कार्ल मार्क्सका अजम्मरी योगदान

प्रकाशित मिति : २०७५ फाल्गुन ३०

कार्लमार्क्स (जन्म १८१८–मृत्यु १८८३) एक जर्मन दार्शनिक थिए । उनी अर्थशास्त्री, साहित्यकार र पत्रकार पनि थिए । यी सबै कुराभन्दा पनि उनी एक क्रान्तिकारी राजनीतिक नेता थिए । उनको सोच भनेको मानव समाजमा आमूल परिवर्तन ल्याउनु थियो । यसका लागि उनी समानताको समाजको खोजीमा समग्र जीवन अर्पण गरे । यसका लागि अध्ययनको असीम गहिराइमा पसे । उनले अविराम अध्ययनबाट समाजवादी तथा साम्यवादी व्यवस्थाको बाटो पहिल्याए र त्यसका खातिर अघि बढ्ने मार्गदर्शक सिद्धान्त वा वर्गसंघर्षको प्रतिपादन गरे ।

वर्गसंघर्षको दर्शन निर्माणमा मार्क्सको पहिलो खोज भनेको पुँजीवादी व्यवस्था अन्तर्गत मजदुरहरुको सिद्धान्त हो । त्यसमा पनि पहिलो कुरा भनेको उत्पादन नै हो, जो पुँजीपति वर्गको हातमा छ । दोस्रो भनेको उत्पादन प्रक्रिया हो, त्यो पुँजीपति वर्गको स्वार्थअनुसार चलाइन्छ । र तेस्रो भनेको मजदुर आफै हो, जो अरुका लागि काम गरिदिन्छ र ऊ आफैमा ठगिएको छ । यहीनेरबाट श्रम शोषण हुन गएको छ ।

दोस्रो महत्वपूर्ण खोज भनेको ऐतिहासिक भौतिकवादको व्याख्या हो । यो भनेको मानव समाजको समग्र इतिहासको वस्तुवादी व्याख्या हो । यस अन्तर्गत मानव समाजको सिलसिलेवार वस्तुगत चरणहरुको व्याख्या गरेका छन्, जस्तै– आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युग । उनले सबैभन्दा बढी जोड पुजीवादी युग अध्ययनमा लगाएका छन् । यो भनेको मार्क्सले भने झैं वर्तमानको व्याख्या र त्यसमा ल्याउनुपर्ने आमूल परिवर्तन वा ससमाजवादी परिवर्तनको सिद्धान्त प्रतिपादन हो ।
तेस्रो महत्वपूर्ण खोज भनेको समाज परिवर्तनको उपाय, विधि र प्रक्रिया हो । त्यो भनेको वर्गसंघर्षको खोज हो । यसका बारेमा अध्ययन गरेर मार्क्स समाजको चरित्र वर्गीय हुने निचोडमा पुगे । उनले समकालीन समाजमा हुने विपरीत वर्गका बीचमा निरन्तर संघर्ष चलिरहने बताए । उनको व्याख्यामा आदिम साम्यवादमा कुनै पनि वर्गीय अन्तरविरोध थिएन । तर समाज विकासको दोस्रो चरणमा आइपुगेपछि दासयुग सुरु भयो र दास र मालिकहरुका बीचमा वर्गसंघर्ष व्यक्त र अव्यक्त रुपमा चल्दै गयो । त्यसपछि पनि समाजमा आमूल परिवर्तन आउन सकेन बरु समाजको रुपान्तरण सामन्ती युगमा भयो । त्यहाँ भूमिपति र भूदासका बीचमा वर्ग संघर्ष चल्यो । त्यसले समाजलाई त्यही अवस्थामा रहन नदिई पुँजीवादी युगमा रुपान्तरण गर्यो । पुँजीवाद स्थापना भयो । यो हामी बाँचेको वर्तमान हो । यसमा पुँजीपति र मजदुर वर्गका बीचमा वर्गसंघर्ष चलिरहेको छ । मार्क्सका अनुसार समाजवादी समाजमा पनि वर्ग रहने भएकाले त्यहाँ वर्गसंघर्ष निरन्तर चलिरहन्छ । वर्ग अन्त्यको सँगसँगै राज्यको पनि विलापीकरण गरिने भएकाले साम्यवादमा भने वर्गसंघर्ष हराएर जान्छ भनेका छन् ।

चौथो खोज भनेको कम्युनिष्ट घोषणा पत्र हो । यो नै मार्क्सका सबै खोजहरुको संश्लेषण हो । यसमा मार्क्सले खोजअध्ययन, अनुसन्धान गरेका र लेखेका सबै कृतिहरुको सार छ । यो वर्गसंघर्षको संश्लेषित दस्तावेज हो । यो मार्क्स–एङगेल्सको अथक प्रयासको परिणति पनि हो । यो हालसम्म मानवले निर्माण गरेको सर्वोत्कृष्ठ पाण्डुलिपी पनि हो । मार्क्सले निन्दा गरेका वर्ग दुश्मनहरुले पनि यसको सह्राना गर्दछन् ।

पाँचौ खोज भनेको उनले दास क्यापिटल अर्थात् पुँजी नामक कृति हो । त्यसमा समकालीन समाजको यति सटिक व्याख्या गरिएको छ कि त्यो आफैमा अकाट्य र सर्वस्वीकार्य छ । यसमा मार्क्सले पुँजी निर्माणदेखि शोषणका सबै रुपहरु र समाजवाद तथा साम्यवादका आर्थिक आधार तथा धरातलहरुको सपाट व्याख्या गरेका छन् । यसबाट श्रम केहो र पुँजीसँग यसको सम्बन्ध के र कस्तो रहन्छ भन्ने ज्ञान दिएर ठूलो भ्रम साफ गरेका छन् ।
छैठौं उपलब्धि भनेको मार्क्स आफै पहिलो अन्तर्राष्ट्रियको नेतृत्वकर्ता थिए । उनले पहिलो इन्टर नेश्नललाई साम्यवाद प्रचारको साधन बनाएका थिए । उनको विचारमा दोस्रो इन्टरनेश्नल संगठन निर्माणको र तेस्रो इन्टरनेश्नल संघर्षको नेतृत्वकर्ताको भूमिकामा हुनु पर्दथ्यो । उनी त्यतिबेला अराजकतावादी मिखाइल बाकुनिनका विरुद्ध वैचारिक लडाइँ लडेका थिए ।

सातौं खोज भनेको माक्र्स आफैमा आधुनिक समाज शास्त्रका जन्मदाता हुन् । समाज विज्ञान आफैमा एक जटिल कुरा हो । यो अन्य विज्ञान जस्तो विशुद्ध र आंशिक पनि हुँदैन । यसको व्याख्या समग्रमा हुनुपर्छ । बरु यो समाज विज्ञानले अन्य सबै विज्ञानहरुको अगुवाई, अभिभावकत्व र नेतृत्व गर्दछ ।