झर्रोटर्रो : यस्तो पनि हुँदो रैछ, राजनीतिमा कैले कैले

प्रकाशित मिति : २०७६ बैशाख १

क्रान्तिकारी माउवादीका बयोबृद्ध नेता हर्कबहादुर शाहीको निधन भयो । निधन भएपछि उनको पार्थिव शरीरलाई माउवादी पाटीले कुपण्डोलको पाटी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम राख्यो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न कम्निस पाटीका नेता कार्यकर्ताको लर्को लाग्यो । त्यो कार्यक्रममा सरकारका पुलिस मन्तरी पनि आए । पुलिस मन्तरी भएको हुनाले अघि पछि, दायाँ बायाँ, चारै चौफेर हातहतियार गोलाबारुदले सजिसजाउ भएका पुलिसहर्को सुरक्षा उर्फ घेराबन्दी लिएर आए ।

त्यो श्रद्धाञ्जली कार्यक्रममा हिज जनयुद्धका बेला सरकारी पुलिस र आर्मीसित लडेका रेडआर्मी र नेता कार्यकर्ताको बाक्लै उपस्थिति थियो । तिनीहरू हालका सरकारी पुलिस मन्तरीको योजना र निर्देशनमा लडेका थे । जनयुद्धमा सरकारी आर्मी र पुलिससित लडेको घटनाले एउटा जुग पनि बिताएको छैन । केही बर्ख मात्रै बितेको छ आखिर ।

त्यतिबेलाको लडाइँको धमाकाको आवाज अझै सेलाइसकेको छैन । उतीबेला ती पुलिस मन्तरीको टाउकालाई सरखारले पाचास लाखको मोल तोकेर टाउको काटेर ल्याउने टेण्डर खोलेको थ्यो । आर्मी र पुलिसहरू तिनको टाउको खोज्दै गाउँगाउँमा छापा मारेर अप्रेशन चलाउँथ्यो । ती दिन सबैका मनमनमा फिलिमको रिलझैँ फनफनी घुमेकै छन् ।

तर घटनाक्राले भने उल्टापाल्टा बाटो लियो । हिज नेताको सुरक्षा गर्न अघिपछि माउवादीका रेडआर्मी, कार्यकर्ता, जनता लाग्थे । आफू मिटाई नेताको बचाउ गर्थे । सरकारी आर्मी, पुलिस, सरकारी पाटीका मनुखेले माउवादीका नेता, कार्यकर्ता र रेडआर्मीलाई भेटेसम्म ठाउँका ठाउँ ठहरै पार्थे । नेतालाई बचाउन भोकानाङ्गा रैती मनुखेले आफ्नो ज्यान समेत बलि चढाउँथे । ऐले हावहुरी उल्टोदिशातिर बगेर हुण्डरी मच्चाएको छ ।

सरकारी पुलिस र आर्मीसित लड्न पठाउने नेता पुलिस मन्तरी भका छन् । आज उनैले पुलिसलाई हिजका आफ्ना माउवादी नेता कार्यकर्तालाई पकड्न र झ्यालखानामा कोचेर सडाउन पठाका छन् । पकड्न जाँदा भाग्न खोजे उतै उडाइदिनु भनेर आदेश पठाका छन् । हिज टाउको छिनाउन हिडेका काला आर्मी र पुलिसले बन्दुक, हातहतियार र गोला बारुद बोकेर उनको सुरक्षा गर्न अहोरात्र खटेका छन् ।

हिज जनयुद्धमा सुरक्षा गर्न खटेका रेडआर्मी र कार्यकर्ताले भेट गर्न पनि पाउँदैनन् । कस्तो उल्का हो यो । टाउको काट्नेले सुरक्षा गर्ने रे, टाउको जोगाइदिएर जीवन बचाइदिनेलाई आज झ्यालखानामा कोच्नु पर्ने ।

यो कैलुब्राह बडो अचम्म मानेर दङदास भएको छ । कस्तामुखिको क्रान्ति हो यो ? कस्तालाई गणतन्त्र हो यो ? यो नेपाल सरहद भित्रका गरिबगुरुवा, भोकानाङ्गा, निर्धा निमुखालाई त सँधै गनतन्त्र मात्रै हात लाग्ने । लड्यो लड्यो लड्यो तलै झर्यो । फेरी लड्यो फेरी झर्यो । सिसिफसको कथा जस्तो । यो कैलुले पनि जनयुद्धमा निकै दुख्ख गरेर नेताको सुरक्षामा खटेकै हो । जेजस्तो भएपनि हिजका त आफ्ना अब्बल दर्जाका नेतै त हुन् पुलिस मन्तरी भनेर जम्का भेट भैसकेपछि सुटुक्क हात मिलाउन खोजेको त आर्मी पुलिसले छेक्छ बाबा ।

आफैले नेता बनाएर मन्तरी बनाको जस्तो पो गर्चन ए गाँठे । यस्तै भएर होलो आफैले दस मैना पेटमा बोकेर, पाउनुसम्म दुःख भोगेर, पेटभित्र हुर्काएर अन्तमा ज्यानकै बाजी राखेर जन्माएका छोराछोरी ठूलाबडा भएपछि चोर, डाँका, हत्यारा, लुटेरा बलात्कारी, छडुवा भएपछि ती आमाले यस्ता छोराछोरी जन्मनु भन्दा पेटमै मरेको भए हुन्थ्यो भनेको कुरो यो कैलुले धेरै आमाहरूबाट सुनेको छ । यस्ता नेता हुन्चन् भन्ने पैले था’पा’को भए आफ्नो ज्यानको बाजी राखेर तिनको कस्ले सुरक्षा गर्दो हो ।

उतीबेलै सरकारी आर्मी पुलिसले मुन्ट्याइदेको भए पनि ठिकै हुने रैच भन्ने जस्तो लाग्च कतिकतिखेर त । कमसेकम टाउको काट्नेले पचास लाख पाएर आफ्नो जिन्दगी त सुधार्दो हो ।

त्यै भएर मलाई फत्तेमानले गा’को र यादव खरेलले लेखेको गीत पनि बदल्नु परो भन्ने लागो ।
यस्तो पनि हुँदो रैछ, राजनीतिमा कैले कैले
नेतालाई मायाँ गर्न गम्भीर भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

मेरो जस्तो मायाँ दिने तिमीलाई प्रभु होला
तिम्रोलागि मेरा भन्दा बजेट खाने मुटु रोला
जस्लाई आफ्नो सम्झेको थेँ उही पो शत्रु भयो ऐले
नेतालाई मायाँ गर्न गम्भीर भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

मेरो मायाँ कुल्ची जाने तिम्रो बन्दुक सँधै फुलोस्
मेरो लक्ष्य मारिजाने तिम्लाई कुर्ची सँधै मिलोस्
तिखा आँखा मेरा अझै सपना देखिराछन् ऐले
नेतालाई मायाँ गर्न गम्भीर भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ ।

यस्तो पनि हुँदो रैछ, राजनीतिमा कैले कैले
नेतालाई मायाँ गर्न गम्भीर भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ ।