काठमाडौं । लगानी सम्मेलनलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘भर्जिन ल्यान्ड’ ल्याण्ड भएकाले विदेशी लगानीकर्तालाई निर्धक्क भएर आफ्नो लगानी गर्न आह्वान गरे । यसमा द्विविधा नलिन विश्वस्त गराउन उनले केही ससमय खर्चिए पनि ।
लगानी सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रम ओलीले नेपालमा दुईतिहाई बहुमतको सरकार बनेको, राजनीतिक स्थिरता कायम भएको र लगानीका लागि उत्तम वातावरण निर्माण भएको बताए ।
लगानी गर्यो कि नाफा भइहाल्छ भन्दै ओलीले आफूहरुले जलविद्युतलाई लगानीको प्राथमिकतामा राखेको पनि बताए । त्यसपछि पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि, ठूला तथा मझ्यौला उद्योग र खानीमा सरकारको विदेशी लगानीमा जोड रहेको बताए । उनका अनुसार नेपाल आफैमा भर्जिन ल्याण्ड भएकाले जे जस्तो लगानी गरे पनि फूल्ने र फल लागिहाल्ने अनि विदशीले भनेजस्तो मुनाफा पाइहाल्ने कुरामा जोड दिए ।
प्रम ओलीले सरकारले दोहोरो अंक वा ‘डबल डिजिट’ आर्थिक वृद्धिको लक्ष्य राखेको तर स्वदेशी पुँजी त्यसका लागि अपर्याप्त भएकाले विदेशी लगानीले बाजी मार्ने कुरामा जोड दिए । उनका अनुसार यस्तो आर्थिक वृद्धि हासिल गर्न ठूलो मात्रामा विदेशी लगानी आवश्यक पर्छ । उनले यस्ता ठूलाठूला विदेशी लगानीहरुको ढोका खुल्ला गर्न ऐनकानूनहरु पनि संशोधन गरिसकेको बताए । विदेशीले जति कमाएर लगे पनि आफूहरुले नाफाको सम्मान गर्ने र लाभांश लैजानमा कुनै पनि रोकटोक नरहने कुरामा उनले जोड दिए ।
ओलीले विदेशी लगानी कर्ता र निजी क्षेत्रको लगानीविना ‘सुखी नेपाली, समृद्ध नेपाल’ परिकल्पना साकार नहुने पनि बताए । लगानीका लागि नेपाल भूराजनीतिक हिसाबले पनि निकै महत्वपूर्ण र उपयुक्त ठाउँ रहेको भन्दै ओलीले अमेरिकी र युरोपीय सामानहरु भारत र चीनजस्ता ठूला बजारमा छ्याप्छ्याप्ती लैजान सकिने बताए ।
भारतमा लैजानका लागि जल मार्ग र चीनमा लैजानका लागि रेल मार्गले विदेशी लगानीकर्ताहरुलाई निकै सजिलो बनाउने कुरामा पनि उनले जोड दिए । उहिल्यैको चीन भ्रमणपछि प्रोटोकलमा हस्ताक्षर गर्नु त कता हो कता प्रोटोकलको नाकमुख पनि देख्न नपाएर स्वदेश फर्किएका प्रम ओलीले चीनसँग पारहवन प्रोटोकलमा छिट्टै हस्ताक्षर हुने आशा पनि उक्त सम्मेलनका अवसरमा व्यक्त गरे ।
भाषणको क्रममा ओलीले काम गर्दा कुनै पनि सिन्डिकेटलाई संरक्षण नगरिने जस्ता अन्तरविरोधी कुराहरु बोलेर पनि लगानीकर्ताहरुका माझ चीसो पसाइदिए । विदेशी पुँजी लगानीको आह्वान गर्ने र पुँजीको एकाधिकारी चरित्रको पनि विरोध गर्ने प्रम ओलीको संबोधन आफैमा असंतिपूर्ण रहेको छ ।
आफूले स्वदेशमा केही पनि गर्न नसकेर देशको आर्थिक अवस्था भर्जिन रहेको बताउने प्रम ओलीले विदेशी लगानी कर्ताहरुले लगानी गरिदिए देशको आर्थिक विकास दर दोहोरो अंकमा पुग्ने बताए । उनले नेपालको श्रमशक्ति निकै सस्तोमा प्रयोग गर्न पाइने तर्फ पनि संकेत गरे ।