काठमाडौं । नेपाल पहिले कसैको पनि अधीनमा थिएन । यो स्वतन्त्र थियो । सम्झौताहरु त धेरै देशहरुसँग भएका थिए । ती संझौताहरु कोही असमान थिए र कोही सामान्य पनि । यसैका आधारमा नेपाललाई स्वतन्त्र देशको उपमा दिइँदै आएको थियो । यो नेपालीहरुको गौरवको विषय पनि थियो । विश्वमा धेरै धेरै देशहरु उपनिवेशको जाँतोमुनि पिल्सिदा नेपाल स्वतन्त्र रहनुमा भारत र चीनको भूमिका पहिले पनि उत्तिकै रहँदै आएको छ ।
भारतको भूमिका यस कारणले कि कम्तिमा पनि एउटा हिन्दु राज्य संसारमा बचिराखोस् । त्यसैले उनीहरुले अंग्रेजलाई नेपालमाथि हमला गर्न उस्काएको देखिदैन । धार्मिक युद्धको जमाना थियो । क्रिश्चियन र मुस्लिम हुनु भन्दा नेपाल हिन्दु भई भिन्द नै रहोस् भन्ने उनीहरुको आन्तरिक चाहना थियो । यसमा नेपालीहरुको वीरता र बलिदानले काम नै गरेको थिएन भन्ने होइन ।
तर अन्तर्राष्ट्रिय र अन्तरदेशीय अन्तरविरोधका हिसावले भारतीयहरुको हिन्दुत्वको स्वच्चता वा पवित्रताको हिसाबले केही काम गरेको पक्कै पनि थियो । यो कुरा मार्क्सवाद सम्मत छैन । तर गैर मार्क्सवादी मतले विश्वमा राज त गरिरहेकै छ ।
उता चीनले पानी ढलो र धार्मिक, सांस्कृतिक, जनसांख्यिक, रोटीबेटी अन्तरघुलनका हिसाबले नेपाललाई भारतसँग नजिक र आफूहरुभन्दा टाढा पहिल्यैदेखि देख्दै आएको पनि हो । भूबनोटका हिसाबले नेपाल स्वतन्त्र रहिराखोस् तर भारतीयहरु वा अंग्रेजहरुको पञ्जामा नपरोस् भन्ने मनसाय र कामना चीनले गर्दै पनि आएकै हो । यी दुवै सँधियार पनि रहँदै आएका छन् । चीन र भारत विश्वका दुई ठूला अर्थतन्त्र र महाशक्तिका रुपमा उदाउँदै गए पछि त अन्तरविरोध पनि नयाँ रुपमा विकसित हुँदै गयो ।
भारतका कारण चीनले पनि हस्तक्षेप गर्न नसक्ने र भारतले पनि चीनका कारण निल्न नसक्ने अवस्था स्वतः सिर्जना हुन गयो । यसले नेपाललाई भारत र चीनबीचको बफर स्टेटका रुपमा पहिचान बनाइदियो । अन्तरदेशीय र अन्तर महादेशीयका साथै अन्तर साम्राज्यवादी अन्तरविरोधका कारणले नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त सम्वेदनशील बन्न गएको हो ।
विश्व महाशक्तिका रुपमा चीनको उदयपछि त नेपाल अमेरिकी साम्राज्यवादको आँखाको तारो नै बन्न गयो । आजभन्दा साठी वर्ष पहिले अर्थात् २०१७ सालमा राजा महेन्द्रले राज्यको बागडोर आफ्नो हातमा लिएपछि राजनीतिक रुपमा अमेरिकी दादागिरी र आर्थिक तथा व्यवसायिक र कर्मचारीतन्त्रमा भारतको दादागिरी चल्दै आयो । अबको नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध स्वभावैले मूलतः त्रिपक्षीय र सामान्यत खुल्ला जस्तै हुन गयो ।
त्रिपक्षीय यसकारणले कि अमरिका, भारत र चीनको स्वार्थपूर्ण दृष्टिकोणहरु नेपालमाथि एकसाथ पर्न गए । महेन्द्रले निकै चतुर्याइँका साथ यो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको देखिन्छ । त्यतिबेला अमेरिका, भारत र माओकालिन चीनसँगको नेपालको सम्बन्ध राम्रै थियो यसारणले कि सम्बन्धहरु भर्खरै स्थापना भएका थिए र त्रिपक्षीय स्वार्थहरु परिपक्व र जुझारु पनि भइसकेका थिएनन् ।
अबको अबस्था बिल्कुल भिन्द भएर अघि बढेको छ । अमेरिकाले त्यतिबेला चीनलाई हेर्ने गरेको कलिलो दृष्टि अहिले निकै तिखो र अज्जरो बनेको छ । भारत र चीन पनि एकअर्कामा लगभग सबै कुरामा प्रतिस्पर्धा गर्ने परिपक्व अवस्थामा पुगिकेका छन् । अमेरिका अब नेपालको भूराजनीतिक संवेदनशीलतालाई आफ््नो मुट्ठीभित्र पार्न प्रयत्नरत छ ।
अहिले त अमेरिका नेपाली भूमिमा जमेर बसिसकेको छ । यसले भारत र चीनको स्वार्थमाथि निकै ठूलो धक्का पुर्याएको छ । अमेरिका, भारत र चीन नेपालमाथिको आफ्नो प्रभुत्व उनीहरुको अन्तर्राष्ट्रिय स्वार्थ वा क्षेत्रहरुको बाँडफाँड गरेर सन्तुलनमा राख्न चाहिरहेका देखिन्छन् । यसै सन्दर्भमा युरोपले आफ्नो स्वार्थ, खेल र भागबण्डा यी तीन शक्तिसँग खुलेरै गर्ने पनि गरिरहेको छ ।
यो बेलामा नेपालका घरेलु अन्तरविरोध नेपालकै आफ्नै पहल र पहुँचमा छैनन् । यी अन्तरविरोधहरु विदेशीका खेलका गोटीहरु बनिरहेका छन् । कसैले केपी ओली बाठो, कसैले पुष्पकमल दाहाल बाठो, अरु कसैले शेरबहादुर देउवा वा कमल थापा नै बाठो भनेर अज्ञानताको आत्मरतिमा रमाए पनि ती विदेशीका खेलका गोटी बनिरहेका छन् ।
यी नेपाली अनुहारहरुमध्ये कसैलाई अमेरिकाले, कसैलाई भारतले त कसैलाई युरोपले बोकिरहेका छन् । लडाइँ नेपाली अनुहारका बीचमा देखिए पनि सत्तामा जान कसका कुकुर लडिरहेका छन् भन्ने नै हो । ओली–दाहालको सरकार र सरकारी पार्टी नेकपा पूरै अमेरिकीकरण भएको छ ।
नेपालको असंलग्न परराष्ट्रनीति परित्याग गरी त्यसको सट्टा संलग्नताको परराष्ट्र नीति अबलम्बन गरी अमेरिकासामु लम्पसार परेको ओलीदाहालको सरकारले विश्वको यो चौमुखी हमला र दबाब थेग्नै सक्ने देखिदैन ।
वैश्वीकरणको वर्तमान नेपाली अन्तरविरोधमा क्रान्तिकारी शक्तिहरुबाहेक अरु राजनीतिक पार्टीहरु साम्राज्यवादी खेलका गोटीहरु नै बन्ने गर्दछन् । अहिले नेपाल विश्व अन्तरविरोधमा रुमलिएको छ ।