नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष, बाँकी नै छ ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार

नेकपा (क्रान्तिकारी माओवादी)ले आज विशेष कार्यक्रम गर्दै

प्रकाशित मिति : २०७६ बैशाख ९


काठमाडौं । २२ अप्रिल, १९४९ (बैशाख ९, २०७६)मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् २००६ साल बैशाख ९ गते रुसी समाजवादी क्रान्तिका महान नेता लेनिनको जन्म दिवसको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमीमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । महान् लेनिनले रुसी धर्तीमा माक्र्सवादको प्रयोग र समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सफल नेतृत्व प्रदान गरी विश्वमा नयाँ सन्देश दिन र विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई माक्र्सवाद–लेनिनवादका रुपमा विकसित तुल्याउन उल्लेखनीय योगदान गर्नु भएको थियो । ठीक लेनिनको जन्मदिवसकै दिन २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

प्रायः कम्युनिस्ट पार्टीले आज विभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती मनाउने गर्दछन् । पार्टी स्थापना दिवस तथा लेनिनको जन्म दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालयको आयोजनामा आजै ललितपुरको कुपण्डोल स्थित ३ नं. प्रदेश कार्यालय लगायत देशैभर विभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस माउने कार्यक्रम रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशको इतिहास एकातिर गौरवपूर्ण छ भने अर्कोतिर टुट, फुट विभाजन र आन्दोलनभित्र देखापरेका संशोधनवाद, नवसंशोधनवाद तथा दक्षिणपन्थी अवसरवादका कारण भीषण वर्गसंघर्ष र अपूर्व बलिदानका बाबजुद पनि आन्दोलनले लक्षित उद्देश्य हासिल गर्न सकेको छैन । यसर्थ अहिले पनि कम्युनिस्ट आन्दोलन भिन्न रुपमा जारी रहेको छ । वास्तविक र साँचो अर्थमा अहिले नेपालमा कम्युनिस्ट आन्दोलनको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी)ले गरेको छ । यो पार्टीले अहिले पनि नयाँ जनवादी क्रान्तिको आवश्यकतामाथि जोड दिंदै आएको छ । र, त्यही अनुसार क्रान्तिको तयारी समेत गरिरहेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेर्दा १५ सेप्टेम्बर १९४९ मा पार्टीको पहिलो घोषणापत्र प्रकाशित गरिएको थियो । त्यसमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा माक्र्सवाद–लेनिनवादको पथप्रदर्शनमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरूद्ध लोकजनवादी अर्थात् जनताको जनवादी क्रान्ति गर्नुपर्ने मान्यता प्रस्तुत गरिएको थियो । २००८ सालको राष्ट्रिय सम्मेलनमा पुष्पलालको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गरियो । तर २०१० सालको पहिलो महाधिवशनमा नयाँ जनवादी कार्यक्रमलाई हटाई संसदवादी तथा सुधारवादी कार्यक्रम पारित गरियो । मनमोहनलाई महासचिव बनाइयो र उनकै नेतृत्वमा २०१३ सालमा राजाको वैधानिक नायकत्वलाई स्वीकार गरियो । २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनमा नयाँ जनवादलाई सशक्त रुपमा उठाइएन । गणतन्त्रको नारा स्वीकार गरिए पनि राजावादी केशरजंग रायमाझीलाई महासचिव बनाइयो । २०१७ सालमा रचिएको राजाको फौजी काण्ड पश्चात् २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको आधारभूत कार्यक्रम र सर्वसत्ता सम्पन्न सार्वभौम संसदको मूल राजनीतिक कार्यनीति पारित गरियो ।

Activists of Communist Party of Nepal (Maoist) perform on a stage during a mass protest rally in Katmandu, Nepal, Saturday, May 1, 2010. Thousands of police in riot gear guarded the streets of Nepal’s capital Saturday where former communist rebels plan to bring in half a million supporters to protest against the government. (AP Photo/Altaf Qadri)

तेस्रो महाधिवेशन पश्चात् पार्टीमा भीषण सैद्धान्तिक तथा राजनीतिक दुई लाइन संघर्ष चल्यो । यसै क्रममा पार्टीमा विभाजनको प्रक्रिया अघि बढ्यो । २०२५ सालमा तेस्रो सम्मेलन सम्पन्न गरी बनेको पुष्पलाल समूह, २०२८ सालको झापा विद्रोहबाट जन्मिएको विद्रोही कम्युनिस्ट समूह र २०२८ सालको केन्द्रीय न्यूक्लस हुँदै २०३१ सालमा गठित चौथो महाधिवेशन समूह– माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा, नयाँ जनवाद र सशस्त्र संघर्षको कार्यदिशाको पक्षमा उभिए । यद्यपि यी एकताबद्ध हुन सकेनन्, परन्तु यिनले रुसी आधुनिक संशोधनवाद र तेस्रो महाधिवेशनमा पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको दृढ विरोध गरे ।

