नेपाली जलयातायात र भारतीय स्वार्थ

प्रकाशित मिति : २०७५ फाल्गुन २८

- निवासचन्द्र श्रेष्ठ

जलयातायातको पृष्ठभूमि :
पानीजहाजहरु समुन्द्र र धेरै गहिरो पानी बग्ने फराकिलो नदी र नहरहरुमा पांचशय देखि हजार यात्रीहरु वा हजारौं टन सामानहरु लिएर एउटा महादेशको एक देशबाट अर्को देश वा अर्को महादेशसम्म यात्रा गर्ने ठूला जलयातायात साधन हुन् । साधारण अर्थमा एउटा पानीजहाजमा आपतकालिन उद्दारका लागि आवश्यकताअनुसार डुङ्गाहरु समेत राखेर यात्रा गरिन्छ भने प्राय डुङ्गाहरु आकार, भारबहन क्षमता प्रयोजनको आधारमा पानीजहाजभन्दा धेरै साना हुन्छन् ।

पानी जहाजको मुख्य योगदान लाखौंको संख्यामा मानव आप्रवासन र व्यापारको क्षेत्रमा रह्यो । अफ्रिका, एशिया र अमेरिकी महादेशहरुमा युरोपको बलिया देशहरुको औपनिवेशीकरण र खासगरी अफ्रिकाबाट युरोप र अमेरिकासम्म लाखौं काला जातिका मानवदासहरुको व्यापारमा पानी जहाजहरुले ठूलो टेवा पुर्याएको थियो ।

पन्द्रौं शताब्दीपछि एक महादेशबाट अर्को महादेशसम्म नयाँ खाद्यबालीहरु पानी जहाजहरुबाट पुर्याइएको कारणले खाद्य उत्पादनको बृद्धि भई विश्वको जनसंख्या वृद्धिमा सहजीकरण गरेको छ । आज विश्वको व्यापारको ठूलो अंश पानीजहाजहरुबाट भइरहेको छ । सन् २०१६ सम्म विश्वमा ४९००० व्यापारिक पानी जहाजहरु चलेका थिए । यीमध्ये २८ % तेल ट्याङ्कर, ४३ % मालबाहक, १३ % कन्टेनरबाहक र बाँकी यात्रुबाहक, शितभण्डार जडित पानीजहाजहरु, विभिन्न देशका जलसेनाका जहाजहरु र अन्य विशेष प्रयोजनका सामुद्रिक उद्दार र निरीक्षण जहाजहरु रहेका छन् ।

पानी जहाजको आविष्कार दश हजार वर्ष पहिले भएको थियो । आजभन्दा पाँचहजार वर्ष अघि इजिप्टमा ठूलो आकारको र शयौं टन भार बोक्ने र शयौं मानिसहरुले खियाउनु पर्ने पानी जहाजहरु बनाई पिरामिडहरुको निर्माणको लागि ठूला ठूला चट्टानहरु ढुवानी गर्न प्रयोग गरिन्थ्यो र युरोपसँग कपासको व्यापार हुने गर्दथ्यो । यस्तै नेपालको ठूला नदी तथा तालमा डुंगाबाट मानिसहरु वारपार गरी एक गाउँबाट अर्को गाउँ जाने र मानिसहरु, घरपालुवा जनावरहरु र आवश्यक उपभोग्य सामानहरु ढुवानी गर्ने गरेको पाइन्छ ।

पछिल्लो वर्षहरुमा ती नदीहरुमा पक्कीपुल बनेपछि डुंगामाथिको निर्भरता समाप्त भएसँगै डंँगा चलाएर जीविका गर्ने माझीहरुको पेशा पनि विस्थापित भयो । विगतमा नेपालमा डुङ्गाबाट लामो दुरीको यात्रा गर्न भौगोलिक अनुकूलता नभएकोले स्थलमार्ग नै आमरुपमा प्रचलित भएको पाइन्छ । दक्षिण एशियामा भुटान र नेपालबाहेक सबै देशहरुमा धेरै पहिलेदेखि आन्तरिक र अन्तर्देशीय व्यावसायिक जल पारवहनहुँदै आएको छ ।

