहेछ ।

त्यो भएपछि खोलामा हाम फाल्नु भन्दा अर्को विकल्प थिएन । हाम त फाल्ने हो, तर त्यहाँ गोर्खाका केटाकेटी र बच्चाबच्चीहरु पनि थिए । ती त हाम फाल्न सक्ने भएनन् । खोलामा नौजवानहरु हाम फालेर परिवारहरु तार्ने क्रममा एम्बुस थापेर बसेका जापानीहरुले जति पनि नेपालीहरु खोलामा पसेका थिए, ती सबैलाई गोलीले भुटे ।

भुट्दा खेरी त्यो खोला नै रगतले रातो भएर बग्यो । भाग्यले बचेका केही गोर्खाहरु, घाइतेहरु खोला पारीको जंगलभित्र लुके, ओढारमा बसे । घाइतेहरु कति मरेर गए, बाँचेकाहरु पनि अन्यत्र जान सकेनन् । घर फर्कने कुरा त गर्दै नगरौं ।

 महायुद्धमा गोर्खालीले निकै नै दुख पाए ?

जापानले तहसनहस बनायो, ब्रिटिशले छाड्यो । बाँचेकाहरुको जीवन अस्तव्यस्त भयो । भनिन्छ, त्यहाँ केही ब्रिटिशहरु पनि थिए । तर ती ब्रिटिशहरुलाई ब्रिटिश सरकारले खोजी गरेर घर फिर्ता गर्यो । वर्षौ पछाडी पनि खोजेर लग्यो, तर हामी गोर्खालीहरुको खोजी कसले गर्ने ? गोर्खालीहरुलाई न त नेपाल सकारले खोजी गर्यो, न त ब्रिटिश सरकाले नै ।

ती तहसनहस भएर बसेका नेपालीहरु त्यहीं रहनुको कुनै पनि विकल्प रहेन । ती मानिसहरु अहिले त बूढा भएर मरे । उनका त्यहाँ रहेका सन्तानहरु अहिले आफूहरु नेपाली भएको पनि भुले, नेपाली भाषा, संस्कृति, भेषभूषा र पहिचान पनि बिर्सिए । अहिले केही थोरै नेपाली बर्मेलीहरु टुटेफुटेको नेपाली बोल्ने गर्दछन् ।

नेपालीले उनीहरुको देश गुमाए, उनीहरुको पहिचान गुमाए, संस्कृति गुमाए, भाषा र भेषभूषा गुमाए । उनीहरुले सम्पूर्ण कुराहरु गुमाए । उनीहरुलाई भोलिका दिनहरुमा बर्माले खेदाउन पनि सक्छ । शरणार्थी बनाउन पनि सक्छ । तर नेपालले खोजी गरिरहेको छैन । योभन्दा ठूलो अन्धकारमय भविष्य, दुःख पीडा अरु के हुन सक्ला ?

यो त एउटा देशको उदाहरण मात्र हो । यस्ता घटना विश्वका ४३ वटा देशमा भएका छन् । बर्मा, फिजी, इटली, सिसिली, जर्मनी आदि देशहरुमा छरिएर रहेका छन् । यस्तो अत्याचार पूर्ण हालतमा ब्रिटिशले नेपालीहरुलाई प्रयोग गरिरहेका छन् ।

नेपालका तात्कालीन शासकहरुले पनि खोजी गरेनन् । हाम्रा पितापूर्खाहरु पनि खोजी गर्ने अवस्था र हैसियतमा रहेनन् । पछिल्लो पिंढीका हामीहरुले पढेर, सुनेर बल्ल जानेका र बुझेका छौं यी कुराहरु । हामी केही जान्ने बुझ्नेका लागि यस्तो व्यवहार त पशुलाई पनि गरिँदैन । यसैका आधारमा हामीहरुले भनिरहेका छौं– यो माग गरेर कि हामी गार्खाहरुलाई त्यसको क्षतिपूर्ति दिनु पर्छ ।

अरु कस्ता मागहरु राख्न चाहनुहुन्छ ?