माक्र्सवाद–लेनिनवाद तथा माओविचारधारा, नयाँ जनवाद र सशस्त्र संघर्षको मान्यता स्वीकार गर्ने चौथो महाधिवेशन समूह र झापा विद्रोही समूह प्रबल बन्दै देशव्यापी रुपमा फैलँदै गए । २०३६÷०३७ को जनआन्दोलनमा कम्युनिस्टहरुको सशक्त भूमिका रह्यो । रायमाझी तथा तुल्सीलाल समूह कमजोर बन्दै गए ।

परन्तु, ४० को दशकमा चौम समूह– तीन धारामा– मशाल, मसाल र चौममा विभाजित बन्यो । झापा विद्रोहीबाट विकसित माले समूहमा अवसरवादको गन्ध आउन थाल्यो । क्रान्तिकारी कम्युनिस्ट धाराहरुमा तीव्र मतभेद र विवादहरु पैदा हुँदै गए । आन्दोलन केही कमजोर बन्दै गयो । यसै क्रममा २०४६ को अन्ततिर संयुक्त जनआन्दोलन मार्फत् पञ्चायती व्यवस्था ढल्यो र वैधानिक राजतन्त्रात्मक संसदीय बहुदलीय व्यवस्थाको स्थापना भयो । २०४६ पश्चात् नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया तीव्र बेगमा अगाडि बढ्यो । यसै क्रममा एकातिर नेकपा माले, मनमोहन समूह तथा तुल्सीलाल समूहका बीच एकीकरणको प्रक्रिया अगाडि बढ्यो । उनीहरुले २०४७ सालमा महाधिवेशन गरे र नयाँ जनवादलाई परित्याग गरी बहुदलीय जनवादको संशोधनवादी तथा संसदवादी कार्यदिशा अवलम्बन गर्न पुगे । परन्तु, त्यसका ठीक विपरीत अर्काेतिर नेकपा (मशाल), नेकपा (चौम), सर्वहारा श्रमिक संगठन तथा विद्रोही मसाल मिलेर क्रान्तिकारी एकीकरणको प्रक्रियालाई अगाडि बढाए । उनीहरुद्वारा २०४८ सालमा एकता महाधिवेशन गरी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद तथा दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरियो । यस प्रकारको एकीकरण र ध्रुवीकरणको प्रक्रियामा नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टी आदि कतिपय समूह सम्मिलित भएनन् ।

२०३१ देखि २०५१ सम्मको यस प्रक्रियामा ३० को दशकमा विकसित क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सशक्त तथा प्रभावकारी धारालाई ४० को दशकको पूर्वाद्र्धमा पैदा भएका फुट तथा विचलनले निषेध ग¥यो । अनि त्यस पश्चात् विकसित एकीकरण र ध्रुवीकरणले त्यस प्रकारका फुट तथा विचलनलाई निषेध गरी अर्काे नयाँ ध्रुवीकरण देखा प¥यो ।

२०५२ फागुन १ देखि नयाँ जनवादी क्रान्तिको आवश्यक तयारी गर्दै तथा यसक्रममा दक्षिणपन्थी संशोधनवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै महान् जनयुद्ध सञ्चालित गरियो । सो जनयुद्ध दश वर्षसम्म आधार इलाका तथा स्थानीय जनसरकारहरुको स्थापनाका बीचबाट रणनीतिक रक्षा र सन्तुलनका चरण पार गर्दै अगाडि बढ्यो र यो एक आकर्षणको केन्द्र बन्न पुग्यो । यो नेपाली नयाँ जनवादी क्रान्ति तथा कम्युनिस्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो ।

