बन्ला बर्खाअगाडि नै पीडितहरुको घरटहरा ?

आँधीपीडितका हातमा पुगेन राहत, राहत बितरकका हातहातमा सेल्फी

प्रकाशित मिति : २०७५ चैत्र २२

काठमाडौं । रातले आफ्नो साम्राज्य विस्तार गर्दै लैजाँदा आइतबार रातमा आँधीले निम्त्याएको त्यो समवेदित क्षण अझैं पनि भग्नावशेष घरहरुबाट हट्न सकेको छैन । पीडितहरुका हातमा राहत नपुग्दै राहत वितरकहरुका हातमा सेल्फी नाचेका छन् । आँधी पीडितका नाममा नत राहत संकलनको न त राहत वितरणको कुनै मापदण्ड छ ।

हेर्दा भावनात्मक पनि छ र लाजलाग्दो पनि छ । राहत बितरकका दशौं हातहरु एउटा चाउचाउको पोकामा परेका छन् भने हातथाप्ने पीडितका हातमा एउटै चाउचाउको पोका खसेको छ । वितरकहरुका लागि यो सबै सेल्फी लिने र प्रचार आत्मरतिले निकै काम गरेको छ ।

पछिल्लो चरणमा भित्री ग्रामीण इलाकाहरुमा रहेका आँधी पीडितहरुका लागि न कुनै मानिस वा दाताले राहत पुर्याएको छ, न कोही त्यहाँ भेट्न नै पुगेको छ । त्यहाँको संसार एकपाकेट चाउचाउको भन्दा निकै टाढा छ । सजिला र बाहनहरुको आवतजावत हुनसक्ने ठाउँहरुमा केही राहत वितरकहरुको आउजाउ देखिने गरेको छ । यो पनि प्रचारका लागि मात्र ।

अहिलेसम्म प्रदेशले र संघीय तथा स्थानीय सरकारहरुले न त पीडितहरुको तथ्यांक संकलन गरका छन्, न त भत्किएका संरचना र जनधनको क्षतिको विवरण नै ? यो आश्चर्यको विषय बनेको छ । राजनीतिक दलका नेताहरु जनताका भग्नावशेष घरहरुमा जाने र एक पार्टीले अर्को पार्टीको विरोध गरेर आत्मतुष्टि पोख्ने मात्र गरेका छन् ।

हामी सरकारमा भएका भए गर्ने थियौं, तर सरकारका छैनौ भन्ने उधारो आश्वासन बाँड्दै हिंडेका छन् । सरकारी दलहरु अब छिट्टै गछौं भनेर ढाँट्दै हिंडेका छन् ।

आकाश कालोमैलो नै छ । मौसम गडबडीपूर्ण छ । जनताका बस्ने बासहरु छैनन् । सिररेटोले सजिलै च्यात्ने मक्किएका त्रिपालहरुको काम छैन । घरहरु त बचेनन् भने यो त्रिपालले ती मानिसहरुको हर जोगाउने र जहान जोगानेमा उनीहरुको रत्तिभर विश्वास छैन । हुन पनि हो नै ।

नयाँ वर्षको आगमनसँगै मनसुनी वायुको पनि नेपाल भित्रने तयारी हुन्छ । यसले घनघोर वर्षा गराउने छ । जनजीवन चौपट पार्ने छ । र, अर्को कुरा, एकवर्षका लागि खाने खेती पनि यसै समयमा गर्नुपर्ने छ ।

जनताको यो चिन्ताले सरकारलाई टेउँटुप्पो पनि छोएको देखिंदैन ।