हामीहरुलाई हाम्रा बाजे बराजुहरुदेखिको क्षतिपूर्तिका साथै केही ‘टाइम फ्रेम’ देखिको यताका पुस्तालाई भने ब्रिटिशसरह सेवा सुविधा र क्षतिपूर्ति दिनु पर्दछ । उसले हामीले उठाएका प्रश्नहरुको जवाफ दिनु पर्छ नै ।

यस्तो प्रश्न नेपाल सरकारका लगि पनि उत्तिकै सत्य हो कि नेपाल सरकारले त्यसको सोधीखोजी किन गरेन ? पहिलो महायुद्धताका पनि तात्कालीन नेपाली शासक र ब्रिटिश सरकारका बीचमा केही न केही सहमति वा संझौता त भयो होला नै । मौखिक होस् वा लिखित, त्यसको आधिकारिकता खोइ ?

असमान त्रिपक्षीय सन्धीबारे बताइदिनोस् न त ?

दोस्रो महायुद्धपछि पनि ब्रिटिश, नेपाल र भारतका बीचमा त्रिपक्षीय सम्झौता भएको उल्लेख छ । यसको बारेमा पनि जानकारी हुनु जरुरी छ । द्विपक्षीय, त्रिपक्षीय वा बहुपक्षीय सन्धि नै भए पनि त्यसअनुसार सर्तहरुको पालना वा आधिकारिकता त जरुरी छ । त्यसको नवीकरण जरुरी छ कि छैन ? विना आधार किन ढुक्क भएर बसेका त ? यो त समयअनुसार बदलिंदै जानु पर्छ । यदि यही सन्धिको बहाना बनाएर ब्रिटिशले हामीहरुलाई ठगिरहेको छ भने यो खारेज हुनु पर्छ ।

गेसोमा रहँदा पनि धेरै कुराहरुको उठान गरिएको छ । हाल गेसोले यी मागहरुमा त्यति चासो गर्न छाडेपछि हामी बिगेसोमा आबद्ध छौं । गेसोका साथीहरुले सत्याग्रहका कामहरु गरिरहेका छन् । गेसो, जीडब्ल्यु एस् आदिले उठान गरेका सबै कुराहरु गार्खालीहरुका लागि हो । तर बिगेसोले त्यो परम्पराभन्दा अलि माथि उठेर एजेण्डाहरुको उठान गरेको छ । विगतमा गेसोले उठाएका गोर्खा र गोर्खा आर्मीका

सेवासुविधाका कुराहरु अंशमा देखिन्छन् । तर हामीहरुले सन्धिसंझौताको इतिहासदेखि क्षतिपूर्तिसम्मका कुरा गरेका छौं । यो भनेको कुरा पूर्णतामा उठाइएको हो । गेसो र अन्य संगठनहरुमा आवद्ध साथीहरुले अंशमा वा हाँगाबिंगा, पात वा फलफूलहरुमा कुरा उठाउँदा हामीले जरा, फेंदहुँदै टुप्पोसम्मका सबै कुरा समग्रमा उठाएका छौं ।

सिंगापुर र कतार गोर्खा भर्ती के हो ?

क्षितिजीय आकारका हिसाबले पनि हामीले उठाएका कुराहरु ब्रिटिश, इण्डिया र नेपालका कुराहरु मात्र सिमित छैन । हामीले सिंगापुर पुलिसमा नेपालीहरुको भर्तीको कुरा के हो भनी उठाएका छौं । साउदीमा पनि नेपाली भर्ती लिने गरिरहेको छ । उता जीआरयुको कुरा पनि छ ।
सिंगापुरको कुरा गर्दा ब्रिटिश नेपाल वा इण्डियासँगको जस्तो कुनै सन्धि वा सहमति पनि छैन । भर्ती गर्दा ब्रिटिश आर्मी भनेर भर्ती लिन्छ, तर पठाउँछ सिंगापुरमा । यो के हो ?

ब्रिटिशको भन्दा निकै कम संख्या सिंगापुरमा लैजान्छ । त्यहाँ लगेर म्यान पावर सप्लाइ गरिरहेको छ । यो म्यानपावर सप्लाइ गरेको बापत ब्रिटिशले सिंगापुरबाट रेमिटेन्स पाउँछ । यसबारेमा नेपाल सरकार किन चूप लागिरहेको छ वा नेपालको सरकारको यो मामलासँगको साइनो के हो ?

ब्रिटिश सिंगापुरको बीचमा बिजनेस कन्ट्रयाक्ट हुन सक्छ । तर सरकारको यसबारेमा धारणा के हो ? यो मानव बेचबिखन तथा ओसारपसारको कुरो हो त । नेपाल र सिंगापुरबीचमा यो बारेमा के छ समझदारी वा कुराकानी ? त्यसै गरी सिंगापुरको बारेमा ब्रिटिश र नेपालको बीचमा पनि कुनै सहमति त छैन । यो हाम्रो गम्भीर कन्सर्नको विषय हो ।

हामीलाई थाह भएअनुसार सिंगापुरमा नेपालीहरु पठाएबापत बेलायतले निस्चित रकम पाउँछ । यसको ठूलो हिस्सा आफूले राखेर थोरैमात्र सिंगापुरे लाहुरेहरुलाई दिने गर्दछ । आखिर यो रकम न नेपालले पायो, न त नेपालीले पाए । यसरी नेपाली बेचिदा नेपाल सरकार चूपचाप छ । सामान्य तर्क हुन सक्छ ब्रिटिशमा गएर रोजगारी त पाएका छन् । बेलायतमा तीनहजारभन्दा बढी छन् । सिंगापुरमा पनि होलान् । तर तीन करोड जनतामा एकदुई जनाले नोकरी पाउनु त कुनै पनि ठूलो कुरा हो जस्तो लाग्दैन ।

 सिंगापुर गोर्खालाई अन्याय नै परेको छ त ?

सिंगापुरमा तलब नै कमी छ । त्यसमा पनि उनीहरुको तलब काटेर पेन्सन दिन्छ । त्यसमध्ये केही रकम ‘होम रन’ अथवा घर फर्कंदाका लागि भनेर राखिदिन्छ । अन्याय त छ नि त । अलिकति दियोे, ड्युटी पठायो, भइरहेको छ । सिंगापुरे साथीहरुसँग हाम्रो कुरा छ यदि यसलाई निरन्तरता दिने हो भने ब्रिटिश, नेपाल र सिंगापुरका बीचमा केही न केही नयाँ सहमति वा संझौता त गर्नुपर्छ । मानव अधिकारका हिसाबले नत्र यो कुरा रोकिनु पर्छ । सिंगापुरले त हाम्रा नेपालीहरु बिनाआधार प्रयोग गरिरहेको छ ।

हाम्रा मान्छेहरु त मर्छन्, अलपत्र पर्छन् । सिंगापुरमा लाहुरेको जीऊ रहँदासम्म हो, श्रीमान मरेपछि श्रीमतीले पेन्सन पाउँदैन । उसको लाइफ पार्टनरलाई समेत् त्यो सुविधा छैन ।

सिंगापुरमा जाने फेमलीका लागि काम गर्ने कुनै ठाउँ पनि छैन र कामका लागि अनुमति पनि छैन । छोराछोरीहरुका लागि सेवासुविधा पनि छैन । कसरी त्यो परिवारको विकास हुन्छ त ? बिजोग भो त ? बूढेस कालमा नेपाल आएर के गर्ने ? त्यहाँ ब्रिटिशले पठाएको हो, यो जिम्मेवारी ब्रिटिशले लिनु पर्छ ।

के गरे सिंगापुरे गोर्खाले न्याय पाउलान् ?

