अन्तरीक्षमा पछि पर्दै अमेरिका : अन्तरीक्षसम्बन्धी नासाको अध्ययनमा पुनरावलोकन गरिँदै

काठमाडौं । विज्ञान तथा प्रविधिको विकाससँगै विश्वमा प्रतिस्पर्धात्मक जमाना सुरु भएपछि अमेरिकाले जे भने पनि पत्याइदिने अवस्था अब रहेन । यसले अमेरिकालाई कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने दिनहरु आइलागेका छन् । अमेरिकाले गफमा उडाएको अन्तरीक्षसम्बन्धी अध्ययनमा पुनरावलोकन गर्दै रहेको तथ्य बाहिर आउन थालेका छन् ।

यसले देखाउँछ, अमेरिकाले यतिबेलासम्म दिएका अन्तरीक्षसम्बन्धी बयानहरुमा धेरै झुम्का र फुर्काहरु जोडिएका थिए । अबको अन्तरीक्ष रसिया र चीनको पनि भएकाले सही र तथ्यपरक कुराहरु संसारले पाउने र पत्याउने समय आएको छ । अबको अन्तरीक्षको अध्ययन र व्याख्या साहित्यिक भन्दा पनि बढी वैज्ञानिक र तथ्यसंगत हुने छ ।

चीनले पछिल्लो चरणमा ‘चन्द्रमाकी देवी’ नाम दिइएको चिनियाँ अन्तरीक्ष यान चन्द्रमाको नदेखिने अर्को कालो भागतिर उतारेर आधुनिक यन्त्रहरुको सहयोमा अध्ययन थाले पछि अमेरिका चकित परेको छ । चीनको यो कार्यबाट स्तब्ध जस्तै भएको अमेरिकाले पछिल्ला दिनहरुमा चन्द्रमामा फेरि मानवसहितको यान पठाउने तयारी गरिरहेको छ ।

चन्द्रमामा चीनको फरक र सोच्दै नसोचेको क्षेत्रमा भएको उपस्थितिलार्ई संसारले फरक ढंगले विश्लेषण गरिरहेको छ । चिनियाँ भाषामा ‘चाङ ए–४ प्रोव’ नाम दिइएको यो यान चन्द्रमाको नदेखिने भागतिर सफलतापूर्वक अवतरण गरी अनुसन्धानका कामहरु जारी राखिरहेको छ । यो यानका लागि सधैं अध्यारो रहने यस भागमा उज्यालो बाल्दै अनुसन्धानका कार्य जारी राख्न निकै असहज र आश्चर्यपूर्ण रहेको छ ।

अमेरिका चन्द्रमामा पुगेको र मानिस पनि पठाएको भाग चाहीं सधैभरि पृथ्वीतिर फर्किरहने र सजिलो, समथल तथा उज्यालो परेको भागमा हो । चन्द्रमाको अर्कोतिर रहेको नदेखिने भाग चाहीं अमेरिका र नासाकै लागि पनि अपरिचित र अज्ञेय भाग हो । निकै चट्टानी, उबडखाबड, क्रेटर प्वालहरु तथा भिरालो परेको यो भागमा रेडियो फ्रिक्वेन्सीसमेत् जोडेको चिनियाँ यानले अनुसन्धानको काम जारी राखेको छ ।

अत्याधुनिक रडार जडान गरिएको यो यानले त्यहाँको अँध्यारो क्षेहरुको पनि सुक्ष्म अवलोकन गर्ने छ । त्यहाँको सतह भने ढुंगाका टुक्राहरु र धूलोले पुरिएर रहेको अनुमान गरिएको छ । पग्लिएका चट्टानको पनि यो क्षेत्रमा अनुसन्धान गरिने छ । यो अनुसन्धानबाट हालसम्म गरिएका अन्तरीक्ष अनुसन्धानमा रहेका ग्यापहरु र कमी कमजोरीहरु पूरा हुनसक्ने विश्वास चीनले गरेको छ ।

यस्तो बेलामा अमेरिका भने आफ्ना पहलेका अध्ययन र अनुसन्धानहरुलाई नवीकरण र पुनरावलोकनमा जुटेको छ ।