नेपालको जलयातायातको संभाव्यता

पानीमा तैरिने वस्तुमा गति पैदा गर्न जमिनमा गुड्र्ने साधनभन्दा धेरै कम उर्जा खपत हुन्छ । उर्जा खपतको आधारमा स्थल यातायातको साधनमा रेलमार्गको माध्यम सडकमार्गभन्दा तीन गुणा सस्तो छ भने रेलमार्गभन्दा जलयातायात अभm आठगुणा सस्तो छ । जलयातायात स्थल यातायातभन्दा सस्तो मात्र नभएर वातावरणीय दृष्टिले पनि सुरक्षित छ । जल यातायात संसार भरि नै सबैभन्दा सस्तो विकल्प हो । जल यातायात नेपालजस्तो भूपरिवेष्ठित देशका लागि देशभित्र मात्र नभएर वैदेशिक व्यापारको लागि समुन्द्रको पहुँच भएकोे छिमेकी मुलुकहरु हुँदै क्षेत्रीय यातायातको लागि समेत महत्वपूर्ण छ । । प्राविधिक दृष्टिबाट नेपालमा ठूला र मझौला नदीहरुमा जलयातायातको पूर्वाधार विकास गरी समुन्द्री मार्गबाट पानी जहाज चलाउन सकिने संभावना छ ।

पानी जहाज सञ्चालन गर्नको लागि नदीमा न्युनतम पानीको गहिराई, पर्याप्त चौडाई र नदी माथिको उचाई पनि खुल्ला हुनु आवश्यक छ । डुंगाबाहेक सानो पानी जहाजको लागि न्युनतम ३ मीटर गहिराइसम्म पानीको बहाव भई २० मीटर फराकिलो र नदीमाथि १० मीटर अग्लो क्षेत्र खुला हुनु जरुरी छ । नेपालको पहाडको चट्टानहरु कमजोर र धेरै भिरालो भएकोले वर्षामा भूक्षयको कारण ठूलो परिमाणमा गेग्रान बगाएर समथर मागमा थिग्राउने गरेको छ । मनसुनी हावापानीको कारण नदीहरुमा पानीको बहाव सुख्खा मौसममा वर्षा मौसमको तुलनामा ८० प्रतिशतसम्म पानीको बहाव कम हुने, नदीको पींधमा बालुवा र गेग्रान थेग्रिएर नदीको पींघको सतह बढ्रने र पानीको गहिराई घट्नेहुँदा पानी जहाजको सञ्चालनमा अवरोध आउने प्राविधिक समश्याहरु देखिन्छन् ।

यसबाहेक अग्ला पहाडहरुको बीचमा गहिरो खोँचबाट बग्ने नदीहरु साँघुरो हुने, धेरै भिरालोपन र ध्ोरै घुम्तीहरुको हुने कारण समुन्द्रमा चल्ने ठूलो पानी जहाजहरु पहाडी क्षेत्रको ठूलो नदीमा पनि चलाउन सकिने अवस्था छैन । त्यसकारण नेपालको दक्षिण सीमाबाट करीब बीस किलोमीटरभित्र चुरेको फेद सम्ममात्र वर्षभरि सानो आकारका पानी जहाजहरुमात्र सञ्चालन गर्न सकिने अवस्था देखिन्छ । पहाडी क्षेत्रमा पानी जहाज चलाउन घुमाउरो र सांघुरो नदीहरुको किनारको चट्टान काटेर फराकिलो बनाउनु पर्ने हुन्छ । तर त्यसबाट नदीकोे किनारहरुमा बनेका राजमार्गहरु असुरक्षित हुने र पहाडको धरातलमा पहिरोको कारण महाभारत खण्डको नदीहरुमा व्यावसायिक जल यातायात धेरै जोखिमपूर्ण हुन्छ ।

भारतीय स्वार्थ

भारतले गंगा, ब्रम्हपुत्र र यमुना लगायत ११० वटा नदीहरु जोडेर पश्चिम बंगाल, विहार, उत्तर प्रदेश, झारखण्ड, मध्य प्रदेश, हरियाणा र उत्तराञ्चल प्रदेशलाई खानेपानी, सिञ्चाइ, बाढी नियन्त्रण र जल यातायातको पुर्वाधार तयार गरिरहेको छ । ग्ांगानदीमा नेपालबाट बग्ने नदीहरुको योगदान वर्षामा ४० प्रतिशत र सुख्खामा ७० प्रतिशत हुन्छ । नेपालमा बग्ने नदीहरुमा बर्षाको बाढी नियन्त्रण गर्न र सुख्खा मौसममा पर्याप्त पानीको बहाव कायम राख्नको लागि नेपालको सहयोग र सहभागिता चाहिन्छ । नेपालको कुनै पनि ठूला नदीको पानीको बहाव बर्षामा हजारौं क्युवेक हुन्छ भने सुख्खा मौसममा शय क्युवेक भन्दा कम हुने गर्छ । नदीमा पानीको गहिराई र चौडाई समेत मौसमअनुसार परिवर्तन हुनाले पानी जहाज चलाउने समय अवधि सिमित हुने देखिन्छ ।

अतः गंगामा वर्षभरि जलयातायात सञ्चालन गर्न सुख्खा मौसममा उपयुक्त बहाव कायम गर्न वर्षाको अधिक पानी सञ्चय गर्न नेपालमा बाँधहरु नबनाइ हुँदैन । यसबाट गंगा नदीमा जल यातायात सुनिश्चित हुने, बाढी नियन्त्रण हुने र सुख्खा मौसममा सिंचाइ सुविधा र खानेपानी आपूर्ति बढने् छ । त्यसले गर्दा ती सातवटा राज्यहरुको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्छ ।

तर त्यस्ता बाँधहरु बनाउँदा नेपालको लाखौं हेक्टर खेतीयोग्य जमिनसहित सैयौं गाउँहरु डुबानमा पर्ने र लाखौं मानिसहरुको बासस्थान र जीविका पुनस्र्थापन गर्नुपर्ने हुन्छ । त्यसकारण भारतको पानी जहाज चलाउन नेपालको सहयोग र सहभागिता अनिवार्य हुनेहुँदा नेपालको लागि उचित लाभको सुनिश्चित गरेर मात्र जलयातायातको दीर्घकालिन योजनामा सहकार्य गर्नुपर्ने हुन्छ ।

त्यसो नगरी कसैको सत्ता स्वार्थको लागि मात्र नेपालको केही पानीजहाज भारतहुँदै समुन्द्रसम्मको पारवहन सुविधा मात्र लिएर नेपालको भूमि डुबानमा पारेर बाँध बनाउन दिइयो भने ठूलो राष्ट्रघात हुनेछ । आजभन्दा तीन दशकअघि नै नेपाल भारत सरकारी वार्तामा नेपालदेखि भारतहुंदै पानी जहाज चलाउने प्रस्ताव गर्दा विहार र उत्तर प्रदेशको प्रतिनिधिहरुले समेत समर्थन गर्दा पनि दिल्लीले स्वीकार गरेको थिएन । तर हाल भारतले जल यातायातको पूर्वाधार तयार गरी नेपालको सहयोग आवश्यक पर्ने भएपछि नेपालको पानी जहाज सञ्चालन गर्न भारतले सहयोग गर्ने आशय देखाएको छ ।

ब्रिटिश शासकहरुले भारत छोड्नु अघि नै आफ्नो लगानीमा नेपालको भूमिमा जल विद्युत समेत उत्पादन गर्ने बाँधहरु बनाएर सहकार्य गर्दा नेपाललाई दिने फाइदाबाहेक पनि भारतलाई धेरै फाइदा हुने यस्तो परिकल्पना गरेका थिए । स्वतन्त्र भएको सत्तरी वर्षपछि बल्ल भारतीय शासकहरुकोे सोच फराकिलो भएकोे देखिएको हो । तीस वर्ष अघि स्थापना भएको दक्षिण एशियाली राष्ट्रहरुको संगठन सार्कको सबैभन्दा ठूलोे र शक्तिसम्पन्न मुलुक भइकन भारतले यस क्षेत्रको बाँकी साना ६ वटा मुलुकसँग मिलेर क्षेत्रीय आर्थिक समृद्धिको लागि सहकार्यको नेतृत्व गर्ने अवसर पनि गुमाई सबैलाई दादागिरीे व्यवहार गरेको कारण उक्त संगठन नै अहिले निस्क्रिय अवस्थामा पुगेको छ ।

आजको युगमा तल्लो तटीय मुलुकको मात्र फाइदा हुने गरी कुनै पनि योजना स्वीकार्य हुँदैन । पञ्चेश्वर योजनाको लागि महाकाली नदीमा बाँध बनाउँदा हुने डुबान क्षेत्र नेपालमा पर्ने क्षेत्रफलभन्दा भारतको उत्तराखण्ड प्रदेशमा तीन गुणा बढीे पर्ने भएकोले भारतकै उत्तर प्रदेशलाई पानी पुर्याउने उक्त योजनामा उत्तराखण्ड प्रदेश नै सहमत भएको छैन । त्यस्तै हरियाणा र उत्तर प्रदेशबीच पानी बाँडफाँडको विवाद कायम छ । यस्ता तथ्यहरुमा नेपाली पक्षले शिक्षा लिएर नेपालको समुचित हित सुनिश्चित गर्न अडान लिन सक्नुपर्छ ।

नेपालको नदीमा समुन्द्रदेखि नै पानी जहाज चलाउने पुर्वाधार बनाउन तल्लो तटीय लाभ व्यवस्थापनसहित दीर्घकालिन योजना बनाउन नै पञ्च वर्षिय अध्ययन आवश्यक देखिन्छ । नेपालको सीमानाभित्र समुन्द्रदेखि पानीजहाज आइपुग्न भारतले सीमाक्षेत्रमा बनाएका बांँधहरुले नै अवरोध पुर्याउने स्पष्ट छ । भारतले नेपालको हितको लागि नेपाली सीमानाभित्र पानीजहाज पुर्याउन सहयोग गर्न चाहेको हो भने महाभारत पहाडको सुरुमा नयाँ बाँधहरु बनाएर मात्र सीमानामा बनेका पुराना बाँंधहरु भत्काउनु पर्नेछ । त्यसको लागि नेपाली जनताले अनुमोदन गर्नु पर्नेछ ।

कोशी, गण्डकी र महाकाली सम्झौताहरुमा धोका पाएका नेपाली जनतालाई नेपालको पहाडको फेदीमा आएर भारतले बाँध बनाउन सहमत गराउन सक्ने सामथ्र्य अहिले दुईतिहाई बहुमतको सरकारको कार्यकालको छैन नै । अब चार वर्षपछि शतप्रतिशत समर्थनमत प्राप्त सरकार बने पनि हुँदैन । दुई वर्ष अघिमात्र वर्तमान संविधान जारी गर्दा नै एकतर्फी नाकाबन्दी गरीे आन्तरिक मामलामा हस्तक्षेप गरेर आहत पुर्याउने पक्षले देशभक्त नेपाली जनताको विश्वास प्राप्त गर्न सहज छैन । कतै भारतको षड्यन्त्रमा हालको प्रधानमन्त्रीले पानीजहाजको सपना देखाएर कथित समृद्धिको जाल बुनेको हो कि आशंका गर्नुपर्ने कुरा यहाँ छ ।

करीब २५ वर्षअघि राष्ट्रघाती महाकालीसन्धी गर्दा नेपालले प्रति वर्ष २० अर्ब फाइदा पाउने मिथ्या सपना यही नेतृत्वले बाँडेको थियो । सन्धिअनुसार केही वर्षभित्र सम्पन्न हुने भनिएको पञ्चेस्वर योजना आजसम्म सुरु नै भएको छैन । उक्त सन्धिको तात्कालिन संसदबाट पारित गर्ने खलनायकहरु नै अहिले पानी जहाजको योजनामार्फत् षड्यन्त्रकारी भूमिका खेल्न तयार भएका हुन सक्छन् ।