सिंगापुरमा जन्मिएका नानीहरुलाई सिंगापुरे आईडी दिनु पर्छ, जसरी हङकङमा दिइएको छ । होइन भने ब्रिटिशले त्यहाँ पठाएकाले ब्रिटिशमा आवासीय भिसा दिनु पर्छ । यो विकल्प त होइन, तर जीवनको ग्यारेन्टी त हो त । पाउने र दिइने सेवा सुविधा हो त । यो ‘नहुनु मामाभन्दा कानो मामा निको’ भने झैं हो त । अर्को कुरा सिंगापुरमा पेन्सन पनि बढाइदिएको छैन ।

उमेर हदका हिसाबले सिंगापुरमा ४५ वर्षसम्म नोकरी गर्न पाइन्छ । यदि १८ वर्षमा सिंगापुरे लाहुरे हुने हो भने २७ वर्षसम्म निरन्तर त्यहाँको सेवा गर्दछ । तर २७ वर्षको नोकरीको हिसाबकिताब गरेको पाइँदैन । २७ वर्ष अर्काको गुलामी गर्नु भनेको सारा जीवन बिताउनु हो ।

युवा उमेरमा अर्काको गुलामी गर्ने र बूढेसकालमा घर फर्कंदा हबिगत के होला ? यो युवा पलायनको नीतिले निकै सताएको छ । यो राणाकालदेखि सुरु भएको हो । जब जनशक्ति पलायन हुन थाल्छ, त्यसपछि देशमा विकास कसरी हुन सक्छ ? हामी पूरै परनिर्भर भएर बाँचिरहेका छौं । सानोभन्दा सानो कुरा पनि विदेशी उत्पादनमा भर पर्नुपर्दछ ।

नेपाली विदेशिनुका बाध्यता अरु थप केही देख्नुहुन्छ ?

नेपालको प्राकृतिक स्रोत साधनहरुलाई नियाल्ने हो भने यसले सुनको थालमा भिख मागिरहेको छ । नेपालमा जे गरे पनि उन्नति हुने देखिन्छ । यहाँ त तदनुरुपमा सरकारी नीति र योजनाहरुको जरुरी छ । तर नेपालमा हाम्रो सत्ता कायम होस् भनेर उच्च जातिहरुले जनजातिका युवाहरुलाई विदेशमा पठाइरहेको छ । त्यसैलाई निरन्तरता दिइरहेको छ ।

पढ्ने लेख्ने पनि अवर नपाएपछि पछाडी पारिएको छ । स्वदेशमा काम गर्ने सीप र क्षमताको आवश्यकता छ । शिक्षामा पछाडि पारिएकाहरुका लागि विदेश जाने एकमात्र विकल्प छाडिएको छ ।

विदेश गएका लाहुरेहरुका लागि पनि कतै पनि जीवनको ग्यारेन्टी जस्तो त देखिदैन । ब्रिटिश लाहुरेहरुलाई ब्रिटिशमा बोलायो । प्रायजसो गए । भोलि गएर युकेमा जन्मेका नानीहरुले नेपाली भाषा त बोल्दैन । हाम्रो जेनेरेशन बितेपछि हाम्रा नानीहरुले नेपाली भाषा, संस्कृति, भेषभुषा सबै बिर्सन्छ । लाहुरेको जीवन बिडम्बना नै बिडम्बनापूर्ण छ ।

गोर्खा भर्तीमा एकदमै सेलेक्ट गरेर लान्छ । एकहजार जनामा केवल एकशय जना मात्र लान्छ । बाँकी ९०० जनाको लगानी, समय र आशा त खत्तम भयो । उसको शरीर खत्तम, समय खत्तम र पढाइ पनि खत्तम भएर जान्छ । उसको साथी आर्मीमा हुन्छ, ऊ विरक्त भएर रहन्छ । खाडी मुलुकमा गएर निराश हुन्छ । परिवार पाल्न सक्ने पनि अवस्था हुँदैन ।

(याक्सो बिगेसोका उपाध्यक्ष हुन्)