यसै अवधिमा अन्य कम्युनिस्ट समूहहरूमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढ्यो । नेकपा (एमाले) विभाजित बन्न पुग्यो । त्यो समूह एमाले र मालेमा विभक्त भयो । यस अवधिमा एमाले र मालेभित्रका कैयौं क्रान्तिकारीहरू नेकपा (माओवादी) मा एकीकृत हुनपुगे । परन्तु, जनयुद्धको अन्तिमकाल तथा २०६३ मङ्सिरमा गरिएको विस्तृत शान्तिसम्झौता यता पार्टीको एउटा प्रमुख नेतृत्व पंक्तिमा पैदा भएको गम्भीर प्रकृतिको दक्षिणपन्थी विचलन तथा विश्वासघातका कारण क्रान्तिले गम्भीर धक्का खान पुग्यो ।

संविधानसभाको कालमा एकातिर पार्टीभित्र भीषण दुईलाइन संघर्षको क्रम अघि बढ्यो भने अर्काेतिर एकीकरण एवं ध्रुवीकरणको प्रक्रिया पनि विकसित भयो । यसै सिलसिलामा २०६९ सालमा क्रान्तिकारी धाराले अवसरवादका विरुद्ध ऐतिहासिक विद्रोह ग¥यो ।

आज एउटा ध्रुवमा कम्युनिस्ट पार्टी स्थापनादेखि प्रथम महाधिवेशन पूर्वसम्मको क्रान्तिकारी परम्परा, पुष्पलालद्वारा २०२५ मा आयोजित तेस्रो सम्मेलन, २०२८ सालको ऐतिहासिक झापा विद्रोह तथा २०२८ को केन्द्रीय न्युक्लस हुँदै २०३१ मा आयोजित चौथो महाधिवेशन र २०५२–२०६२ सम्मको दशवर्षे जनयुद्ध सहितको क्रान्तिकारी धारा खडा छ । परन्तु यसको ठीक उल्टो २०१०– २०१९ सम्मको दक्षिणपन्थी संशोधनवादी परम्परा, झापा विद्रोहबाट विचलित माले तथा एमालेका नकारात्मक प्रवृत्ति र पूर्व चौम तथा माओवादी आन्दोलनको अवसरवाद सम्मिलित भई अर्काे ध्रुव खडा भएको छ । आज यो धारा पश्चगमनको यात्रामा हिंडिरहेको छ । उक्त दुई धारा वा ध्रुवभन्दा पृथक् केही उपधारा पनि आज अस्तित्वशील रहेका छन् । तर तिनले लामो समयसम्म स्वतन्त्र वा तटस्थ हैसियत जोगाइराख्न सक्तैनन् । क्रान्तिकारी धाराको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) लगायतले गरेका छन् ।

लेनिनको विश्लेषण अहिले पनि सही

सन् १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्र्कमा जन्मनुभएका लेनिनले सन् १८९२ देखि नमरुन्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाउनुभयो . लेनिनले माक्र्सवादको सही प्रयोग मात्र गर्नुभएन, माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा विकास गरेर माक्र्सवाद–लेनिनवादको प्रतिपादन समेत गर्नुभयो ।

लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गर्नुभएको थियो । यस्तो खालको सङ्गठनात्मक पद्धतिलाई लेनिनवादी पद्धति भनिन्छ । त्यसलाई नयाँ ढङ्गको पार्टी पनि भनिन्छ । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गर्नुभयो । उहाँले आविष्कार गरेका कैयौँ विषयहरूमध्ये कम्युनिस्ट पार्टीको साङ्गठनिक पद्धति हो । अहिलेसम्म लेनिनवादी सङ्गठनात्मक पद्धतिभन्दा नयाँ र वैज्ञानिक पद्धतिको विकास भएको छैन । त्यसैले लेनिनको सङ्गठनात्मक पद्धतिको खोज पनि एउटा महत्वपूर्ण योगदान हो ।

लेनिनले माक्र्सपछि अर्थशास्त्रमा नयाँ खोज गर्नुभयो । एकाधिकार पुँजीवादको व्याख्या गर्नुभयो । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्तिका रूपमा परिभाषित गर्नुभयो । साम्राज्यवादीहरूले आफ्नो सङ्कट र अन्तरविरोधलाई हल गर्न एकाधिकार पुँजीवादी नीति अवलम्बन गर्न पुगेका थिए । जसलाई लेनिनले सन् १९०० देखि प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा बदलिएको विश्लेषण गर्नुभयो । त्यसको १० वर्षपछि लेनिनले साम्राज्यवादबारे खोज गर्नुभयो । उहाँले ‘साम्राज्यवाद भनेको पुँजीवादको विकसित र मरणासन्न अवस्था’ रहेको पत्ता लगाउनुभयो । अहिले पनि विश्वको उत्पीडनको आधार साम्राज्यवाद नै रहेको छ ।