काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले चैत्र २४ गते आन्दोलनको दोस्रो उत्कर्षको रुपमा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । शक्ति प्रदर्शनसँगै विशाल जनसभाका बीच पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनको भव्य रुपमा उद्घटन गरिदैछ । यतिखेर क्रान्तिकारी माओवादीले आफ्नो सिंगो शक्तिलाई चैत्र २४ को जनप्रदर्शन तथा विशाल जनसभा अर्थात् मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित गरेको छ । क्रान्तिकारी माओवादीको बुटबल बैठकले संघर्षका कार्यक्रम अन्तर्गत फागुन १ गतेको देशव्यापी रुपमा गरिएको रेड मार्चपासलाई पहिलो उत्कर्ष, चैत्र २४ को शक्ति प्रदर्शनलाई दोस्रो र त्यसपछि गरिने आम हड्तालको कार्यक्रमलाई तेस्रो उत्कर्षको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । पार्टीको घोषित कार्यक्रम अनुसार चैत्र २४ को जनआन्दोलन दिवसलाई क्रान्तिकारी माओवादीले संघर्षकै रुपमा मनाउने तयारी गरेको हो ।
प्राप्त समाचार अनुसार चैत्र २४ को जनप्रदर्शन तथा विशाल जनसभालाई भव्य र प्रभावकारी बनाउन क्रान्तिकारी माओवादीले पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, जबस–मोर्चा लगायत सिंगो शक्तिलाई परिचालन गरेको छ । काठमाडौं उपत्यसहित ३ नं. प्रदेशलगायत देशका मुख्य मुख्य भागबाट जनता केन्द्रित गर्ने तयारीलाई समेत व्यापक बनाएको छ । कार्यक्रमलाई लक्षित गरी अहिले प्रचार प्रसारलाई व्यापक बनाइएको छ । पोस्टरिङ, वालिङ, व्यानरिङ तथा उपत्यकाका मुख्य मुख्य स्थानमा गेट समेत बनाउने कामलाई तीव्र पारिएको छ ।
मोर्चाको राष्ट्रिय सम्मेलनलाई नै भव्य बनाउन मोर्चाको नेतृत्वमा १५ दिने मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सम्पन्न भइसकेको छ । र, मोर्चाका अधिकांश प्रदेश तथा जिल्लाहरुका भेला तथा सम्मेलन सम्पन्न गरिएका छन् ।
चैत्र २१ गते १ नं. प्रदेशको भेला सम्पन्न गरिदैछ भने प्रदेशभित्रका जिल्लहरुमा १८ गते उदयपुर, १७ भोजपुर, १७ गते सुनसरी र १९ गते झापाको भेला सम्पन्न हुँदैछ । मोरङ जिल्लाको यसअघि नै सम्मेलन सम्पन्न भइसकेको छ ।
त्यसैगरी १६ गते मोर्चाको २ नं. प्रदेशको सम्मेलन सम्पन्न भएको छ । यस प्रदेशका रौतहट, बारा, पर्सा, सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा भेला तथा सम्मेलन सम्पन्न भइसकेका छन् ।
त्यसैगरी मोर्चाको ३ नं. प्रदेशको पनि सम्मेलन सम्पन्न भइसकेको छ । यस प्रदेशको रसुवा बाहेकका सबै जिल्लाहरुको भेला तथा सम्मेलन सम्पन्न भइसकेका छन् ।
उता ४ नं. प्रदेशको सम्मेलन पनि सम्पन्न भएको छ । यो प्रदेशभित्रका नवलपुर, कास्की, तनहुँ, बाग्लुङ, पर्वत र गोरखालगायत भेला तथा सम्मेलन सम्पन्न भएको छ ।
७ नं. प्रदेशको सम्मेलन १७ गते चैत्रमा सम्पन्न भएको छ । यस प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरालगायतका जिल्लामा भेला सम्मेलन सम्पन्न भएको छ ।
चैत्र २४ उद्घाटन गरिने मोर्चाको सम्मेलनको बन्द सत्र २५ र २६ गतेसम्म चल्नेछ । काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा उद्घाटन गरिने मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनलाई पार्टी महासचिव मोहन वैद्य‘किरण’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशैभरिबाट करिब ५ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने मोर्चाको केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैबीच, ‘चैत्र २४ गते काठमाडौं जाऔं ! क्रान्तिकारी विकल्पको तयारी गरौं !!’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी जनसमुदायको नाममा मोर्चाले अपिल समेत जारी गरेको छ ।
अपीलमा भनिएको छ, “ आगामी २०७५ चैत्र २४ गते काठमाडौंमा हुने विशाल जनसमुदायको उपस्थिति बहुआयामिक महत्वको हुनेछ । पहिलो, यो हामीले यही फागुन ७ गते देखि २१ गतेसम्म देशका विभिन्न भागमा सफलतापूर्वक सञ्चालन गरेको ‘मेची–महाकाली जनजागरण अभियान’ को उत्कर्ष हुनेछ । दोस्रो, यो जनविरोधी र राष्ट्रघाती सरकारलाई जनताको पक्षमा निर्णय गर्न बाध्य गराउनकालागि ठुलो जनप्रदर्शन हुनेछ । तेस्रो, राष्ट्रिय स्वाधीनताको रक्षा लगायत नेपाली जनताका तमाम समस्याको समाधान तथा देशमा आमूल परिवर्तनका निमित्त समर्पित क्रान्तिकारी मोर्चा, देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालको ऐतिहासिक राष्ट्रिय सम्मेलनको उद्घाटनको अवसर पनि हुनेछ । चौथो, नेपालमा राजतन्त्र विद्यमान भएकै बेलामा गणतन्त्रको नारा स्थापित भएको ऐतिहासिक जनआन्दोलन दिवसको निरन्तरता हुनेछ । त्यसैले, हामी फेरि पनि आदरणीय जनसमुदायसँग अनुरोध गर्दछौं, यो अवसर नचुकाऔं !”
अपीलमा २४ गतेको विशाल जनसभामा सहभागी हुन अनुरोध गर्दै भनिएको छ, “राष्ट्रिय स्वाधीनताको रक्षा, वास्तविक जनतन्त्रको स्थापना र जनजीविकाका समस्याको समाधानका लागि संघीय जनगणतन्त्र नै अहिलेको अग्रगामी विकल्प हो । जनताको बृहद् एकता र जनआन्दोलनबाट मात्र यसलाई प्राप्त गर्न सकिन्छ । त्यसैले हामी सम्पूर्ण जनसमुदायलाई चैत्र २४ गते काठमाडौं आएर विशाल जनसभामा सहभागी हुनका लागि विनम्र अनुरोध गर्दछौं ।”
नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको क्रान्तिकारी माओवादीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देजमोको यो राष्ट्रिय सम्मेलन तथा विशाल जनसभालाई आम क्रान्तिकारी जनपंक्ति तथा इतर वर्गले समेत विशेष रुपमा हेरेका छन् ।